९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
नेपाल

भोटेकोशी बाढीका नाममा अर्बौं संकलन र अन्तर्राष्ट्रिय बैठक, राज्य खोज्दै सर्वस्व गुमाएका पीडित (स्थलगत)

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम र गोफन्डमी लगायतका प्लेटफर्ममा अर्बौं रुपैयाँ संकलन भएको छ। अन्तर्राष्ट्रिय हानिनोक्सानी कोषबाट २० मिलियन डलर सहयोग उपलब्ध हुने भएको छ भने विभिन्न देशले पनि राहत घोषणा गरेका छन्। प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले अन्तर्राष्ट्रिय सम्मेलन र बैठकमा बाढी तथा त्यसबाट भएको क्षतिबारे छलफल गरेका छन्। तर, तीन महिना पुग्न लाग्दासमेत विस्थापित परिवारले स्थायी आवास, रोजगारी र पुनर्वासको स्पष्ट योजना पाएका छैनन्। उनीहरूलाई सरकारबाट जवाफ चाहिएको छ—कहाँ बस्ने, कसरी घर बनाउने र गुमेको रोजगारी कसरी पुनः सुरु गर्ने?

बाढीमा घर र खेतबारी गुमाएकी गीतामाया डंगोल पुनःस्थापना र जीविकोपार्जनको चिन्तामा छिन्। विस्थापित परिवारलाई अहिले सबैभन्दा पहिले स्थायी आवासको व्यवस्था चाहिएको उनी बताउँछिन्। (तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास)

रसुवा — बाढीले पुरेको घरको भग्नावशेष खोतल्दै गरेकी गीतामाया डंगोललाई अहिले आफ्नो परिवारका लागि सुरक्षित छानो चाहिएको छ। झण्डै तीन महिनाअघि आएको बाढीले उनको घर र खेत पुर्‍यो। परिवारका सदस्य बाँचे पनि उनले पाँच जना आफन्त गुमाइन्। पहिले विद्यालयको क्यान्टिन चलाएर परिवार पाल्दै आएकी उनी अहिले छोराछोरीको पढाइ र भविष्य कसरी सुनिश्चित गर्ने भन्ने चिन्तामा छिन्।

“अहिले चाहिने भनेको बस्ने घर हो। यो व्यवस्था सरकारले गरिदिए हुन्थ्यो जस्तो लाग्छ,” उनले भनिन्।

विभिन्न संघसंस्थाले चामल, लत्ताकपडा र अन्य राहत सामग्री उपलब्ध गराएका छन्। तर स्थायी आवास र रोजगारीको व्यवस्था नहुँदा राहतले मात्रै जीवन धान्न नसकिने उनको भनाइ छ।

“पछिका लागि गुजारा गर्न दुःख गरेर खान हुन्थ्यो, छोरा–छोरी पढाउन पाए हुन्थ्यो। अब बच्चा पढाउन समस्या हुने भयो,” उनले भनिन्।

बाढी गएको तीन महिना पुग्नलाग्दा पनि प्रभावित परिवारहरू आफन्तको घरमा वा भाडामा बसिरहेका छन्। सरकारले विस्थापित परिवारको घरभाडा तिरिदिने घोषणा गरेको भए पनि अहिलेसम्म आफूहरूले त्यस्तो सहयोग नपाएको पीडितहरूले बताएका छन्। विभिन्न संघसंस्था र संस्थागत सहयोगबाट खाद्यान्न, लत्ताकपडा तथा केही नगद राहत प्राप्त भए पनि उनीहरूको मुख्य माग दिगो पुनःस्थापना, सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था हो।

२०२६ अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि बगरमा परिणत भएको बेत्रावती बजार। कुनै समय पाँच सयभन्दा बढी पसल र २९९ घरधुरी रहेको यो ऐतिहासिक बजार अहिले ढुंगा, बालुवा र भग्नावशेषले ढाकिएको छ। फोटो : दिपेन्द्र ढुंगाना/खसोखास

भोटेकोशी–त्रिशूली क्षेत्रका सयौँ विस्थापित परिवारको अवस्था यस्तै छ। उनीहरूले प्रधानमन्त्री र मन्त्रीहरू ठूला अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएको र विभिन्न देशले नेपाललाई सहयोग घोषणा गरेको समाचार सुनेका छन्। तर त्यसबाट आफूहरूलाई के लाभ हुन्छ भन्ने उनीहरूलाई थाहा छैन।

उनीहरूलाई सरकारबाट जवाफ चाहिएको छ—कहाँ बस्ने, कसरी घर बनाउने र गुमेको रोजगारी कसरी पुनः सुरु गर्ने?

झन्डै तीन महिनाअघि, अगस्ट २६ मा, भीषण बाढीले भोटेकोशी–त्रिशूली जलाधार क्षेत्रमा ठूलो विनाश मच्चाएको थियो। १,४०० भन्दा बढी मानिसको मृत्यु भयो भने हजारौँ बेपत्ता भए। पुनर्निर्माणको लागत करिब ७ खर्ब ६२ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तर बाढी गएको तीन महिना पुग्नलाग्दा पनि विस्थापित परिवारको स्थायी पुनर्वासको टुंगो लागेको छैन। कतिपय आफन्तको घरमा आश्रित छन्, कतिपय भाडामा बसिरहेका छन् भने अरू अस्थायी शिविरमा छन्।

परिवारका सदस्य गुमाएकाहरूको अर्को संघर्ष

६५ वर्षीया मिठु डंगोलले बाढीमा आफ्नो ४१ वर्षीय छोरा गुमाइन्। परिवारमा कमाएर ल्याउने एक मात्र सदस्य छोरा थिए। अहिले उनी आफैँ, बुहारी, नातिनातिना र विशेष हेरचाह आवश्यक पर्ने छोरीको जिम्मेवारी बोकेर बसेकी छन्।

बाढीले मिठुको घर मात्र होइन, परिवारको आर्थिक आधारसमेत खोसेको छ। कमाएर ल्याउने एक्लो छोरा गुमाएपछि अहिले परिवारका बाँकी सदस्यको जिम्मेवारी उनकै काँधमा छ।

उनका अनुसार प्रभावित परिवारको वास्तविक अवस्था हेरेर सहायता वितरण गर्नुपर्ने भए पनि स्थानीय तहबाट त्यसअनुसार अनुगमन र सहयोग हुन सकेको छैन।

“बाँच्न त बाँच्यौँ, तर बाँच्नै नसकिने भयो,” बाढीले घर र खेत पुरिएपछि भाडाको घरमा बस्दै आएकी मिठु डंगोलले भनिन्।बाढीले घर र खेत पुरिएपछि अहिले भाडाको घरमा बस्दै आएकी ६५ वर्षीया मिठु डंगोल। तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास

“पीडितको अवस्था हेरेर, त्यसैअनुसार सहयोग दिनुपर्ने हो। वडा प्रतिनिधिले को कति पीडित हो, कुन अवस्थामा बसिरहेका छन् र अहिले उनीहरूको अवस्था कस्तो छ भनेर हेर्नुपर्ने हो। तर यहाँ त्यो हेर्ने मान्छे नै छैन, केही छैन। यहाँका नेताहरू खै कहाँ गए?” उनले भनिन्।

सरकारले तीन–चार लाख रुपैयाँ दिने कुरा आफूले सुने पनि त्यसले घर बनाउन र परिवार पाल्न नपुग्ने उनको गुनासो छ।

“तीन–चार लाख दिएर के गर्ने? यत्रो क्षति भएको मान्छेलाई त्यो पैसाले के हुन्छ र? जस्ताको एउटा टहरो बनाउन पनि पुग्ने होइन। खानुपर्‍यो, बाँच्नुपर्‍यो नि। यसरी कसरी गर्न सकिएला?” उनले प्रश्न गरिन्।

उनको घरका दुई तला बाढीले पुरिएका छन्। केही भाग सफा गरेर फेरि बस्न सकिन्छ कि भन्ने आशामा उनी भग्नावशेष खोतलिरहेकी छन्। माथिल्लो भागमा केही पाखोबारी भए पनि खेती गर्न सिँचाइको सुविधा छैन।

उनका अनुसार माथि केही पाखोबारी भए पनि खेतीयोग्य खेत छैन। पाखोमा जङ्गल बढेको छ र सिँचाइको व्यवस्था पनि छैन। सरकारले कम्तीमा अस्थायी छाप्रो बनाइदिए वा पुरिएको घर सफा गर्न सहयोग गरे त्यहीँ बस्न सकिने सम्भावना रहेको उनी बताउँछिन्।

“केही छ कि भनेर खोज्दै छौँ। अहिले केही चाहियो भने यहाँबाट बजार पुग्नुपर्छ, बीचमा अर्को ठाउँ छैन,” उनले भनिन्।

बाढी आएको दिन आफू घरमै रहेको सम्झँदै मिठुले त्यति ठूलो भेल बस्तीमा आइपुग्ला भन्ने कल्पनासमेत नगरेको बताइन्। पुल रहेको ठाउँमा बाढी आएको खबर सुनेपछि आफूहरू खोलाको बहाव हेर्न गएको उनको भनाइ छ।

“खोला यहाँसम्म आउँछ भन्ने कुरा कसलाई थाहा भयो र? त्यति तलको खोला यति पछाडि आएर हान्यो, सबै लग्यो। खै अब के गर्ने होला!” उनले सुनाइन्।

स्थानीय बासिन्दाले घरभाडा सरकारले तिरिदिने घोषणा गरेको सुनेका छन्। तर उनीहरूका अनुसार अहिलेसम्म त्यस्तो सहायता प्राप्त भएको छैन।

एउटै परिवारका १८ जनाको मृत्यु, जीविकोपार्जन पनि समाप्त

६५ वर्षीय त्रिरत्न डंगोलले बाढीमा आफ्नो परिवारका १८ सदस्य गुमाए। चार दाजुभाइका परिवारमध्ये साइला दाइका चार, कान्छा भाइका एक, माइला दाइका सात र जेठा दाइका छ सदस्यको मृत्यु भयो।

बाढी आएको दिन बिहान उनी गाईवस्तुलाई घाँसपानी खुवाएर घर फर्किएका थिए। लामखुट्टे भगाउन काठको धुलो बाल्ने तयारीमा रहेका बेला काठमाडौंमा रहेकी छोरीको फोन आयो। “बा, बाढी आउँदैछ, अलि माथि भाग्नुहोस्, म ममीलाई फोन गर्छु,” छोरीले भनेकी थिइन्।

उनी घरभन्दा केही माथि पुगेका थिए। गोजीबाट मोबाइल निकाल्न लाग्दै गर्दा आँखैअगाडि खोलाले घर बगाइसकेको थियो। परिवारका सदस्यहरू घरको अगाडि र पछाडि दुवैतिरबाट खोला बगिरहेको अवस्थामा दौडेर माथि उक्लिएका थिए। हेर्दाहेर्दै घर ढलेर भत्किएको उनले सम्झिए।

“हामीले धनमाल केही पनि निकाल्न पाएनौँ। पालेका भैँसी र बाँधिएका वस्तुहरू पनि बगाएर लग्यो। अर्काको खेतमा लगाएको धान र व्यापार गर्न किनेर राखेको ३० बोरा धान पनि बगाइदियो,” उनले भने।

डंगोलका अनुसार बाढीले उनको करिब दुई रोपनी जग्गा र चार–चार तलाका दुईवटा घर बगाएको थियो। एउटा घर भएको जग्गा सात आना र अर्को घर भएको जग्गा आठ आना थियो।

उनले दुईवटा चारतले घर, करिब दुई रोपनी जग्गा, पशुचौपाया र व्यापारका लागि राखेको ३० बोरा धान गुमाए।

बाढीमा घर, जग्गा र परिवारका सदस्य गुमाएका त्रिरत्न डंगोल पुनर्वास र जीविकोपार्जनको टुंगो नलाग्दा चिन्तित छन्। तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास

अहिले उनी अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। केही नगद सहायता र राहत सामग्री पाए पनि आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले स्थायी बसोबासको चिन्ता छ।

अहिले उनीहरू माथिल्लो क्षेत्रमा रहेको टेन्ट र होल्डिङ सेन्टरमा बसिरहेका छन्। त्यहाँ सात–आठ परिवार मात्रै रहेको उनले बताए। रेडक्रस तथा अन्य संस्थाबाट १५ हजार रुपैयाँ, अर्को संस्थाबाट पाँच हजार रुपैयाँ बैंक खातामा आएको र हालै ५० हजार रुपैयाँको भौचरसमेत पाएको उनको भनाइ छ। तर आफ्नै नाममा सुरक्षित जग्गा नभएकाले भविष्यमा कहाँ बस्ने भन्ने अझै टुंगो लागेको छैन।

“सरकारले ठाउँ व्यवस्थापन गरिदिन्छ भनेर आशा गरेर बसेका छौँ। कति पीडित भएर बसिरहने? अरूको घरमा वा संस्थाको भरमा आश्रित भएर बस्दा लाजमर्दो भइसक्यो,” उनले भने।

बाढीअघि डंगोलको ‘मुस्कान होटल’ थियो। उनी आफैँ होटलमा खाना पकाउँथे। एक दिनमा एक बोरा चामल र एउटा खसीसम्म खपत हुने गरेको उनले बताए। लामो समयको मेहनत र दुःखले बनाएका दुई घर आफ्नै आँखाअगाडि बगेर गएको पीडासँगै अब जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता पनि थपिएको छ।

उनका अनुसार राहतले तत्कालको आवश्यकता पूरा गरे पनि दीर्घकालीन रूपमा जीवन चलाउन रोजगारी आवश्यक छ।

“सधैँ संस्थाको भर परेर हुँदैन। आफूले पनि रोजगारी खोज्नुपर्‍यो, जुन काम जानिएको छ, त्यही गर्नुपर्‍यो,” उनले भने।

“केही बस्ने व्यवस्था गरिदिए जीवन निर्वाह त गर्नैपर्छ। सधैँ संस्थाको भर परेर हुँदैन। आफूले जानेको काम खोज्नुपर्‍यो,” उनले भने। अहिले होल्डिङ सेन्टरबाट आफैँ कतै बस्ने व्यवस्था मिलाउने प्रयास गरिरहेको उनले बताए। “तलमाथि गर्न धेरै गाह्रो भयो। भएको साधन पनि बाढीले बगायो। सधैँ यसरी कसरी चल्नु?”

उनको मुख्य माग बाढीपीडित परिवारका लागि सुरक्षित ठाउँमा स्थायी बसोबासको व्यवस्था गर्नु हो।

पुनर्वासले संस्कृति र समुदाय छुट्याउने चिन्ता

बेत्रावतीका सोमलाल लोप्चनले पनि बाढीमा आफ्नो परिवारका पाँच सदस्य गुमाएका छन्। उनका दुई बुहारी, दाजु र अन्य दुई आफन्तको बाढीमा मृत्यु भएको थियो। विद्यालयका बालबालिका बचाउन गएका उनका दाजुसमेत बाढीमा परेका थिए।

उत्तरगया–५, बेत्रावतीका लोप्चनका अनुसार उनका दुई बुहारी, दाजु, सानिमा र ठूलीमा बाढीमा परेका थिए। स्कुलका बालबालिका बचाउन जाँदा उनका दाजुको ज्यान गएको थियो। बाढीमा कोही भेलको जोखिम थाहा नपाएर परे भने कोही आफूसँग भएको थोरै सम्पत्ति जोगाउने प्रयास गर्दा बगेको उनको भनाइ छ।

उनका अनुसार ४९ किलोमिटर टाढाबाट आएको बाढी करिब २५ मिनेटमै बेत्रावती पुगेको थियो। त्यहाँ नेवार समुदायका मात्रै ९७ जनाको मृत्यु भएको उनको भनाइ छ।

“बाढी त आउँछ भन्ने थाहा थियो, तर यत्रो सबै सखाप पार्ने गरी आउँछ भन्ने अलिकति पनि लागेको थिएन,” उनले भने। उनका अनुसार करिब ४९ किलोमिटर टाढाको खोला २५ मिनेटमै बेत्रावती आइपुगेको थियो। बेत्रावतीमा नेवार समुदायका मात्रै ९७ जनाको ज्यान गएको उनले बताए।

खेतीयोग्य जमिन बाढीले नष्ट गरेपछि अब समुदायले कसरी जीविकोपार्जन गर्ने भन्ने प्रश्न छ। तर उनको चिन्ता घर र जग्गामा मात्र सीमित छैन।

लोप्चनका अनुसार बेपत्ता परिवारका केही सदस्यलाई विभिन्न संस्थाले सहयोग गरिरहेका छन्। कसैले १० हजार त कसैले १५ हजार रुपैयाँ दिएको र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले प्रभावित परिवारलाई दिने भनिएको ९० हजार रुपैयाँमध्ये ४५ हजार रुपैयाँ पहिलो किस्ताका रूपमा आएको उनले बताए। तर यति सहयोगले दीर्घकालीन समस्या समाधान नहुने उनको भनाइ छ।

“के हामी यसैमा चित्त बुझाएर बस्ने हो? यत्रो ७०–८० दिनको अन्तरालमा राज्यले कहाँ र कसरी राख्ने भनेर भन्न नसक्दा हामी अन्योलमा छौँ। हामी यतै बस्ने हो कि? जङ्गलको बीचमा जग्गा छ, त्यहीँ गएर बस्ने हो कि?” उनले प्रश्न गरे।

बेत्रावतीको नेवार समुदायका जात्रा, चाडपर्व, धार्मिक स्थल र परम्परागत संस्कार स्थानीय बस्तीमै जोडिएका छन्। पृथ्वीनारायण शाहको पालादेखिका मन्दिर र धार्मिक स्थलसमेत रहेको क्षेत्रमा पुनर्वास गर्दा समुदायलाई छरपस्ट पार्न नहुने उनको माग छ।

बाढीमा परिवारका सदस्य गुमाएका र विस्थापित भएका सोमलाल लोप्चन। तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास

“मेरो परिवार त्यहीँ गएर बसे, अरू अन्यत्र गएर बसे भने बेत्रावतीको नेवार समुदायको संस्कृति कहाँ पुग्ला?” उनले प्रश्न गरे।

लोप्चनका अनुसार बेत्रावतीमा आफ्नै संस्कार, संस्कृति, जात्रा र चाडपर्व छन्। त्यहाँको धाम, पितृलाई दान दिन आउने धार्मिक परम्परा र पृथ्वीनारायण शाहको पालादेखिको मन्दिरसमेत स्थानीय पहिचानका हिस्सा हुन्। त्यसैले बस्ती स्थानान्तरण गर्दा धार्मिक तथा पर्यटकीय महत्त्वका सम्पदाको संरक्षणलाई पनि ध्यान दिनुपर्ने उनको माग छ।

“हाम्रो जात्रा–चाडपर्व छ, यहाँको धाम छ, यहाँ पितृलाई दान दिन आउँछन्। यो सबै राज्यले जोगाउनुपर्ने होला। मानव बस्ती जता सरे पनि धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट यी ठाउँ जोगाउनुपर्छ। तर आजसम्म बाँचेकाहरूलाई कहाँ राख्ने भन्ने नै टुंगो लगाउन सकेको अवस्था छैन। हामी कति समय आफन्तकोमा बस्ने हो?” उनले प्रश्न गरे।

स्थानीय बासिन्दा आफ्नो क्षेत्रबाट धेरै टाढा जान नचाहेको पनि उनले बताए। सरकारले सुरक्षित आवासको व्यवस्था नगर्ने हो भने आफूहरू पुरिएका घर सफा गरेर भए पनि पुरानै ठाउँमा फर्कन बाध्य हुने उनको भनाइ छ। तर वर्षायाममा त्यो ठाउँ सुरक्षित नरहेको उनी स्वीकार्छन्।

“राज्यले छिटो केही नगर्ने हो भने, हामी पहिले पनि खोलामै थियौँ, यो पालि बाँचे पनि अर्को पालि मरौँला, के गर्नु त?” उनले भने।

राहत वितरणमा अन्योल र गुनासो

६५ वर्षीया प्रेमकुमारी श्रेष्ठ बाढी आउँदा फार्ममा काम गरिरहेकी थिइन्। बाढीको खबर पाएपछि उनी सुरक्षित स्थानतर्फ भागिन्। वस्तुभाउ जोगाउन नसकेको र घरपरिवारको भविष्य अन्योलमा परेको उनले बताइन्।

श्रेष्ठका अनुसार उनी बाढी आएको दिन गोल्बिढा फार्ममा काम गरिरहेकी थिइन्। सप्र्युबेसीबाट काठमाडौं पुगेपछि र त्यहाँबाट फोन आएपछि मात्रै उनले बाढीबारे थाहा पाएकी थिइन्। उनको परिवारका सदस्य बाढीमा नपरे पनि घरपालुवा जनावर जोगाउन नसकेको उनले बताइन्।

“दाम्लो काटेर भैँसीलाई भगाउन खोजेँ, तर यस्तो बेलामा हँसियासमेत भेटिँदो रहेनछ। बाख्रा सडकसम्म ल्याएकी थिएँ, जोगाउन सकिनँ,” उनले भनिन्। सडकसम्म बाढी नआउला भन्ने ठाने पनि आफूले देख्दादेख्दै सँगै रहेका दुई जना बगेको उनले सुनाइन्।

बाढीपछि करिब १०० जना स्थानीय माथिल्लो क्षेत्रमा उक्लेर बसेको उनको भनाइ छ। उनीहरू खोलाको छेउमा फेरि बस्न चाहँदैनन्, तर आफ्नो ठाउँबाट धेरै टाढा पनि जान सक्ने अवस्था छैन।

“हामीलाई खोलाकै छेउमा बस्ने रहर छैन। कहाँ सर्ने? यही माथिको पाखाभन्दा टाढा जान पनि सकिँदैन। सरकारले बनाएर दिए बस्न तयार छौँ। पैसा दिएर आफैँ बनाउनुपर्छ भने पनि तयार छौँ,” उनले भनिन्।

सरकारले दुई कोठाको घर बनाइदिने कुरा सुने पनि ठूलो परिवारका लागि त्यति सानो घर पर्याप्त नहुने उनको भनाइ छ। “हाम्रो जस्तो ठूलो परिवारलाई त्यत्रो सानो घरले कसरी पुग्छ?” उनले प्रश्न गरिन्। बाढीले झन्डै आठ रोपनी जग्गा बगाएकाले अब परिवारलाई खान पुग्ने खेतीयोग्य जमिनसमेत नरहेको उनले बताइन्। खोलामा मजबुत तटबन्ध निर्माण गरिए पुरानै क्षेत्रमा केही गरेर खान सकिने उनको आशा छ।

सरकारलाई विभिन्न स्रोतबाट सहयोग रकम आएको चर्चा भइरहेका बेला त्यसको प्रत्यक्ष लाभ पीडितले पाउनुपर्ने उनको माग छ।

“सरकारलाई धेरैतिरबाट पैसा आएको छ। यही देखाएर सरकारले हामीलाई नबेचोस्। हामीलाई चाँडो निकास देओस्, बस्ने टुंगो लगाओस्। सधैँ अरूको घरमा बसेर कसरी चल्छ र?” उनले प्रश्न गरिन्।

उनका अनुसार काठमाडौं गएर फर्किंदा राहत वितरण भइसकेको थियो। समयमा जानकारी नपाउँदा कतिपय प्रभावित परिवार सहायता पाउनबाट छुटेको उनको गुनासो छ।

राहत वितरणमा समेत वास्तविक पीडित छुटेको उनको गुनासो छ। घरजग्गामा क्षति नभएका व्यक्तिहरूले राहत लिएको र वास्तविक पीडितलाई भने कहिले छैन, कहिले अर्को कारण देखाएर फर्काउने गरेको उनले आरोप लगाइन्। बाढीपछि आफू काठमाडौं गएकाले ढिलो फर्किएको र त्यसबीच स्थानीयस्तरमा राहत वितरण हुँदा आफूले जानकारीसमेत नपाएको उनको भनाइ छ।

“राहत आएको थाहा नै दिँदैनन्। सधैँ आफैँ बुझ्न जानुपर्छ। आफैँ राख्ने कि बेच्ने भन्नेसम्म गर्दा रहेछन्,” उनले भनिन्। प्रेमकुमारी अहिले छोरीको घरमा बसिरहेकी छन्।

स्थानीय बासिन्दाले राहत वितरणमा वास्तविक क्षति भएका परिवारको पहिचान कमजोर रहेको आरोप पनि लगाएका छन्। बाढीअघि एउटै घर रहेको स्थानमा अहिले तीन–चार घरका नाममा लाभग्राही थपिएको उनीहरूको दाबी छ।

बाढीपीडित प्रेमकुमारी श्रेष्ठ। (तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास)

यसले वास्तविक पीडितले पाउनुपर्ने सहायता अन्यत्र जाने जोखिम रहेको उनीहरूको चिन्ता छ। उनीहरूले घरधुरीको संख्या र वास्तविक क्षतिको प्रमाणीकरण गरेर निष्पक्ष रूपमा सहायता वितरण गर्न माग गरेका छन्।

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले प्रभावित परिवारलाई ९० हजार रुपैयाँ नगद सहायता उपलब्ध गराउने कार्यक्रमअन्तर्गत पहिलो किस्तामा ४५ हजार रुपैयाँ वितरण गरिसकेको स्थानीयको भनाइ छ। अन्य संघसंस्थाले पनि १० हजारदेखि १५ हजार रुपैयाँसम्म सहयोग गरेका छन्। तर पीडितहरूका अनुसार यस्ता अस्थायी नगद सहायता दीर्घकालीन पुनःस्थापनाको विकल्प होइनन्।

सुरक्षित ठाउँसँगै जीविकोपार्जनको आधार पनि चाहिन्छ

देवीघाटका ७४ वर्षीय योगबहादुर भण्डारीले आफ्नो जीवनकालमा यसअघि यस्तो ठूलो भेल नदेखेको बताए। बाढी आएको दिन घरमै रहेका उनले बाढी आउँदैछ भन्ने हल्ला सुनेपछि ढोका बन्द गरेर निस्कने तयारी गरेका थिए। बिरामी श्रीमतीलाई सम्हाल्दै माथिल्लो बस्तीतर्फ जाँदा भेल उनीहरूबाट चार–पाँच हातको दूरीमा मात्रै रहेको उनले सम्झिए।

भण्डारीका अनुसार २०१२ साल भदौ १२ गते आएको बाढीले झोलुङ्गे पुल बगाएको थियो। तर यसपटकजस्तो विशाल बाढी आउला भन्ने कसैले सोचेको थिएन। “खोलाको किनारमा बाढी आउँछ भन्ने कुरा पाँच वर्षको बच्चालाई पनि थाहा हुन्छ,” उनले भने। “तर कसरी जोगिने, कहाँ सुरक्षित रहने भन्ने ज्ञान कसैले दिएन।”

बाढीको पूर्वसूचना पाए पनि त्यसबाट कसरी जोगिने भन्ने जानकारी नहुँदा ठूलो क्षति भएको उनको भनाइ छ। “यदि यति ठूलो बाढी आउँछ भन्ने थाहा भएको भए घरमा भएका सुनचाँदी र मूल्यवान् कागजात निकालेर बाहिर निस्कन पाइन्थ्यो,” उनले भने। छोरा काठमाडौंमा रहेका बेला फोन गरेर तुरुन्तै निस्कन भनेपछि बाहिर हेर्दा सञ्चारका तारसमेत छिनिसकेका थिए। निस्कँदै गर्दा नीलकण्ठ आश्रमको भवनमा बाढी ठोक्किएर चारैतिर पानीले घेरेको उनले बताए।

भण्डारीका अनुसार राहतका रूपमा विभिन्न संस्थाबाट रासन र लत्ताकपडा पर्याप्त आएको छ। तर राज्यको तर्फबाट दिगो आवासको व्यवस्था हुन सकेको छैन। “मुख्य कुरा भनेको बस्ने बास हो, त्यो पनि दिगो रूपमा बस्नका लागि। यसका लागि भने राज्य अझै आउन सकेको छैन। धेरै समय भइसक्यो,” उनले भने।

सरकारले सुरक्षित स्थानमा दुई वा चार आना जग्गा दिएर दुईदेखि चार कोठासम्मका घर बनाइदिने चर्चा सुने पनि त्यसले सबै परिवारको आवश्यकता पूरा नगर्ने उनको भनाइ छ। घरपरिवारका सदस्य, खाद्यान्न र दैनिक प्रयोगका सामान राख्न पर्याप्त ठाउँ चाहिने उनले बताए। आफ्नो जग्गामा घर बनाइदिने हो वा निर्माणका लागि रकम उपलब्ध गराउने हो भन्नेबारे पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ।

भण्डारीका अनुसार देवीघाटका धेरै परिवार व्यापार–व्यवसाय गरेर जीविकोपार्जन गर्ने भएकाले उनीहरूलाई टाढा लगेर घर बनाइदिँदैमा समस्या समाधान हुँदैन। “हामीलाई घर बनाउने पैसा दियो भने आफैँ बनाउन हुन्थ्यो। यही वरिपरि भए केही व्यवसाय गर्न हुन्थ्यो। टाढा जान सकिँदैन,” उनले भने।

खोलाको आसपास १५० मिटरभित्र बस्न नदिने सरकारी योजना रहेको आफूले सुनेको बताउँदै उनले आफ्नै जग्गा नभएका गरिब र सुकुम्बासी परिवारका लागि सरकारले वैकल्पिक घडेरी र घरको व्यवस्था गर्नुपर्ने बताए।

“मान्छेहरूलाई खोलाको किनारमा बस्न नदिई अन्यत्र सुरक्षित ठाउँमा सार्नुपर्छ र खोलामा मजबुत तटबन्ध बाँध्नुपर्छ,” उनले भने। उनका अनुसार जाली र सिमेन्टको पक्की पर्खालसहित ५०–६० मिटर चौडाइ र चार–पाँच मिटर उचाइको तटबन्ध बनाइए भविष्यमा आउने बाढीबाट बस्ती जोगाउन मद्दत पुग्न सक्छ।

बाढीपीडित योगबहादुर भण्डारी। (तस्बिर: दीपेन्द्र ढुंगाना/खसोखास)

राहत कोषमा अर्बौं, पुनर्वासको निर्णय पर्खाइमा

सरकारले विपद्पछिको राहत र पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट रकम जुटाएको छ।

प्रधानमन्त्री राहत कोषमा बाढीअघि करिब दुई अर्ब रुपैयाँ थियो। बाढीपछि करिब साढे १९ अर्ब रुपैयाँ जम्मा भएको विवरण उपलब्ध गराइएको छ। हालसम्म करिब एक अर्ब रुपैयाँ खर्च भएको र बाँकी रकम मन्त्रिपरिषद्को निर्णयपछि प्रभावित क्षेत्रमा खर्च गरिने सरकारी पक्षको भनाइ छ। रकमको कुल मौज्दात र खर्चसम्बन्धी विवरण भने आधिकारिक लेखापरीक्षणबाट स्पष्ट हुन बाँकी छ।

हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत करिब एक अर्ब रुपैयाँ निकासा भएको बताइएको छ। सरकारी विवरणअनुसार उक्त रकम हेलिकोप्टर परिचालन, राहत सामग्री र नगद वितरणमा खर्च भएको छ।

यसका अतिरिक्त संयुक्त राष्ट्रसंघीय हानिनोक्सानी कोषले भोटेकोशी–त्रिशूली क्षेत्रका प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई २० मिलियन अमेरिकी डलर अर्थात् करिब तीन अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। विभिन्न देशले पनि सहयोग घोषणा गरेका छन्।

तर यी रकममध्ये कति स्थायी आवास, कति रोजगारी र कति पूर्वाधार पुनर्निर्माणमा खर्च हुन्छ भन्ने स्पष्ट कार्ययोजना प्रभावित समुदायसम्म पुगेको छैन।

त्यस्तै, गोफन्डमी लगायतका प्लेटफर्ममार्फत पनि अर्बौं रुपैयाँ संकलन भएको थियो। बाढीको पहिलो सातामै गोफन्डमीमा बाढीपीडितका लागि खोलिएका फन्डरेजरहरूमा झन्डै १० मिलियन डलर संकलन भएको गोफन्डमीले जनाएको थियो। त्यसबाहेक अन्य प्लेटफर्ममा पनि रकम संकलन गरिएको थियो। ती रकम कसरी खर्च गरिए वा गरिँदै छन् भन्ने स्पष्ट विवरण सार्वजनिक भएको छैन।

स्थानीय बासिन्दाले बाढीपीडितका नाममा विभिन्न स्रोतबाट संकलित रकमको पारदर्शी हिसाब सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार राहत तथा पुनर्निर्माणका नाममा उठाइएको रकम वास्तविक प्रभावित परिवारसम्म पुग्नुपर्छ। संकलित रकम कसरी खर्च भइरहेको छ भन्ने जानकारीसमेत पीडितले पाउन सकेका छैनन्।

सरकारले सुरक्षित जग्गा र घर निर्माण अनुदान दिने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रभावित परिवारको पहिचान, दर्ता र प्रमाणीकरणको काम अघि बढाइएको छ।

स्थानीय तहले प्रभावित परिवारको विवरण रजिस्टर व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा प्रविष्ट गर्नुपर्ने व्यवस्था गरिएको छ। रसुवामा अधिकांश विवरण प्रविष्ट गर्ने काम सकिएको र नुवाकोटमा पनि प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार यस विवरणका आधारमा प्रभावित परिवारलाई अस्थायी आवास, ट्रान्जिट सेल्टर वा मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने योजना छ। सरकारी पक्षले हालसम्म १२६ भन्दा बढी अस्थायी सेल्टर र सहरी विकास मन्त्रालयको नेतृत्वमा ५० वटा क्याम्प निर्माण भएको जनाएको छ।

स्थायी आवासका लागि नापी विभागका महानिर्देशकको संयोजकत्वमा गठित टोलीले रसुवा, नुवाकोट र धादिङमा सुरक्षित जग्गा पहिचान गरेको छ। वन तथा सरकारी जग्गा प्रयोगका लागि अध्यादेश ल्याइएको पनि प्राधिकरणले जनाएको छ।

सुरक्षित जग्गा नभएका प्रभावित परिवारलाई जग्गा खरिदका लागि तीन लाख रुपैयाँसम्म र घर निर्माणका लागि न्यूनतम पाँच लाख रुपैयाँ अनुदान उपलब्ध गराउने योजना रहेको सरकारी पक्षको भनाइ छ।

बेपत्ता व्यक्तिको १० दिनसम्म खोजी गर्दा पनि फेला नपरे मृत्यु घोषणा गर्ने प्रक्रिया अध्यादेशमार्फत सहज बनाइएको छ। मृत्यु दर्ता प्रमाणपत्र प्राप्त भएपछि परिवारलाई बीमा दाबी, सम्पत्ति हस्तान्तरण र बैंकिङ कारोबार गर्न सहज हुने सरकारी पक्षले जनाएको छ। मृतकका परिवारलाई राहत रकम जिल्लामा उपलब्ध कोषबाट वडा कार्यालयको सिफारिसका आधारमा वितरण गर्न सकिने पनि बताइएको छ।

तर स्थानीय बासिन्दाको प्रश्न छ—सरकारी योजना कहिले कार्यान्वयन हुन्छ र त्यसको लाभ कसले पाउँछ?

पीडितहरूका अनुसार पुनर्वासको योजना बनाउँदा परिवारको आकार, पुरानो घरजग्गाको अवस्था, जीविकोपार्जनको स्रोत र स्थानीय आवश्यकता पनि विचार गर्नुपर्छ। सबै परिवारलाई एउटै मापदण्डका आधारमा घर वा अनुदान दिँदा ठूलो परिवार, खेतीयोग्य जमिन गुमाएका र व्यवसायमा निर्भर परिवारको समस्या समाधान नहुने उनीहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय सम्मेलनको चर्चा, बस्तीमा अन्योल

नोभेम्बर ९ देखि २२ सम्म टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप ३१) मा नेपालले हिमाली क्षेत्रका जलवायु जोखिमलाई अन्तर्राष्ट्रिय एजेन्डामा स्थापित गर्ने प्रयास गरेको थियो।

नेपालले भुटान र किर्गिस्तानसँग मिलेर हिमाली मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि बढाउन खोजेको थियो। तर त्यसले सम्मेलनको औपचारिक एजेन्डामा छुट्टै स्थान पाउन सकेन। सम्मेलनको अध्यक्षताले थप परामर्श गर्ने र सन् २०२७–२८ मा अनुसन्धान संवाद सञ्चालन गर्ने सहमति जनाएको थियो। त्यसअघि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघमा गरेको भाषण पनि निकै चर्चित भएको थियो।

महासचिव गुटेरेससँग भेटपछि प्रधानमन्त्री बालेन्द्र शाह। साथमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा ।

तर भोटेकोशीका विस्थापित परिवारका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भएका छलफल टाढाका विषय हुन्। उनीहरूलाई जलवायु वित्तको प्रक्रिया वा अन्तर्राष्ट्रिय सम्झौताभन्दा आफ्नो घर कहिले बन्ने र परिवारले कहिले फेरि कमाउन थाल्ने भन्ने चिन्ता छ।

नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा हिस्सा ०.१ प्रतिशतभन्दा कम छ। जलवायु परिवर्तनमा नगण्य योगदान गरेको देशका समुदायले भने यसको गम्भीर प्रभाव भोगिरहेका छन्।

जलवायु अभियन्ता टासी ल्हान्जोमका अनुसार जलवायु परिवर्तनसम्बन्धी अधिकांश अध्ययन र सामग्री अंग्रेजी भाषामा उपलब्ध छन्। ‘हरितगृह ग्यास’ र ‘ग्लोबल वार्मिङ’ जस्ता प्राविधिक शब्द स्थानीय भाषामा बुझाउन कठिन छ। त्यसैले जोखिममा रहेका समुदायले आफूले भोगिरहेको विपद्को कारण र त्यसबाट जोगिने उपायबारे पर्याप्त जानकारी पाउन सकेका छैनन्।

जल तथा मौसम विज्ञान विभागले देशभर करिब ३०० नदी मापन केन्द्र र ५०० वर्षा मापन केन्द्र सञ्चालन गरिरहेको भए पनि हिमाली क्षेत्रमा हिमनदी, पर्माफ्रोस्ट र चट्टान खस्ने जोखिमको निगरानी अझै कमजोर छ।

पीडितहरू राहत सामग्रीको अभावभन्दा पनि भविष्यको अनिश्चितताबाट बढी चिन्तित छन्। उनीहरूलाई सरकारले कहिले घर बनाइदिन्छ, कहाँ पुनर्वास गराउँछ र पुरानो ठाउँमा फर्कन मिल्छ कि मिल्दैन भन्ने स्पष्ट जवाफ चाहिएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्याय र हानिनोक्सानीको क्षतिपूर्तिका लागि आवाज उठाइरहेको छ। तर भोटेकोशीका बाढीपीडितका लागि न्यायको अर्थ अहिले सुरक्षित घर, जीविकोपार्जन र भविष्यको सुनिश्चितता हो।

कोषमा रकम जम्मा हुनु, अन्तर्राष्ट्रिय सहयोग घोषणा हुनु र पुनर्वासका योजना सार्वजनिक हुनु एउटा पक्ष हो। ती स्रोतबाट पीडितले कहिले वास्तविक लाभ पाउँछन् भन्ने अर्को प्रश्न हो।

तीन महिनादेखि अस्थायी आश्रयमा बसिरहेका परिवार अझै सरकारको ठोस निर्णय पर्खिरहेका छन्। उनीहरूलाई अब अर्को सम्मेलनमा प्रधानमन्त्री र मन्त्रीहरुको सहभागिताको घोषणा होइन, आफ्नै जीवन फेरि सुरु गर्न सकिने आधार चाहिएको छ।

लेखक दिपेन्द्र ढुंगाना

दिपेन्द्र ढुंगाना मल्टिमिडिया पत्रकार हुन्। नेपालका राष्ट्रिय मिडियामा १० वर्षभन्दा बढी काम गरेका ढुंगानाले विशेषगरी नेपाली अध्यागमन, पर्यटन, सामाजिक मुद्दा, ग्रामीण जनजीवन र राजनीतिक आन्दोलनबारे रिपोर्टिङ गर्दै आएका छन्। सन् २०२५ मा काठमाडौँमा प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा गोली लागेर उनी गम्भीर घाइते भएका थिए।

यस लेखकका थप समाचार →