९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
श्रोत केन्द्र

न्युयोर्कका ४ हजारभन्दा बढी गैरनाफामूलक संस्थाले १ करोड ८ लाख डलरभन्दा बढी रकम फिर्ता पाउन सक्ने

राज्यका महान्यायाधिवक्ता र कम्प्ट्रोलरको संयुक्त पहलमा पहिचान गरिएका संस्थाले २० डलरदेखि ७ लाख ९२ हजार डलरसम्मको दाबी गर्न सक्ने

यो समाचार सुन्नुहोस्0:00 / --:--

न्युयोर्क — न्युयोर्क राज्यका ४ हजारभन्दा बढी परोपकारी संस्था तथा गैरनाफामूलक संस्थाले कुल १ करोड ८ लाख डलरभन्दा बढी हराएको वा दाबी नगरिएको रकम फिर्ता पाउन सक्ने भएका छन्। राज्यकी महान्यायाधिवक्ता लेटिसिया जेम्स र कम्प्ट्रोलर थोमस डिनापोलीले यस्तो जानकारी दिएका हुन्।

दुवै कार्यालयको संयुक्त पहलमा पहिचान गरिएका ती संस्थाले २० डलरदेखि ७ लाख ९२ हजार डलरसम्म रकम पाउन सक्नेछन्। सम्भावित रकम पाउने संस्थामा स्वास्थ्य सेवा, आवास, मानव सेवा, शिक्षा तथा कला क्षेत्रमा काम गर्ने गैरनाफामूलक संस्थाहरू छन्।

सम्बन्धित संस्थालाई सम्भावित दाबीबारे जानकारी दिन र रकम फिर्ता लिन आवश्यक प्रक्रिया बुझाउन दुवै कार्यालयले पत्र पठाउन थालेका छन्।

जेम्सले विज्ञप्तिमा भनेकी छन्, “परोपकारी संस्था र गैरनाफामूलक संगठनहरूले न्युयोर्कवासीको सेवामा हरेक दिन काम गरिरहेका छन्। उनीहरूलाई प्राप्त हुनुपर्ने प्रत्येक डलर उनीहरूको उद्देश्य पूरा गर्न नै फर्किनुपर्छ।”

बैंक, बिमा कम्पनी, विद्युत् तथा अन्य सेवा प्रदायक र व्यवसायले रकमको वास्तविक हकदार फेला पार्न नसकेपछि त्यस्तो रकम राज्यको कम्प्ट्रोलर कार्यालयअन्तर्गतको ‘अफिस अफ अनक्लेम्ड फन्ड्स’ मा बुझाउँछन्। यसरी बुझाइएको तर सम्बन्धित व्यक्तिवा संस्थाले दाबी नगरेको रकमलाई अनक्लेम्ड फन्ड्स भनिन्छ।

नाम वा ठेगाना परिवर्तन, संस्थाहरूबीचको गाभिने प्रक्रिया, स्वामित्व हस्तान्तरण वा नेतृत्व परिवर्तनका कारण गैरनाफामूलक संस्थाले आफ्नो नाममा रहेको रकमबारे जानकारी गुमाउन सक्ने अधिकारीहरूले बताएका छन्। कतिपय संस्था आफूलाई जानकारी नै नभएका बैंक खाता वा अन्य वित्तीय सम्पत्तिको लाभग्राहीका रूपमा समेत सूचीकृत भएका हुन सक्छन्।

सम्भावित रकमका हकदार संस्था पहिचान गर्न र उनीहरूलाई दाबी प्रक्रिया पूरा गर्न सहयोग पुर्‍याउन महान्यायाधिवक्ताको कार्यालयअन्तर्गतको च्यारिटिज ब्युरोले कम्प्ट्रोलर कार्यालयको अनक्लेम्ड फन्ड्स शाखासँग सहकार्य गरेको हो।

डिनापोलीले विज्ञप्तिमा भनेका छन्, “यो सहकार्यबाट हामीले यस्ता रकम पहिचान गरेका छौँ, जसले परोपकारी तथा गैरनाफामूलक संस्थालाई आफ्नो उद्देश्य पूरा गर्न र उनीहरूले सेवा गर्ने समुदायलाई थप बलियो बनाउन सहयोग गर्नेछ।”

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

यस पहलबाट लाभान्वित हुन सक्ने संस्थामध्ये न्युयोर्क एलजीबीटी नेटवर्क पनि एक हो। संस्थाका अध्यक्ष तथा संस्थापक डा. डेभिड किल्मनिकले फिर्ता प्राप्त हुने रकम लङ आइल्यान्ड र न्युयोर्क सिटीमा सञ्चालन भइरहेको संस्थाको ‘सेफ स्कुल्स’ कार्यक्रमका लागि प्रयोग गरिने बताएका छन्।

किल्मनिकले भने, “यो रकम लङ आइल्यान्ड र न्युयोर्क सिटीभरि हाम्रो सेफ स्कुल्स कार्यक्रमलाई सहयोग गर्न प्रयोग हुनेछ। यसले एलजीबीटीक्यू प्लस युवासहित हरेक युवाले सिक्न, हुर्कन र आफू यस समुदायको हिस्सा भएको महसुस गर्न सक्ने सकारात्मक वातावरण बनाउन मद्दत गर्नेछ।”

न्युयोर्क एकेडेमी अफ साइन्सेसकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृत क्लेयर पिटर्सले संस्थाको नाममा रहेको दाबी नगरिएको रकम फिर्ता पाउनु आर्थिक चुनौतीका बीच महत्वपूर्ण सहयोग हुने बताएकी छन्।

उनका अनुसार उक्त रकमले वैज्ञानिक अनुसन्धान, शिक्षा र नीतिगत क्षेत्रमा एकेडेमीले गर्दै आएको कामलाई अघि बढाउन सहयोग गर्नेछ।

न्युयोर्कका परोपकारी तथा गैरनाफामूलक संस्थाले आफ्नो नाममा दाबी नगरिएको रकम छ कि छैन भनेर कम्प्ट्रोलर कार्यालयको वेबसाइट osc.ny.gov/unclaimed-funds मा गएर खोज्न र सम्भावित दाबीबारे जानकारी लिन सक्छन्।

कम्प्ट्रोलर कार्यालयका अनुसार अनक्लेम्ड फन्ड्स शाखाले दैनिक २० लाख डलरभन्दा बढी रकम त्यसका वास्तविक हकदारलाई फिर्ता गर्छ। डिनापोली पदमा आएयता आफ्नो कार्यालयले न्युयोर्कवासीलाई ७ अर्ब डलरभन्दा बढी रकम फिर्ता गरिसकेको जनाएको छ।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →