ट्रम्प प्रशासनको कानुनी रणनीति : संवेदनशील मुद्दामा निकट सहयोगी वकिलको परिचालन
ट्रम्पका विरोधीविरुद्धका संवेदनशील मुद्दामा जस्टिस डिपार्टमेन्टले आफ्नै विश्वासपात्र वकिल खटाउन थालेको छ। तर, अनुभवी वकिलको कमी र कमजोर तयारीले अधिकांश ठूला मुद्दा असफल भइरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको उत्तरार्धतर्फ पाइला चालिरहँदा अमेरिकी जस्टिस डिपार्टमेन्टले उच्चपदस्थ तथा विवादास्पद राजनीतिक मुद्दाहरू अघि बढाउन थोरै संख्याका विश्वासपात्र वकिलहरूमाथि निर्भरता बढाएको छ।
महान्यायाधिवक्ता टड ब्ल्यान्चको नेतृत्वमा रहेको डिपार्टमेन्टले नियमित काम गर्ने अनुभवी अभियोजनकर्ताहरूलाई विवादबाट टाढै राख्न र राजनीतिक रूपले संवेदनशील मुद्दाहरूमा आफ्नै नजिकका सहयोगी तथा राजनीतिक नियुक्तिका अधिकारीहरूलाई परिचालन गर्ने रणनीति अख्तियार गरेको हो।
यसै क्रममा, ब्ल्यान्चकी विश्वासपात्र तथा बाल शोषण र मानव बेचबिखनविरुद्धकी संयोजक अलेसान्द्रा सेरानोले ट्रम्पका राजनीतिक विरोधीहरूमाथि छानबिन गर्न दक्षिण फ्लोरिडाको भ्रमण गरेकी थिइन्। गत महिना वासिङ्टन डिसी फर्किएर उनले डेमोक्र्याटिक सांसद इल्हान ओमारको घरमा खानतलासी गर्ने वारेन्टका लागि न्यायाधीशसँग अनुमति मागेकी थिइन्।
त्यसैगरी, जस्टिस डिपार्टमेन्टका तेस्रो वरियताका अधिकारी स्टेनली वुडवार्डले ह्वाइट हाउसको बलरूम परियोजना, अलास्काको सिनेट निर्वाचन प्रमाणीकरण रोक्ने सम्बन्धी मुद्दा र राष्ट्रपतिको संयुक्त कभरेज स्थगित गर्ने प्रमुख टेलिभिजन नेटवर्कहरूमाथि अनुसन्धानको माग गरिएका अदालती कागजातमा हस्ताक्षर गरेका छन्। गत महिना पूर्व एफबीआई निर्देशक जेम्स बी. कोमीविरुद्ध तेस्रो पटक मुद्दा दायर गर्दा पनि ब्ल्यान्चका दुई निकट सहयोगीले नै कागजातमा हस्ताक्षर गरेका थिए।
पूर्वप्रशासनहरूको तुलनामा यो निकै फरक अभ्यास हो। विगतमा संवेदनशील तथा विवादास्पद मुद्दाहरूमा पनि राजनीतिक नियुक्तिका अधिकारीहरू विरलै अदालतमा उपस्थित हुन्थे र बहसको जिम्मा नियमित अभियोजनकर्ताहरूलाई नै दिइन्थ्यो। ब्ल्यान्चको नयाँ रणनीतिले नियमित कर्मचारीहरूलाई नैतिक संकटमा पर्नबाट जोगाएको र राजीनामा दिने क्रम रोकेको बताइएको छ। ट्रम्प प्रशासनको पहिलो वर्षमा विवादास्पद मुद्दा हेर्न नमान्दा वा नैतिक प्रश्न उठ्दा धेरै अभियोजनकर्ताहरूले राजीनामा दिएका थिए वा बर्खास्तगीमा परेका थिए।
पूर्वअधिकारीहरूका अनुसार प्रशासन सुरु भएयता जस्टिस डिपार्टमेन्टका करिब २० हजार कर्मचारीमध्ये ७ हजारभन्दा बढीले सेवा छाडिसकेका छन् भने ३ हजार ५ सय नयाँ नियुक्ति गरिएको छ। कर्मचारी अभावका कारण देशभरका सरकारी वकिलका कार्यालयहरूमा मुद्दाको चाप थुप्रिएको छ।
यता, जस्टिस डिपार्टमेन्टका पूर्वअधिकारी तथा आलोचकहरूले भने राजनीतिक नियुक्तिका व्यक्तिहरूलाई यस्ता मुद्दा सुम्पिँदा संघीय कानुन कार्यान्वयन निकायप्रतिको जनविश्वास कमजोर भएको टिप्पणी गरेका छन्। पूर्वसिविल राइट्स अभियोजनकर्ता काइल बोयन्टनले विगतमा तल्लो तहबाट प्रमाण जुटाएर मुद्दा बन्ने गरेकोमा हाल माथिल्लो तहको निर्देशनमा मुद्दा तय हुने गरेको भन्दै चिन्ता व्यक्त गरे।
आलोचकहरूले राजनीतिक नियुक्तिका वकिलहरूसँग अनुभवी अभियोजनकर्ताको जस्तो अदालती बहसको सीप र अनुभव नहुँदा ट्रम्पका विरोधीहरूविरुद्ध दायर गरिएका अधिकांश ठूला मुद्दाहरू असफल भएको औँल्याएका छन्। जेम्स कोमी, न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्स र हन्टर बाइडेनसम्बन्धी अनुसन्धानमा संलग्न दुई एफबीआई एजेन्टविरुद्धका मुद्दाहरू न्यायाधीशहरूले खारेज गरिदिएका छन्। फ्लोरिडामा ओबामा र बाइडेन प्रशासनका अधिकारीहरूविरुद्ध चलिरहेको भनिएको बृहत् षड्यन्त्रको छानबिनबाट पनि अहिलेसम्म कुनै अभियोग पत्र दायर हुन सकेको छैन।
जस्टिस डिपार्टमेन्टका प्रवक्ताले भने राजनीतिक नियुक्तिका व्यक्तिहरूमाथि मात्र निर्भर रहेको भन्ने आरोपको खण्डन गरेका छन्। विज्ञता र स्रोतको उपलब्धताका आधारमा जिम्मेवारी तोकिएको र विगतको तुलनामा अझ गतिशील ढंगले काम भइरहेको डिपार्टमेन्टको दाबी छ। कम कर्मचारीका बाबजुद सार्वजनिक सुरक्षा र अपराध नियन्त्रणमा डिपार्टमेन्टले प्रभावकारी नतिजा दिइरहेको प्रवक्ताले बताएका छन्।
दक्षिण टेक्सासका सरकारी वकिल आरोन रिट्जले पनि ब्ल्यान्चको रणनीतिको बचाउ गरेका छन्। हजारौँ नियमित अभियोजनकर्ताहरूलाई निष्पक्ष कानुनी काममा केन्द्रित हुन दिएर विशेष संवेदनशीलता भएका परियोजनाहरू विश्वासपात्रहरूलाई सुम्पिनु स्वाभाविक रहेको उनको तर्क छ।





