थ्याङ्क्सगिभिङ यात्रामा आँधी र उच्च छालको असर: करिब १० लाख घरमा बिजुली अवरुद्ध, हजारौँ उडान प्रभावित
न्युजर्सी र न्युयोर्कका केही क्षेत्रमा बाढी र प्रतिकूल मौसमका कारण आपत्काल घोषणा गरिएको छ। पूर्वी तटीय राज्यहरूमा करिब १० लाख घरपरिवार विद्युत विहीन हुँदा मर्मत र उद्धारमा चुनौती थपिएको छ।
Photo: Zooey Li/ Unsplash
अमेरिकाको मध्यपश्चिम र उत्तरपूर्वी क्षेत्रमा आएको भीषण आँधी, भारी वर्षा र पश्चिमी तटीय क्षेत्रमा उर्लिएको उच्च छालका कारण थ्याङ्क्सगिभिङ बिदामा निस्किएका लाखौँ नागरिकको यात्रा नराम्ररी प्रभावित भएको छ।
अमेरिकी अटोमोबाइल एसोसिएसनका अनुसार यस साता ८ करोड १५ लाखभन्दा बढी अमेरिकीहरू घरबाट कम्तीमा ८० किलोमिटर टाढाको यात्रामा निस्कने अनुमान गरिएको थियो। तर, प्रतिकूल मौसमका कारण बिहीबार मात्र अमेरिकाभर ४०० भन्दा बढी उडान रद्द भएका छन् भने आन्तरिक तथा बाह्य गरी २ हजार २ सयभन्दा बढी उडान ढिलाइ भएको उडान ट्र्याकिङ साइट ‘फ्लाइटअवेयर’ले जनाएको छ। संघीय उड्डयन प्रशासनले साताभरि नै वर्षा र तीव्र हावाहुरीका कारण उडानमा ढिलाइ हुन सक्ने चेतावनी यसअघि नै दिएको थियो।
बिहीबार पूर्वी अमेरिकामा प्रतिघण्टा ७० माइलसम्मको वेगमा चलेको हावाहुरी र मुसलधारे वर्षाका कारण तटीय क्षेत्रमा व्यापक बाढी आएको छ। न्युजर्सीकी गभर्नर मिकी शेरिलले जर्सी शोरका विभिन्न समुदायमा बाढी पसेपछि राज्यमा आपत्काल घोषणा गरेकी छन्। त्यस्तै, न्युयोर्ककी गभर्नर क्याथी होकुलले पनि न्युयोर्क सहर, लङ आइल्यान्ड र वेस्टचेस्टर काउन्टीका लागि आपत्काल घोषणा गरेकी छन्। न्युयोर्क सहरमा हरेक वर्ष आयोजना हुने प्रसिद्ध ‘मेसीज थ्याङ्क्सगिभिङ परेड’ समेत मौसमका कारण शनिबारका लागि सारिएको छ।
आँधीका कारण बिहीबार साँझसम्म अमेरिकाभर ९ लाख ८० हजारभन्दा बढी घरपरिवार विद्युत्विहीन भएका छन्। पेन्सिलभेनिया, भर्जिनिया, मेरिल्यान्ड र न्युजर्सी राज्य सबैभन्दा बढी प्रभावित भएका छन्। पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले विद्युत् सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली अहोरात्र खटिएको बताए। यद्यपि, भर्जिनिया र न्युजर्सीका ऊर्जा कम्पनीहरूले क्षतिग्रस्त क्षेत्रमा सुरक्षित रूपमा पुग्न समय लाग्ने भएकाले बिजुली सुचारु हुन केही दिन लाग्न सक्ने चेतावनी दिएका छन्।
मेरिल्यान्डमा तीव्र हावाका कारण पुलहरू बन्द गरिएका छन् भने डेलावेयरका समुद्री तटहरूमा छालले क्षति पुर्याएको छ। मेरिल्यान्डको खानेपानी निकायले अनियमित विद्युत् आपूर्तिका कारण करिब २० लाख उपभोक्तालाई अत्यावश्यक कामका लागि मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ। यता, वासिङ्टन डिसीमा हालसम्मकै सबैभन्दा बढी वर्षा भएको थ्याङ्क्सगिभिङ रेकर्ड गरिएको छ। राष्ट्रिय जल पूर्वानुमान सेवाका अनुसार ज्वारभाटाको पानी पसेपछि रेगन वासिङ्टन नेसनल एयरपोर्टको धावनमार्ग समेत जलमग्न भएको छ।
बिहीबार दिउँसो राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधीको सामना गरिरहेको पूर्वी तटीय क्षेत्रका लागि आपत्कालीन कोष निकासा गर्ने विषयमा विचार गरिरहेको बताएका छन्।
पूर्वी क्षेत्र आँधीले अस्तव्यस्त बनिरहँदा पश्चिमी तटीय क्षेत्रमा पनि मौसम बिग्रिएको छ। राष्ट्रिय मौसम सेवाले प्रशान्त महासागरबाट आउने शृङ्खलाबद्ध आँधीका कारण भारी वर्षा, पहाडी क्षेत्रमा हिमपात र तीव्र हावा चल्ने चेतावनी दिएको छ।
क्यालिफोर्नियाको विशाल समुद्री तटमा बिहीबार पानीको सतह ८ फिट भन्दा माथि पुग्ने अनुमान गरिएको छ, जसले गत महिना मात्र बनेको कीर्तिमान तोड्न सक्नेछ। साताको सुरुमै सान डिएगो र लस एन्जलसमा ८ फिटभन्दा अग्लो छाल आएपछि सर्वसाधारणलाई समुद्री तटमा नजान सुझाव दिइएको छ। उच्च छालका कारण पटरीमा पानी पसेर क्षति पुगेपछि क्यालिफोर्नियाको तटीय क्षेत्रमा चल्ने ‘एमट्र्याक प्यासिफिक सर्फलाइनर’ का कैयौँ रेल सेवा रद्द गरिएका छन्। यस्तै, क्यानडाको ब्रिटिस कोलम्बियासहित प्यासिफिक नर्थवेस्ट क्षेत्रमा पनि आँधीको पूर्वानुमान गरिएको छ।
यसैबिच, बुधबार राति मायामी विमानस्थलमा अवतरणका क्रममा ‘फेडेक्स’ को एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेपछि बिहीबार पनि उडानहरू प्रभावित भए। उक्त घटनापछि विमानस्थलको एक मात्र धावनमार्ग बाहेक अन्य सबै धावनमार्ग केही समयका लागि बन्द गरिएको थियो।
फेडेक्सले एक विज्ञप्ति जारी गर्दै अवतरणका क्रममा प्राविधिक समस्या आएको र चालक दलका सबै सदस्य सुरक्षित रहेको जनाएको छ। विमानस्थलका एक कर्मचारीले बताएअनुसार तीव्र वर्षा र हावाहुरीका कारण पाइलटले विमानलाई समयमै रोक्न नसक्दा दुर्घटना भएको हुन सक्छ। ११ साताअघि मात्र सोही विमानस्थलमा अवतरणका क्रममा अर्को एक कार्गो विमान दुर्घटना हुँदा चालक दलसहित भुइँमा रहेका सवारीसाधनमा सवार ५ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए।





