११ मंसिर २०८३, शुक्रबार| Friday, November 27, 2026
अध्यागमन

नोभेम्बर ३० देखि १० हजार डलरभन्दा बढी बालभरण ऋण भएका अमेरिकीको पासपोर्ट रद्द गरिने

ट्रम्प प्रशासनले ३० वर्ष पुरानो कानुन कडाइका साथ कार्यान्वयन गर्दै पासपोर्ट खारेजीको दायरा विस्तार गरेको छ। यसअघि १ लाख डलरबाट सुरु भएको कारबाहीको सीमा अब १० हजार डलरमा झारिँदैछ।

यो समाचार सुन्नुहोस्0:00 / --:--
passport book on floor

फोटो: जेरेमी डोरोघ

न्युयोर्क — अमेरिकामा सन्तानको हेरचाह र पालनपोषणका लागि बुझाउनुपर्ने रकम (चाइल्ड सपोर्ट) नतिर्ने अभिभावकको अमेरिकी पासपोर्ट रद्द गर्ने अभियानलाई ट्रम्प प्रशासनले थप कडा बनाएको छ। अमेरिकी विदेश मन्त्रालयले आगामी नोभेम्बर ३० देखि चाइल्ड सपोर्टबापत १० हजार डलर वा सोभन्दा बढी बक्यौता भएका अभिभावकको पासपोर्ट रद्द गर्ने तथा नयाँ पासपोर्ट आवेदन अस्वीकार गर्ने प्रक्रिया विस्तार गर्दैछ।

यसअघि १५ हजार डलर वा सोभन्दा बढी चाइल्ड सपोर्ट बक्यौता भएका व्यक्तिलाई लक्षित गरिएकोमा अब सीमा घटाएर १० हजार डलर बनाइएको हो। यससँगै हजारौँ अमेरिकी नागरिकको अन्तर्राष्ट्रिय यात्रा प्रभावित हुन सक्नेछ। पासपोर्ट रद्द भएपछि उनीहरूले बक्यौता रकम भुक्तानी गरी सरकारी प्रक्रिया पूरा नगरेसम्म विदेश यात्रा गर्न पाउने छैनन्।

यो अभियान सन् १९९६ मा पारित ऐन अन्तर्गत अघि बढाइएको हो। उक्त कानुनले चाइल्ड सपोर्ट नतिर्ने अभिभावकको पासपोर्ट रोक्का वा रद्द गर्न संघीय सरकारलाई अधिकार दिएको छ। तर, करिब तीन दशकसम्म यसको कार्यान्वयन सीमित थियो।

खसोखासले यसअघि नै अमेरिकी सरकारले चाइल्ड सपोर्ट बक्यौता भएका अभिभावकको पासपोर्ट रद्द गर्ने प्रक्रिया चरणबद्ध रूपमा अघि बढाउन लागेको विषयमा समाचार प्रकाशित गरेको थियो। त्यसबेला सरकारले जुन १ देखि ७५ हजार डलर वा सोभन्दा बढी बक्यौता भएकालाई लक्षित गर्ने तयारी गरेको थियो। पहिलो चरणमा भने १ लाख डलरभन्दा बढी बक्यौता भएका व्यक्तिको पासपोर्ट रद्द गर्ने प्रक्रिया सुरु गरिएको थियो।

तर, त्यसपछि सरकारले ऋणको सीमा निरन्तर घटाउँदै लगेको छ। सन् २०२६ को मे महिनामा १ लाख डलर वा सोभन्दा बढी बक्यौता भएका व्यक्तिबाट सुरु भएको अभियानमा जुनमा ७५ हजार र ५० हजार डलर, जुलाईमा ४० हजार डलर, अगस्टमा २५ हजार डलर र अक्टोबरमा १५ हजार डलरको सीमा कायम गरिएको थियो। नोभेम्बर ३० देखि भने १० हजार डलर वा सोभन्दा बढी बक्यौता भएका अभिभावकसमेत यसको दायरामा आउनेछन्।

कानुनमा न्यूनतम सीमा २ हजार ५०० डलर

अमेरिकी संघीय कानुनअन्तर्गत चाइल्ड सपोर्टबापत २ हजार ५०० डलरभन्दा बढी बक्यौता भएका अभिभावकको पासपोर्ट आवेदन अस्वीकार गर्न सकिने व्यवस्था छ। तर, विगतमा यो प्रावधान मुख्यतः नयाँ पासपोर्ट आवेदन रोक्न प्रयोग हुने गरेको थियो। जारी भइसकेका पासपोर्टसमेत सक्रिय रूपमा खोजी गरी रद्द गर्ने अभ्यास भने सीमित थियो।

ट्रम्प प्रशासनले सन् २०२६ को मेदेखि यही व्यवस्थालाई थप कडाइका साथ कार्यान्वयन गर्न थालेको हो। यसका लागि राज्यस्तरका चाइल्ड सपोर्ट निकायमा रहेको बक्यौता विवरण संघीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालय अन्तर्गतको बालबालिका सहयोग कार्यान्वयन कार्यालयमा पठाइन्छ। त्यहाँबाट अमेरिकी विदेश मन्त्रालयमा विवरण पुगेपछि सम्बन्धित व्यक्तिको पासपोर्ट रद्द गर्ने वा नयाँ आवेदन अस्वीकार गर्ने प्रक्रिया अघि बढ्छ।

८२ लाख मुद्दामा १११ अर्ब ७० करोड डलर बक्यौता


बालबालिका सहयोग कार्यान्वयन कार्यालयको सन् २०२५ को प्रारम्भिक तथ्यांकको विश्लेषण गर्दा अमेरिकाभर चाइल्ड सपोर्टबापत १११ अर्ब ७० करोड डलर बक्यौता रहेको छ। यो रकम भुक्तानी बाँकी रहेका ८२ लाख मुद्दासँग सम्बन्धित छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

२८ राज्य र वासिङ्टन डीसीमा चाइल्ड सपोर्ट बक्यौता भएका मुद्दाको औसत रकम १३ हजार ६४४ डलर रहेको विश्लेषणले देखाएको छ। यो रकम विदेश मन्त्रालयले नोभेम्बर ३० देखि लागू गर्न लागेको १० हजार डलरको सीमाभन्दा बढी हो।

सन् २०२५ मा राज्यहरूले तिर्नुपर्ने चालु चाइल्ड सपोर्ट रकममध्ये औसत ६५.४ प्रतिशत मात्र संकलन गर्न सकेका थिए। एरिजोनामा संकलन दर सबैभन्दा कम ५२.५ प्रतिशत थियो भने पेन्सिल्भेनियामा सबैभन्दा बढी ८२.९ प्रतिशत थियो।

अलाबामामा प्रतिमुद्दा औसत बक्यौता २५ हजार ६१२ डलर थियो। टेक्सासमा भने कुल बक्यौता सबैभन्दा बढी १८ अर्ब ३० करोड डलर पुगेको थियो।

ऋण तिरेपछि पनि पुरानै पासपोर्ट चल्दैन

चाइल्ड सपोर्टको बक्यौता तिर्दैमा रद्द भइसकेको पासपोर्ट स्वतः सक्रिय हुँदैन। अमेरिकी विदेश मन्त्रालयका अनुसार ऋण तिरेपछि सम्बन्धित व्यक्तिले आफ्नो राज्यको चाइल्ड सपोर्ट निकायलाई भुक्तानीको जानकारी दिनुपर्छ। त्यसपछि घीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भुक्तानी प्रमाणित गरी सम्बन्धित व्यक्तिको नाम आफ्नो अभिलेखबाट हटाउनुपर्छ।

यो प्रक्रिया पूरा हुन कम्तीमा दुईदेखि तीन साता लाग्न सक्छ। घीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयबाट भुक्तानीको पुष्टि भएपछि विदेश मन्त्रालयले पासपोर्टसम्बन्धी प्रतिबन्धको पुनरावलोकन गर्छ र नयाँ पासपोर्टका लागि आवेदन दिन योग्य भए वा नभएको निर्णय गर्छ।

विदेश मन्त्रालयले बक्यौता तिरे पनि रद्द भइसकेको पुरानो पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्न नमिल्ने स्पष्ट पारेको छ।

नयाँ पासपोर्ट सामान्य प्रक्रियाबाट प्राप्त गर्न चारदेखि छ साता लाग्न सक्छ। ६० डलर अतिरिक्त शुल्क तिरेर छिटो प्रक्रिया अपनाउँदा दुईदेखि तीन सातामा पासपोर्ट प्राप्त गर्न सकिने व्यवस्था छ।

विदेशमा रहेका अमेरिकी नागरिकले कसरी फर्कन सक्छन्?

विदेश भ्रमणमा रहेका वा अमेरिकाबाहिर बसिरहेका व्यक्तिको पासपोर्ट रद्द भएमा उनीहरूले ऋण बाँकी रहेको सम्बन्धित राज्यसँग सम्पर्क गरी भुक्तानी गर्नुपर्छ।

भुक्तानीपछि नजिकको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा सम्पर्क गरेर सीमित अवधिका लागि पासपोर्ट लिन आवेदन दिन सकिन्छ। घीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले ऋण चुक्ता भएको पुष्टि गरेपछि यस्तो अस्थायी यात्रा कागजात जारी गर्न सकिने व्यवस्था छ।

तर, यस्तो कागजात अमेरिकामा सिधै फर्कनका लागि मात्र प्रयोग गर्न पाइन्छ। रद्द भइसकेको पुरानो पासपोर्ट प्रयोग गरेर अन्तर्राष्ट्रिय यात्रा गर्न मिल्दैन।

यो अभियानले विशेषगरी अन्तर्राष्ट्रिय यात्रा गर्ने अमेरिकी नागरिकलाई प्रभावित पार्नेछ। वैध पासपोर्टबिना अमेरिकी नागरिकले विदेश यात्रा गर्न पाउँदैनन्। तर, अमेरिकाभित्र राज्यहरूबीच यात्रा गर्न भने पासपोर्ट अनिवार्य हुँदैन।

लेखक किशोर पन्थी

किशोर पन्थी ‘खसोखास’ र ‘नेपयोर्क’ का संस्थापक तथा प्रधानसम्पादक हुन्। उनी ‘कम्पन’, ‘अनट्रान्सलेटेबल’ र ‘जिरो माइल’ गरी तीन पुस्तकका लेखक हुन्। उनी सामाजिक मुद्दा, आप्रवासन र राजनीतिबारे लेख्छन्। पन्थीले न्युयोर्कलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै विगत १५ वर्षदेखि अमेरिकी-नेपाली डायस्पोरामा पत्रकारिता गरिरहेका छन्।

यस लेखकका थप समाचार →