१२ मंसिर २०८३, शनिबार| Saturday, November 28, 2026
अमेरिका

न्युयोर्क बस्ने नेपाली गणेश बिष्ट ६८ हजार डलर ठगी प्रकरणमा दोषी

अमेरिकी गुप्तचर निकाय सीआईए र स्थानीय प्रहरी अधिकारी बनेर ८२ वर्षीया महिलालाई पक्राउ गर्ने धम्की दिँदै रकम असुलिएको अभियोगमा बिष्टले दोष स्वीकार गरेका हुन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

न्युयोर्क — अमेरिकाको न्युयोर्कस्थित वुडसाइड, क्विन्समा बस्दै आएका २८ वर्षीय नेपाली नागरिक गणेश बिष्टले लुइजियानाकी ८२ वर्षीया महिलालाई ६८ हजार डलर ठगी गर्ने योजनामा संलग्न रहेको स्वीकार गरेका छन्। बिष्टले संघीय अदालतमा आफ्नो संलग्नताबारे दोष स्वीकार गरेका अमेरिकी न्याय मन्त्रालयले बुधबार जनाएको छ।

अदालतमा पेस गरिएका कागजातअनुसार बिष्ट र उनका सहयोगीहरूले आफूहरू अमेरिकी गुप्तचर निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) का अधिकारी तथा कानुनी कर्मचारी र मार्क्सभिल प्रहरी विभागका प्रतिनिधि भएको भन्दै महिलालाई फोन र टेक्स्ट म्यासेज गरेका थिए।

सन् २०२४ नोभेम्बर ५ देखि ७ सम्म सञ्चालन गरिएको उक्त ठगी योजनामा उनीहरूले ती महिलामाथि अनुसन्धान भइरहेको र उनलाई पक्राउ गर्न संघीय वारेन्ट जारी भएको झूटो जानकारी दिएका थिए। उनीहरूले निर्देशन पालना नगरे पक्राउ गरिने धम्कीसमेत दिएका थिए।

आफू सरकारी अनुसन्धानमा सहयोग गरिरहेको विश्वास दिलाउँदै ठगहरूले महिलालाई पक्राउ वारेन्टको समस्या समाधान गर्न भन्दै रकम निकाल्न लगाएका थिए।

यस योजनाअन्तर्गत बिष्ट दुई पटक लुजियानाको मार्क्सभिल पुगेका थिए। नोभेम्बर ५ मा उनले तोकिएको स्थानमा ती महिलाबाट ३० हजार डलर लिएका थिए। त्यसको दुई दिनपछि सहयोगीहरूको थप फोन र सन्देशपछि अर्को स्थानमा भेटेर महिलाले थप ३८ हजार डलर बिष्टलाई बुझाएकी थिइन्।

यसरी ती महिलाले कुल ६८ हजार डलर गुमाएकी थिइन्।

लुजियानाको पश्चिमी जिल्लाका अमेरिकी महान्यायाधिवक्ता जाचरी ए. केलरले ग्रामीण क्षेत्रकी एक वृद्ध महिलालाई कानुन कार्यान्वयन गर्ने अधिकारी बनेर ठगी गरेको घटनालाई गम्भीर अपराध बताएका छन्।

उनका अनुसार बिष्टले अमेरिका आएर सीआईए र प्रहरी अधिकारी बनेर महिलालाई पक्राउ गर्ने धम्की दिँदै हजारौँ डलर ठगी गरेका थिए।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

‘यस्तो ठगीमा संलग्न हुनेहरूलाई हामी खोज्नेछौँ र उनीहरूले कानुनी सजाय भोग्नुपर्नेछ,’ केलरले भने।

बिष्टलाई सन् २०२७ फेब्रुअरी १६ मा सजाय सुनाउने मिति तोकिएको छ। उनीमाथि संघीय जेलमा अधिकतम २० वर्षसम्म कैद, जरिवाना, पीडितलाई क्षतिपूर्ति र निगरानीमा राखिने सजाय हुन सक्नेछ। तर, वास्तविक सजाय अदालतले निर्धारण गर्नेछ।

यस घटनाको अनुसन्धान अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गरेको थियो। मुद्दाको अभियोजन सहायक अमेरिकी महान्यायाधिवक्ताहरू लाडोन्टे मर्फी र ई. एश्ले ह्यामन्सले गरेका थिए।

बिष्टको दोष स्वीकारसम्बन्धी घोषणा अमेरिकी न्याय मन्त्रालयले घरेलु तथा अन्तर्राष्ट्रिय ठगी सञ्जालविरुद्ध सञ्चालन गरेको देशव्यापी अभियानकै क्रममा सार्वजनिक गरेको हो।

न्याय मन्त्रालयका अनुसार मार्च ६ मा सुरु भएको ठगीविरुद्धको अभियानअन्तर्गत देशभरका ८५ भन्दा बढी संघीय न्यायिक जिल्लामा ४०० भन्दा बढी मुद्दामा कारबाही अघि बढाइएको छ। ती मुद्दामा ८०० भन्दा बढी प्रतिवादी संलग्न छन्। कारबाहीमा नयाँ अभियोग, विदेशबाट प्रतिवादी सुपुर्दगी, दोषी ठहर र सजाय सुनाउनेलगायतका प्रक्रिया समावेश छन्।

न्याय मन्त्रालयले ग्यालपको अनुसन्धान उद्धृत गर्दै अमेरिकाका १० प्रतिशत वयस्कले गत वर्ष आफू वा आफ्नो परिवारका सदस्यहरूमार्फत कुनै न कुनै प्रकारको ठगी अनुभव गरेको जनाएको छ। ठगीमा परेका करिब चारमध्ये तीन जनाको मानसिक स्वास्थ्य वा समग्र जीवनमा नकारात्मक असर परेको पनि अनुसन्धानले देखाएको छ।

सन् २०२५ मा मात्रै अमेरिकीहरूले विभिन्न प्रकारका ठगीका कारण अनुमानित ६८ अर्ब डलर गुमाएको ग्यालपको तथ्यांकमा उल्लेख छ। क्रिप्टोकरेन्सी लगानी ठगी, आर्थिक लाभका लागि गरिने यौनजन्य धम्की, सरकारी अधिकारी बनेर गरिने ठगी तथा अन्य आर्थिक अपराध यसमा समावेश छन्।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →