नेपालमा अमेरिकी राहत, राष्ट्रसंघमा नेपालको सम्बोधन र टीपीएसबारे लुक ओर्टेगासँग अन्तर्वार्ता


प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता लुक ओर्टेगा खसोखासका प्रधान सम्पादक किशोर पन्थीसँग नेपालमा आएको विनाशकारी बाढीप्रति अमेरिकी प्रतिकार्य, मानवीय सहायता, सम्पर्कविहीन रहेका अमेरिकी नागरिक र नेपालको जलवायु न्यायको मागबारे कुराकानी गर्दै। तस्बिर : राजन काफ्ले/खसोखास।

नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि अमेरिकाले नेपाललाई ३६ मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराएको छ। तत्कालीन मानवीय सहायता र खाद्य सहयोगदेखि स्थायी पुल निर्माण, स्वास्थ्य तथा सरसफाइ सामग्री, विपद् पुनःस्थापनाका लागि ड्रोन र बेपत्ता व्यक्तिहरूको खोज तथा पहिचानमा सहयोग गर्ने फोरेन्सिक सहायता यस सहयोगमा समेटिएका छन्।

खसोखासका प्रधान सम्पादक किशोर पन्थीसँगको अन्तर्वार्तामा अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता लुक ओर्टेगाले नेपालमा अमेरिकाको विपद् रेस्पोन्स खोज तथा उद्धार टोली नपठाउने निर्णय, विपद् प्रभावित समुदायका लागि थप राहत, जलवायु न्याय तथा अझै सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकको अवस्थाबारे चर्चा गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता लुक ओर्टेगा नेपालमा आएको विनाशकारी बाढीप्रति अमेरिकी रेस्पोन्सबारे कुरा गर्दै। तस्बिर : राजन काफ्ले/खसोखास

किशोर पन्थी: नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकाले गरेको सहयोगबारे बताइदिनुहुन्छ?

लुक ओर्टेगा: अगस्ट २६ मा नेपालमा आएको विनाशकारी बाढीपछि अमेरिकाले तीव्र र प्रभावकारी रूपमा सहयोग गरेको छ। हामीले यो दुःखद् विपद्को सामना गर्न नेपालका अधिकारीहरूसँग सहकार्य गरेका छौँ।

अमेरिकाबाट भएको सहयोग कस्तो थियो भन्ने केही जानकारी दिन चाहन्छु। बाढीपछि हामीले नेपाललाई ३ करोड ६० लाख डलरभन्दा बढी सहयोग उपलब्ध गराउन सकेका छौँ। यसको अर्थ के हो भन्ने पनि स्पष्ट गर्न चाहन्छु।

सुरुमा हामीले बाढीबाट प्रभावित समुदायका लागि तत्काल करिब १० लाख डलर मानवीय सहायता उपलब्ध गराउन सकेका थियौँ। त्यसपछि मध्यम अवधिका आवश्यकतालाई पनि ध्यानमा राख्दै ३० लाख डलर खाद्य सहायता उपलब्ध गराएका छौँ। यसबाट १० हजारभन्दा बढी परिवारलाई तीन महिनासम्म खाद्यान्न उपलब्ध गराउन सहयोग पुग्नेछ।

यसै साता हामीले करिब १ करोड डलर थप सहयोगको घोषणा गरेका छौँ। यसबाट अमेरिकी कम्पनीहरूले नेपालमा क्षतिग्रस्त संरचनाको स्थानमा निर्माण गर्ने स्थायी तथा विशेष रूपमा तयार गरिएका पुल निर्माण गर्न सहयोग पुग्नेछ।

हामीले मानवीय सामग्री, सरसफाइ, आश्रय तथा तत्काल आवश्यक स्वास्थ्य सेवाका लागि थप ८० लाख डलर पनि बढाएका छौँ। त्यस्तै, नेपाललाई आगामी दिनमा सहयोग गर्न १ करोड ३० लाख डलर बराबरको ड्रोन सहयोग उपलब्ध गराउन सकेका छौँ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यससँगै अर्को महत्वपूर्ण पक्ष पनि उल्लेख गर्न चाहन्छु—फोरेन्सिक सहयोगका लागि उपलब्ध गराइएको १० लाख डलर। यसमा डीएनए परीक्षण किटजस्ता सामग्री समावेश छन्। अमेरिकाले यस विषयलाई निकै गम्भीरताका साथ लिएको छ।

यस बाढीपछि ७० जना अमेरिकी नागरिक अझै सम्पर्कविहीन छन्। यो फोरेन्सिक सहयोग तथा संघीय अनुसन्धान ब्युरो (एफबीआई) का विशेषज्ञहरूको सहभागिताले अमेरिका र नेपाल दुवै देशमा रहेका परिवारलाई आवश्यक जवाफ प्राप्त गर्न सहयोग गर्नेछ।

किशोर पन्थी: धेरै विद्यालयहरू ध्वस्त भएका छन् र स्वास्थ्य चौकीहरू पनि क्षतिग्रस्त भएका छन्। के अमेरिकाले नेपालमा थप राहत पठाउने योजना बनाएको छ? अहिलेको सहयोग पुलजस्ता पूर्वाधारमा केन्द्रित देखिन्छ। विद्यालय, स्वास्थ्य संस्था र अन्य पूर्वाधारका लागि थप राहत पठाउने योजना छ?

लुक ओर्टेगा: अहिले नै उपलब्ध गराइसकिएको मानवीय सहयोगको ठूलो हिस्सा बाढीबाट प्रभावित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यमा केन्द्रित छ भन्ने कुरा म जोड दिन चाहन्छु।

नेपालमा क्याथोलिक रिलिफ सर्भिसेजमार्फत गएको सहयोगमध्ये करिब १ लाख ८५ हजार डलर विशेष रूपमा बाढीबाट प्रभावित बालबालिका र परिवारलाई सहयोग गर्न तथा उनीहरूलाई तत्काल सुरक्षित रहन आवश्यक स्रोत उपलब्ध गराउन लक्षित थियो।

यो विपद्ले अमेरिकाभरिका मानिसहरूको मन छोएको छ। यो विनाशकारी बाढीपछि मैले अमेरिकाका विभिन्न स्थानका मानिसहरूसँग कुरा गर्ने अवसर पाएको छु। धेरै अमेरिकीहरूका लागि यो अत्यन्तै प्रभाव पार्ने घटना बनेको छ र उनीहरू सहयोग गर्न चाहन्छन्।

म जोड दिन चाहन्छु—अमेरिकाले उपलब्ध गराइरहेको सबै सहयोग नेपालका अधिकारीहरूसँगको परामर्श र संवादमा आधारित छ। नेपालका अधिकारीहरूले आवश्यकता भएका क्षेत्र पहिचान गर्न सक्छन् र त्यसपछि संयुक्त राज्य अमेरिकाले ती आवश्यकताहरू पूरा गर्न सक्रिय रूपमा काम गर्छ।

किशोर पन्थी: अमेरिकाले नेपालमा उद्धार टोली पठाउन सकेन। यदि अमेरिकाले उद्धार टोली पठाउन सकेको भए अझ धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो भन्ने तपाईंलाई लाग्छ? अमेरिकाले नेपालमा उद्धार टोली किन पठाएन?

लुक ओर्टेगा: म फेरि जोड दिन चाहन्छु—अमेरिकाबाट आएको सहयोग नेपालका अधिकारीहरूसँगको परामर्शमा आएको हो।

सुरुमा अमेरिकाले खोज तथा उद्धार टोली पठाउने प्रस्ताव गरेको थियो। तर त्यतिबेला नेपालका अधिकारीहरूले त्यस्तो टोली आवश्यक नरहेको निष्कर्ष निकालेका थिए। हामीले त्यसको सम्मान गर्‍यौँ र त्यस विनाशकारी बाढीपछिका तत्कालका दिनहरूमा अत्यन्त महत्वपूर्ण सहयोग उपलब्ध गराउन जारी राख्यौँ।

मैले केही ठूलो रकमका सहयोगबारे उल्लेख गरेँ, तर त्यसबाहेक धेरै व्यावहारिक सहयोग पनि भएका छन्। उदाहरणका लागि, अमेरिकाले सडक सफा गर्न र बाटोमा थुप्रिएको हिलो तथा भग्नावशेष हटाउन प्रयोग हुने अगाडिबाट माटो उठाउने मेसिन उपलब्ध गराउन सकेको थियो। त्यस्तै, बाढीबाट प्रभावित समुदायमा भरपर्दो विद्युत् उपलब्ध गराउन सौर्य ऊर्जा उत्पादन गर्ने जेनेरेटरहरू पनि उपलब्ध गराएका थियौँ।

काठमाडौंस्थित हाम्रो अमेरिकी दूतावासका सम्पूर्ण समुदाय तथा नेपाली समुदायभित्रका हाम्रा साझेदारहरू एकजुट भएर प्रभावित समुदायलाई सहयोग गर्न अघि आएको देख्नु पनि निकै राम्रो थियो। उनीहरूले स्थानीय रूपमा प्रभावित समुदायका लागि तीन ट्रक सहयोग सामग्री उपलब्ध गराउन सके।

किशोर पन्थी: नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले व्याख्या गरेजस्तै, अमेरिकाले नेपालमा हालै भएको विपद्लाई विश्वका लागि एउटा चेतावनीका रूपमा हेर्छ?

लुक ओर्टेगा: हाम्रो प्राथमिकता विपद्को तीव्र रूपमा रेस्पोन्स गर्नु, प्रभावकारी रूपमा त्यसको सामना गर्नु हो। नेपालमा आएको बाढीको अवस्थामा हामीले यही कुरा प्रदर्शन गर्न सकेका छौँ भन्ने मलाई लाग्छ।

अफ्रिकामा इबोला महामारीका बेला पनि हामीले यस्तै गरेका थियौँ। कोलम्बिया र भेनेजुएलामा आएका ठूला भूकम्पमा पनि यस्तै गरेका छौँ। यस्ता विनाशकारी घटनापछि केही घण्टाभित्रै संयुक्त राज्य अमेरिकाले प्रत्यक्ष सहयोग पठाउन सकेको छ।

यो हामीले विपद् रेस्पोन्स गर्ने आफ्नो क्षमतालाई आधुनिकीकरण, सरल र प्रभावकारी बनाउँदै लगेका कारण सम्भव भएको हो। यसका लागि हामीले यस प्रक्रियामा संलग्न सबै पक्षलाई एउटै संरचनाभित्र समेटेका छौँ।

सबैलाई एउटै छलफलको टेबलमा ल्याएर आवश्यकता पहिचान गर्ने र त्यसअनुसार तीव्र रूपमा रेस्पोन्स गर्ने व्यवस्था गरेका छौँ। यस्तो अवस्थामा नेपाललाई सहयोग गर्न पाएकोमा हामी गर्व गर्छौँ।

किशोर पन्थी: नेपाली प्रधानमन्त्रीको सम्बोधन जलवायु परिवर्तन र जलवायु न्यायमा केन्द्रित थियो। उहाँको सम्बोधनको करिब ७० प्रतिशत हिस्सा जलवायु न्याय र जलवायु परिवर्तनमा केन्द्रित थियो। नेपालले जलवायु न्यायको माग गरिरहेको छ। जलवायु न्याय प्राप्त गर्ने नेपालको प्रयासमा अमेरिकाले सहयोग गर्नेछ?

लुक ओर्टेगा: हामी नेपालका अधिकारीहरूसँग उच्चतम तहमा निरन्तर संवादमा छौँ। विदेशमन्त्री मार्को रुबियोले नेपालका नेताहरूसँग कुराकानी गर्नुभएको छ। नेपालस्थित हाम्रो दूतावासका कूटनीतिज्ञहरूले प्रधानमन्त्री तथा उहाँसँग सम्बन्धित अधिकारीहरूसँग कुराकानी गर्नुभएको छ।

हामी त्यहाँ निरन्तर सम्पर्कमा छौँ। हामी ठोस आवश्यकताहरू पहिचान गर्न र ती आवश्यकता पूरा गर्न नेपाललाई सहयोग उपलब्ध गराउन चाहन्छौँ।


“हामी ठोस आवश्यकताहरू पहिचान गर्न र ती आवश्यकता पूरा गर्न नेपाललाई सहयोग उपलब्ध गराउन चाहन्छौँ,” ओर्टेगाले खसोखासका प्रधान सम्पादक किशोर पन्थीसँगको अन्तर्वार्तामा नेपालमा आएको विनाशकारी बाढीप्रति अमेरिकी रेस्पोन्सबारे कुरा गर्दै भने। तस्बिर : राजन काफ्ले/खसोखास

किशोर पन्थी: सम्पर्कविहीन रहेका अमेरिकी नागरिकका परिवारका लागि तपाईंको कुनै सन्देश छ? करिब ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन छन्।

लुक ओर्टेगा: हो। म यी तथ्यांकहरू स्पष्ट गर्न चाहन्छु। हामीलाई ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन रहेको जानकारी छ। त्यस्तै, १८ जना अमेरिकी नागरिक सुरक्षित स्थानमा पुग्न सफल भएको जानकारी पनि हामीसँग छ।

यस बाढीका कारण अमेरिकी नागरिकको मृत्यु भएको कुरा भने हामीले अहिलेसम्म पुष्टि गर्न सकेका छैनौँ।

तर मैले उल्लेख गरेझैँ, यही कारणले विदेश मन्त्रालयले फोरेन्सिक सहयोग उपलब्ध गराउन काम गरिरहेको छ, ताकि ती परिवारले आवश्यक जवाफ प्राप्त गर्न सकून्। अहिले ती जवाफ कठिन हुन सक्छन् भन्ने हामी बुझ्छौँ, तर परिवारका लागि ती जवाफ प्राप्त गर्नु महत्वपूर्ण छ।

हामी प्रभावित अमेरिकी नागरिकहरूसँग सक्रिय रूपमा सम्पर्कमा रहने प्रयास गरिरहेका छौँ। म यस घटनाबाट प्रभावित र अमेरिकी विदेश मन्त्रालयसँग सम्पर्क गर्न आवश्यक पर्ने कुनै पनि अमेरिकी नागरिकलाई अमेरिकी सरकारको आधिकारिक वेवसाइट मार्फत हामीसँग सम्पर्क गर्न र यस दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित अमेरिकी नागरिकसँग काम गर्ने कार्यालयसँग सम्पर्क स्थापित गर्न आग्रह गर्न चाहन्छु।

किशोर पन्थी: नेपालमा आएको विपद्पछि अमेरिकामा रहेको नेपाली समुदायले टीपीएसको माग गरिरहेको छ। सन् २०१५ को भूकम्पपछि पनि अमेरिकाले नेपाललाई टीपीएस प्रदान गरेको थियो। अहिले फेरि टीपीएसको माग भइरहेको छ। यसबारे निर्णय होमल्यान्ड सेक्युरिटी विभागले गर्ने भए पनि अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनलाई पनि त्यसले विचार गर्ने मेरो बुझाइ छ। यस विषयमा तपाईंको कुनै टिप्पणी छ?

लुक ओर्टेगा: यस विशेष विषयमा घोषणा गर्न मसँग केही छैन। तपाईंले उल्लेख गरेजस्तै, यो मूलतः होमल्यान्ड सेक्युरिटी विभागले गर्ने निर्णय हो।

मैले उल्लेख गरेझैँ, अमेरिकाका विभिन्न स्थानमा रहेका मानिसहरूसँग कुरा गर्ने अवसर मैले पाएको छु, जसमा नेपालबाट आएका मानिसहरूको ठूलो जनसंख्या रहेका सहरहरू पनि छन्।

धेरै मानिसले भोगिरहेको पीडा हामी बुझ्छौँ। यही कारणले अमेरिकाले उपलब्ध गराउन सक्ने सहायता उपलब्ध गराउन तीव्र र प्रभावकारी रूपमा सहयोग परिचालन गरेको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com