अध्यागमन नीतिको विरोधपछि सांसद् सालाजारमाथि ट्रम्पको कडा टिप्पणी, उम्मेदवार फेर्न माग
प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाकी रिपब्लिकन सांसद मारिया एल्विरा सालाजारको कडा आलोचना गर्दै उनलाई आगामी निर्वाचनअघि नै हटाउन माग गरेका छन्। सालाजारले ट्रम्पको अध्यागमन नीतिको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले आफ्नै पार्टीकी सांसद्विरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरू पुनः सेयर गरेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा सालाजारको आलोचना गरिएका दर्जनौ पोस्टहरू पुनः सेयर गरेका छन्। तीमध्ये एक पोस्टमा “हामीलाई सालाजारको ठाउँमा नयाँ रिपब्लिकन उम्मेदवार आवश्यक छ” भनिएको छ।
सालाजारले हालै ह्वाइट हाउस अगाडि छायाङ्कन गरिएको एक चुनावी विज्ञापन सार्वजनिक गरेका थिए। उक्त विज्ञापनमा ट्रम्प प्रशासनको अध्यागमन नियन्त्रण सम्बन्धी कदम धेरै अगाडि बढेको र सन् २०२४ को चुनावमा ट्रम्पलाई जिताउन सहयोग गर्ने हिस्पानिक मतदाताहरूले ठगिएको महसुस गरिरहेको चेतावनी दिइएको छ।
यसको जवाफमा ट्रम्पले सालाजार सीमा सुरक्षामा कमजोर रहेको र सन् २०२० मा आफ्नै समर्थनका कारण उनले चुनाव जितेको दाबी गर्नुभएको छ।
सालाजारले ‘डिग्निटी एक्ट’ नामक द्विपक्षीय अध्यागमन विधेयक प्रस्ताव गरेकी छन्, जसले आपराधिक पृष्ठभूमि नभएका र अमेरिकामा धेरै वर्षदेखि बसोबास गर्दै आएका आप्रवासीहरूलाई कानुनी हैसियत प्रदान गर्ने लक्ष्य राखेको छ। ट्रम्पका कट्टर समर्थकहरूले यसलाई “माफी नीति”को संज्ञा दिँदै विरोध गरिरहेका छन् भने सालाजारले यसलाई नागरिकता दिने नीति नभएकाले माफी भन्न नमिल्ने स्पष्ट पार्दै आएकी छन्।
अध्यागमन सम्बन्धी कडाइका कारण हिस्पानिक मतदाताहरूमा ट्रम्पको लोकप्रियता घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन्। आगामी नोभेम्बरमा हुने चुनावमा फ्लोरिडाको यो सिट डेमोक्र्याटहरूका लागि प्रमुख कब्जा गर्ने क्षेत्र बन्न सक्ने अनुमान गरिएको छ।





