धरौटीको नियम अघि नै नेपालीका लागि अमेरिकी भिजिटर भिसा अस्वीकृति दर झन्डै ७०% पुगेको खुलासा
आर्थिक वर्ष २०२५ मा नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृति दर ६९.४७ प्रतिशत पुगेको अमेरिकी विदेश मन्त्रालयको तथ्यांक; कम्तीमा २० वर्षयताकै उच्च दर।
अमेरिकाले नेपाली नागरिकका लागि भिजिटर भिसामा धरौटीको व्यवस्था लागू गर्नुअघि नै भिसा अस्वीकृति दर झन्डै ७० प्रतिशत पुगेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी विदेश मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०२५ मा नेपाली नागरिकका लागि बी श्रेणीका (व्यापारिक तथा पर्यटकीय) भिसाको समायोजित अस्वीकृति दर ६९.४७ प्रतिशत पुगेको थियो। कम्तीमा २० वर्षदेखिको उपलब्ध तथ्यांकमा यो सबैभन्दा उच्च दर हो।
आर्थिक वर्ष २०२४ मा ४९.४७ प्रतिशत रहेको अस्वीकृति दर एक वर्षमै झन्डै २० प्रतिशत बिन्दुले बढेको हो। यो वृद्धि नेपाली नागरिकका लागि भिसा धरौटीको छुट्टै व्यवस्था लागू हुनुअघिको हो।
अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदन अनुसार नेपाली नागरिकको भिजिटर भिसा अस्वीकृति दरमा पछिल्लो समय उल्लेख्य वृद्धि भएको देखिन्छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ जनवरी २० मा पदभार सम्हाल्नुअघिका चार महिनामा नेपाली नागरिकलाई उल्लेख्य संख्यामा बी श्रेणीका भिसा जारी भएका थिए। सन् २०२४ अक्टोबरमा १ हजार ६७०, नोभेम्बरमा १ हजार ६३६ र डिसेम्बरमा १ हजार १९१ वटा भिसा जारी भएका थिए। सन् २०२५ जनवरीमा यो संख्या बढेर २ हजार १५६ पुगेको थियो।
ट्रम्पले पदभार सम्हालेपछि भने मासिक भिसा जारी हुने संख्या घट्न थाल्यो। सन् २०२५ फेब्रुअरीमा नेपाली नागरिकलाई १ हजार ८४० वटा बी श्रेणीका भिसा जारी गरिएको थियो। त्यसपछि मार्चमा १ हजार ५५० र अप्रिलमा १ हजार ३०७ मा झर्यो।
मे महिनामा भिसा जारी हुने संख्या थप घटेर ९०८ पुगेको थियो। जुनमा सामान्य वृद्धि भई ९१३ र जुलाईमा ९९४ पुगेको थियो। अगस्टमा बढेर १ हजार २३२ पुगे पनि सेप्टेम्बरमा १ हजार २२१ वटा भिसा मात्रै जारी भए।
सन् २०२५ को अन्तिम महिनाहरूमा पनि गिरावट जारी रह्यो। अक्टोबरमा १ हजार ६, नोभेम्बरमा ७७४ र डिसेम्बरमा ७६६ वटा बी श्रेणीका भिसा नेपाली नागरिकले पाएका थिए।
सन् २०२६ जनवरीमा यो संख्या बढेर ८०८ पुगे पनि फेब्रुअरीमा एक्कासि घटेर २७ मा सीमित भयो। नेपाली नागरिकका लागि भिसा धरौटीको व्यवस्था लागू भएपछि आएको यो पहिलो पूर्ण महिना थियो। जनवरीको तुलनामा फेब्रुअरीमा भिसा जारी हुने संख्या ९६.७ प्रतिशतले घटेको थियो। सन् २०२५ सेप्टेम्बरको तुलनामा यो गिरावट ९७.८ प्रतिशत थियो।
सन् २०२५ फेब्रुअरीदेखि २०२६ जनवरीसम्मको १२ महिनामा नेपाली नागरिकलाई कुल १३ हजार ३१९ वटा बी श्रेणीका भिसा जारी भएको तथ्यांकले देखाउँछ। यो संख्या आर्थिक वर्ष २०२४ मा जारी भएका २४ हजार ३०३ भिसाभन्दा ४५.२ प्रतिशत कम हो। आर्थिक वर्ष २०२३ मा जारी भएका २९ हजार ७२२ भिसाको तुलनामा भने ५५.२ प्रतिशत कम हो।
अमेरिकी विदेश मन्त्रालयको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष २०२४ मा नेपाली नागरिकलाई २४ हजार ३०३ वटा बी श्रेणीका भिसा जारी भएका थिए। आर्थिक वर्ष २०२३ मा यो संख्या २९ हजार ७२२ थियो। आर्थिक वर्ष २०२२ मा जारी भएका १८ हजार २४५ भिसाबाट आर्थिक वर्ष २०२३ मा वृद्धि भएको देखिन्छ।
कोभिड–१९ महामारीका बेला भने भिसा जारी हुने संख्या निकै घटेको थियो। आर्थिक वर्ष २०२१ मा ७ हजार १२८ र आर्थिक वर्ष २०२० मा ७ हजार ७५१ वटा बी श्रेणीका भिसा जारी भएका थिए।

भिसाका लागि आर्थिक धरौटी अनिवार्य
धरौटीको व्यवस्था बी–१/बी–२ अर्थात् व्यापारिक तथा पर्यटकीय भिसाका लागि अन्य सबै सर्त पूरा गरी योग्य ठहरिएका नेपाली राहदानीवाहकमा लागू हुन्छ। आवेदकले जुनसुकै देशबाट भिसाका लागि आवेदन दिए पनि यो व्यवस्था लागू हुन्छ।
यो व्यवस्थाले भिसाका लागि योग्य ठहरिएका आवेदकमाथि थप आर्थिक सर्त लगाउँछ। तर भिसा अस्वीकृत भएको अवस्थामा धरौटी राखेर अस्वीकृति उल्ट्याउन सकिने व्यवस्था भने होइन। धरौटी बुझाउँदैमा भिसा जारी हुने ग्यारेन्टी नहुने अमेरिकी विदेश मन्त्रालयले स्पष्ट पारेको छ।
प्रारम्भिक पाइलट कार्यक्रमअन्तर्गत धरौटी रकम ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर तोकिएको थियो। भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले आवेदकका लागि धरौटी रकम निर्धारण गर्ने व्यवस्था थियो। अन्तिम नियममा भने १० हजार, १५ हजार वा २० हजार डलरको धरौटी रकम उल्लेख गरिएको छ।
कन्सुलर अधिकारीबाट निर्देशन प्राप्त भएपछि मात्रै आवेदकले धरौटी बुझाउनुपर्छ। त्यसका लागि अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागको आवश्यक इमिग्रेसन बन्ड फाराम बुझाउनुपर्नेछ। धरौटी रकम अमेरिकी ट्रेजरी विभागको प्रणालीमार्फत भुक्तानी गर्नुपर्छ। अनधिकृत वेबसाइटमार्फत रकम नबुझाउन विदेश मन्त्रालयले आवेदकलाई सचेत गराएको छ।
यात्रुले धरौटीसम्बन्धी सर्त पालना गरेमा रकम फिर्ता हुन्छ। यसमा अमेरिकामा बस्न पाउने अनुमति र तोकिएको समयमा अमेरिका छाड्नुपर्ने सर्तसमेत पर्छन्। सर्त उल्लंघन भएको आशंका गरिएका घटनालाई धरौटी उल्लंघन भए–नभएको निर्णय गर्न अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) मा पठाइन्छ।
धरौटीको व्यवस्था लागू भएका यात्रुले व्यावसायिक विमानस्थलबाट मात्रै अमेरिका प्रवेश गर्न र बाहिरिन पाउँछन्। अमेरिकाका स्वीकृत पूर्वभन्सार जाँच केन्द्र (प्रिक्लियरेन्स लोकेसन) समेत यसमा पर्छन्। स्थलमार्ग र समुद्री मार्गबाट प्रवेश वा प्रस्थान गर्न भने अनुमति छैन।
सन् २०२२ यता अस्वीकृति दर निरन्तर बढ्दो
नेपाली नागरिकको अमेरिकी भिजिटर भिसा अस्वीकृति दर आर्थिक वर्ष २०२१ मा १८.७२ प्रतिशत र आर्थिक वर्ष २०२२ मा १९.८५ प्रतिशतमा झरेको थियो। त्यसपछि भने निरन्तर बढ्दै आर्थिक वर्ष २०२३ मा ३१.०३ प्रतिशत र आर्थिक वर्ष २०२४ मा ४९.४७ प्रतिशत पुगेको थियो।
आर्थिक वर्ष २०२५ अघिसम्म उपलब्ध तथ्यांकमा नेपालको सबैभन्दा उच्च अस्वीकृति दर ५९.९ प्रतिशत थियो। आर्थिक वर्ष २०११ मा उक्त दर रेकर्ड गरिएको थियो। अमेरिकी विदेश मन्त्रालयको उपलब्ध तथ्यांक आर्थिक वर्ष २००६ देखि सुरु हुन्छ।

यी तथ्यांक छोटो अवधिको व्यापारिक वा पर्यटकीय भ्रमणका लागि जारी गरिने बी श्रेणीका भिसासँग मात्र सम्बन्धित छन्। विद्यार्थी, रोजगारीमा आधारित वा आप्रवासी भिसाको अस्वीकृति दर यसमा समावेश छैन।
समायोजित अस्वीकृति दरले सुरुमा अस्वीकृत भए पनि पछि थप जानकारी वा प्रमाण पेस गरेर भिसाका लागि योग्य ठहरिएका आवेदकलाई समेत हिसाबमा समेट्छ। विदेश मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा एक जना आवेदकलाई एकपटक मात्रै गणना गर्छ। त्यसका लागि आर्थिक वर्षको अन्त्यमा आवेदनको अन्तिम अवस्था हेरिन्छ।
कुनै आवेदकको भिसा सुरुमा अस्वीकृत भए पनि सोही आर्थिक वर्षभित्र पछि स्वीकृत भएमा त्यसलाई जारी भएको भिसाका रूपमा गणना गरिन्छ। एकै आर्थिक वर्षमा एकभन्दा बढी पटक अस्वीकृत भएका आवेदकलाई भने एकपटक मात्रै अस्वीकृत भएको मानिन्छ।





