१२ मंसिर २०८३, शनिबार| Saturday, November 28, 2026
नेपाल

बाढीको तीनमहिनापछि पनि सामान्य जीवनमा फर्कन सकेका छैनन् नेपाली बालबालिका, पुनर्स्थापना चुनौतीपूर्ण

आमाबुवाबाट छुट्टिएका, आफन्त गुमाएका र घरबारविहीन भएका बालबालिका शारीरिक चोटसँगै मानसिक आघात पनि बोकेर बाँचिरहेका छन्; सरकारले मासिक १७ हजार ५०० रुपैयाँ सहायता र दीर्घकालीन संरक्षणको योजना अघि सारे पनि उनीहरूको पुनर्स्थापना अझै चुनौतीपूर्ण छ।

बाढी लगत्तै अस्थायी आश्रयस्थलमा बाढीपीडित बालबालिका। तस्बिर : डण्ड गुरुङ

काठमाडौं — बाढीमा आमाबुवा गुमाएका बालबालिकाका लागि अहिलेको सबैभन्दा ठूलो प्रश्न कहाँ बस्ने वा कसरी पढ्ने भन्ने मात्र होइन। उनीहरूलाई परिवारको अभाव, गुमेका आफन्तको सम्झना र अबको जीवन कसरी अघि बढ्छ भन्ने अनिश्चितताले पनि सताइरहेको छ।

युनिसेफका अनुसार अगस्ट २६ को बाढीले ६ जिल्लाका १७ वटा नगरपालिकामा गरी करिब ८४,२७० जनालाई प्रभावित बनाएको छ। तीमध्ये ३२,०२१ बालबालिका र १,८५४ अपाङ्गता भएका व्यक्ति छन्।

विनाशकारी बाढी गएको तीन महिना बित्दा केही बालबालिका विद्यालय फर्कने प्रयासमा छन्। केही अझै अस्थायी आश्रयस्थलमा छन्। कतिपयले आमाबुवासँगै घर, किताब, खेलौना र बाल्यकालका सम्झनासमेत गुमाएका छन्। बाहिरबाट सामान्य देखिने बालबालिका पनि एकान्तमा भावुक हुने, टोलाउने र भविष्यबारे प्रश्न गर्ने गरेको मनोसामाजिक परामर्शदाताहरूले बताएका छन्।

बाढी प्रभावित बालबालिकाको मनोसामाजिक अवस्था मूल्याङ्कनमा संलग्न परामर्शदाताका अनुसार केही बालबालिका खेलिरहेका बेला अचानक एकान्तमा गएर भावुक हुने गरेका छन्। कतिपयले पुराना कपडा वा खेलौना देखाउँदै ती आमाको सम्झना भएको बताउँछन्। बाढीमा किताब र व्यक्तिगत सामान गुमाएका बालबालिकाले अब कहाँ गएर पढ्ने र आफ्नो भविष्य के हुने भन्ने चिन्ता व्यक्त गर्ने गरेका छन्।

युनिसेफले परिवारबाट छुट्टिने, बेचबिखन, शोषण, लैङ्गिक हिंसा, बालविवाह र मनोसामाजिक तनावको जोखिम बालबालिका, महिला, किशोरकिशोरी र अपाङ्गता भएका व्यक्तिमा कायमै रहेको जनाएको छ। विस्थापनले संरक्षण अनुगमन, रेफरल र केस फलोअपलाई जटिल बनाएको छ।

साना बालबालिकामा भने विपद् र मृत्युको गहिराइ बुझ्ने क्षमता पूर्ण रूपमा विकसित नभएको देखिएको छ। चार–पाँच वर्ष उमेर समूहका बालबालिकाले अभिभावकको अवस्थाबारे चासो राखे पनि उनीहरूको प्रतिक्रिया र भावनात्मक अवस्था ठूला बालबालिकाको भन्दा फरक हुने परामर्शदाताहरूको अनुभव छ।

निरन्तरको मनोसामाजिक परामर्श, खेलकुद र समूहगत गतिविधिले केही बालबालिकालाई बिस्तारै सामान्य दिनचर्यामा फर्कन मद्दत गरेको छ। युनिसेफ समर्थित ३५ वटा बालमैत्री स्थानले १,७०८ बालबालिकालाई (८३२ बालिका र ८७६ बालक) संरचित खेल, मनोरञ्जन र मनोसामाजिक सहयोग दिएका छन्।

मनोवैज्ञानिक प्राथमिक उपचार, परामर्श र समूहगत सहयोग १३,०५७ जनासम्म पुगेको छ। यसबाहेक ४,५०५ जनाले (१,८५२ बालबालिका र किशोरकिशोरीसहित) विशेषज्ञ मानसिक स्वास्थ्य सहयोग पाएका छन्। युनिसेफका अनुसार मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोग कुल १९,५०० बालबालिका र अभिभावकसम्म पुगेको छ। तर आफन्त गुमाएको पीडा र विस्थापनको अनुभवबाट बाहिर निस्कन उनीहरूलाई लामो समयसम्म सहयोग आवश्यक पर्ने देखिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई स्वास्थ्य उपचार र मनोसामाजिक परामर्श दिँदै सशस्त्र प्रहरी बल, नेपालका स्वास्थ्यकर्मी। तस्बिर: सशस्त्र प्रहरी बल, नेपाल

बाढीको त्यो बिहान: बालबालिकाका अनुभव

बाढी आउँदा नुवाकोट, बेत्रावतीका कक्षा ९ मा पढ्ने स्वस्तिक पौडेल विद्यालय जाने तयारीमा थिए। उनीसँग बाढीको कुनै पूर्वसूचना थिएन। छिमेकीले ‘बाढी आयो’ भनेपछि उनले आमालाई फोन गरे, तर आमाको कुरा प्रस्ट बुझ्न सकेनन्। त्यसपछि उनी चार वर्षका काकाका छोरालाई साथमा लिएर सुरक्षित ठाउँतर्फ भागे।

जंगलतर्फको बाटो तारजालीले छेकिएकाले उनीहरू पर्खाल नाघेर कुलोतर्फ गए। कुलो तर्न लाग्दा माथिबाट एकाएक लेदोसहितको बाढी आयो। बाढीले स्वस्तिकलाई करिब १० मिनेटसम्म बगायो र स्कुल परिसरमा ल्याएर फाल्यो। भाइ उनको हातबाट चिप्लेर बगे। पछि ती भाइको शव चितवन–नवलपरासी क्षेत्रमा भेटिएको जानकारी स्वस्तिकले पाए।

बाढीपछि परिवारका सदस्य छुट्टाछुट्टै ठाउँमा पुगे। स्वस्तिकले रातभर आमाको प्रतीक्षा गरे, तर भेट भोलिपल्ट बिहान मात्र भयो। आमा उनीहरूलाई खोज्न आए पनि स्कुलनजिकैको खोल्सामा पानीको बहाव बढेकाले फर्कनुपरेको रहेछ।

“बाढीले बगाए पनि म जोगिएँ, तर हातबाट चिप्लिएका ४ वर्षीय भाइको शव १५० किमी तल भेटियो” — बाढीको त्रासद क्षण र भाइ गुमाएको पीडा सुनाउँदै कक्षा ९ मा अध्ययनरत स्वस्तिक पौडेल । तस्बिर: दीपेन्द्र ढुङ्गाना

नुवाकोटकी मालाकुमारी ढकाल नगरकोटी बाढी आउँदा काममा थिइन्। उनले बिहान १० वर्षीया छोरीलाई होस्टेल वा स्कुल पठाएकी थिइन्। करिब पौने ८ बजे भिनाजुको फोनबाट बाढी आउँदै गरेको थाहा पाएपछि उनी छोरीको उद्धारमा दौडिइन्। उनी चढ्न लागेको स्कुलको गाडी उनको आँखै अगाडि पल्टियो। बाटो र पुल भत्किएकाले उनी जंगलको बाटो हुँदै भोलिपल्ट घर पुगिन्।

बाढी आउँदा छोरी होस्टेलमा थिइन्। शिक्षकले ‘भागौँ’ भनेपछि विद्यार्थीहरू माथितिर भागे। बालिका जाली नाघ्न खोज्दा त्यहीँ अड्किइन्। बाढीले बगाउन खोजे पनि त्यही जालीले उनलाई जोगायो। स्थानीयवासीले उद्धार गरेर गाडीमा काठमाडौंको अस्पताल पुर्‍याए।

गत अगस्ट २६ (भदौ १०) मा आएको भीषण बाढीका कारण घरबारविहीन बनेकी मालाकुमारी ढकाल नगरकोटी । बाढीको तीव्र भेलमा जालीमा अड्किएर बालिकाको जीवितै उद्धार भए पनि उनको घर र सम्पत्ति सबै बाढीले बगाएको छ। तस्बिर: दीपेन्द्र ढुङ्गाना

अस्पतालमा छोरी भेटिए पनि परिवार संकटमा छ। उनीहरूको घर र जग्गा बाढीले बगाएको छ र घर भएको ठाउँ अहिले भिरमा परिणत भएको छ।

मानसिक स्वास्थ्य र संरक्षणलाई प्राथमिकता

बालबालिकाले भोगेको मानसिक आघात सम्बोधन गर्न सरकारले अस्थायी संरक्षण केन्द्र, परिवार र वडा तहमा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ। एक हजारभन्दा बढी तालिमप्राप्त परामर्शदाता परिचालन गरिएको जनाइएको छ।

बाढी प्रभावित बालबालिकाको सामाजिक अवस्था मूल्याङ्कन र व्यक्तिगत स्याहार योजना तयार पार्न समाजसेवी तथा बालमनोविद्हरू परिचालित छन्। उनीहरूको अवस्थालाई अति जोखिम, मध्यम जोखिम र न्यून जोखिम गरी तीन समूहमा वर्गीकरण गरेर आवश्यक संरक्षण र उपचार योजना बनाउने तयारी गरिएको छ।

युनिसेफ समर्थित मूल्याङ्कनमा ७५८ जोखिममा रहेका बालबालिका समेटिएका छन्। तीमध्ये १२१ जना एक्लै परेका वा छुट्टिएका (५६ बालक र ६५ बालिका) पहिचान भएका छन्। यी १२१ मध्ये १०२ जना (४५ बालक र ५७ बालिका) परिवारका सदस्यसँग पुनर्मिलन भएका छन्। नजिकका आफन्त नभेटिएका पाँच जनालाई पारिवारिक विकल्प खोजिँदासम्म मध्यमकालीन उपाय स्वरूप संस्थागत स्याहारमा राखिएको छ। १४ जनाको पारिवारिक खोजी जारी छ र उनीहरू होस्टल तथा बौद्ध गुम्बामा बसिरहेका छन्। बाँकी ६३७ जना बालबालिकाका अभिभावक जीवित छन् वा उनीहरू पहिल्यैदेखि स्याहार व्यवस्थामा थिए। उनीहरूलाई संरक्षण सहयोग जारी छ।

स्याहार र संरक्षण चाहिने ३८५ बालबालिकाको केस व्यवस्थापन भइरहेको छ। नुवाकोटमा ८५ दर्तावालालाई अभिमुखीकरण दिइएको छ। यसले विस्थापित परिवार, विपद्सम्बन्धी मृत्यु र हराएका कागजात पुनः बनाउने प्रक्रिया सहज बनाएको छ। राष्ट्रिय बालअधिकार परिषद्मार्फत नयाँ कागजात वा दर्ता चाहिने बालबालिकाको पहिचान जारी छ। प्रहरीसँग मिलेर १९ वटा जाँचचौकीमा ६,२३३ सवारीसाधन र ८०,६६५ जनालाई संरक्षणसम्बन्धी जानकारी दिइएको छ। अहिलेसम्म बेचबिखनका कुनै घटना पहिचान भएका छैनन्।

भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई उपचार गर्दै सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मी। तस्बिर: सशस्त्र प्रहरी बल, नेपाल

बालबालिकाको समस्या तत्कालको राहत वा आश्रयमा मात्र सीमित नरहेको सरोकारवालाहरूको भनाइ छ। उनीहरूको नियमित पठनपाठन, पोषण, स्वास्थ्य, पारिवारिक वातावरण र मानसिक स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता छ।

स्वास्थ्य र पोषणतर्फ युनिसेफका अनुसार अगस्ट २६ पछि कुनै रोगको प्रकोप रिपोर्ट भएको छैन। रोग निगरानी तालिमले नुवाकोट र रसुवाका ६ नगरपालिकामा २३४ स्वास्थ्यकर्मी, ३५६ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र ५१४ समुदायका सदस्यलाई समेटेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँमा ५ वर्षमुनिका १३,२७८ बालबालिकाको कुपोषण परीक्षण गरिएको छ। तीमध्ये २०२ जनामा मध्यम र २२ जनामा गम्भीर कुपोषण देखिएको छ।

गम्भीर कुपोषित बालबालिकालाई तयारी उपचार खाद्य दिइएको छ। ६,०४५ गर्भवती तथा सुत्केरी महिलाले शिशु तथा बाल आहारसम्बन्धी परामर्श पाएका छन्। नोभेम्बरको अन्त्यतिर पाँच बाढीप्रभावित जिल्लाका करिब ७४,००० बालबालिकालाई लक्षित गरी दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने तयारी छ।

यसैलाई ध्यानमा राखेर सरकारले अभिभावक गुमाएका बालबालिकालाई संस्थागत बालगृहमा राख्नुभन्दा परिवार र समुदायमै पुनर्मिलन गराउने नीति अघि सारेको छ।

राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत असोज १७ गते नुवाकोटको अन्नपूर्ण सेन्टरमा अस्थायी संरक्षणमा रहेका ३६ जना बालबालिकामध्ये दुवै अभिभावक गुमाएका करिब १८ जनालाई परिवारमा पुनर्मिलन गराइएको थियो।

पुनर्मिलनका क्रममा पहिलो प्राथमिकता बालबालिकाको जैविक परिवार र नजिकका नातेदारलाई दिइन्छ। हजुरबुवा, हजुरआमा, काका–काकी तथा अन्य नजिकका नातेदारले संरक्षण गर्न सक्ने अवस्था नभएमा योग्य इच्छुक परिवार खोज्ने व्यवस्था छ। कानुनी प्रक्रिया पूरा गरेर संरक्षक नियुक्त गरिनेछ।

बालबालिकाको संरक्षण गर्ने परिवारलाई आर्थिक भार नपरोस् भनेर परिषद्मार्फत सम्झौता गरी वार्षिक करिब तीन लाख रुपैयाँसम्मको भरणपोषण तथा संरक्षण प्याकेज उपलब्ध गराउने व्यवस्था गरिएको छ।

१८ वर्ष नपुग्दासम्म मासिक १७ हजार ५०० रुपैयाँ

बालबालिकाको दीर्घकालीन संरक्षण र भरणपोषणका लागि सरकारले मासिक १७ हजार ५०० रुपैयाँ सहायता कार्यक्रम पनि सुरु गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका र उच्च जोखिममा रहेका ८१० जना बालबालिकाका लागि दीर्घकालीन संरक्षणको व्यवस्था मिलाइएको छ।

कार्यक्रमको सुरुआत रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, गोल्जुङबेसीबाट गरिएको थियो। बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरेर सहायता वितरण सुरु गरिएको थियो। उनकी नवजात छोरीले १८ वर्ष उमेर पूरा नगरुन्जेल परिवारमै रहेर नियमित रूपमा उक्त सहायता पाउने व्यवस्था गरिएको छ।

यो सुविधा सबै बाढी प्रभावित बालबालिकाका लागि नभई विशेष जोखिममा रहेका १८ वर्षमुनिका बालबालिकाका लागि हो। आमाबुवा दुवै वा एकजना गुमाएका, अभिभावक बेपत्ता भएका तथा घरबारविहीन भई उच्च जोखिममा परेका बालबालिका यसमा समेटिनेछन्।

सहायता प्राप्त गर्न अभिभावक वा संरक्षकले बालबालिकाको जन्मदर्ता, आफ्नो नागरिकता, अभिभावकको मृत्युदर्ता वा बेपत्ता भएको पुष्टि गर्ने प्रहरी मुचुल्का, वडा कार्यालयको सिफारिस र सक्रिय बैंक खाताको विवरणसहित सम्बन्धित स्थानीय तहको महिला तथा बालबालिका शाखामा निवेदन दिनुपर्छ।

स्थानीय बालअधिकार समितिले जोखिमको अवस्था यकिन गरी राष्ट्रिय बालअधिकार परिषद्मा सिफारिस पठाउनेछ। परिषद्बाट विवरण प्रमाणीकरण भएपछि साझेदार संस्थासँगको समन्वयमा संरक्षण सम्झौता गरिनेछ। त्यसपछि अभिभावक वा संरक्षकको बैंक खातामा नियमित रूपमा रकम जम्मा हुनेछ।

भोटेकोशी नदीको बाढीमा दुवै अभिभावक गुमाएका बालबालिकाका लागि नुवाकोटमा स्थापना गरिएकोहोल्डिङ सेन्टर। तस्बिर: रामहरि न्यौपाने/रासस

एसओएस चिल्ड्रेन भिलेज, एमआईटी ग्रुप फाउन्डेसन र प्रविना फाउन्डेसनलगायत संस्थासँग कार्यक्रम कार्यान्वयनमा समन्वय गरिएको छ।

यसबाहेक युनिसेफले सरकारी प्रणालीमार्फत रसुवा, नुवाकोट, धादिङ र गोरखाका १२ वटा नगरपालिकामा मानवीय नगद सहायता वितरणमा सहयोग गरिरहेको छ। ५,२०० प्रभावित घरधुरीमध्ये प्रत्येकलाई १५,००० रुपैयाँ (करिब १०० अमेरिकी डलर) दिने तयारी छ। सात नगरपालिकामा भुक्तानी सकिएको छ र त्यसले २,०२१ घरधुरीलाई समेटेको छ।

अर्को चरणमा ५ वर्षमुनिका बालबालिका भएका घरधुरी, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति, विधवा र ६५ वर्षमाथिका एकल महिलालाई प्राथमिकता दिइनेछ। चार जिल्लामा १६,५०० भन्दा बढी अपाङ्गता भएका व्यक्ति अपाङ्गता भत्ताबाट बाहिर छन्।

पढाइ छुटेका बालबालिकालाई छात्रवृत्ति

बाढी र त्यसपछिको विस्थापनले बालबालिकाको शिक्षामा पनि असर पारेको छ। नियमित विद्यालय जान नपाएका र पुराना विद्यालयमा फर्कन नसकेका बालबालिकाका लागि सरकारले छात्रवृत्ति तथा वैकल्पिक शिक्षाको व्यवस्था अघि सारेको छ।

सरकारी मूल्याङ्कनअनुसार जाँच गरिएका ३४ विद्यालयमध्ये ११ वटा पूर्ण रूपमा नष्ट र १२ वटा क्षतिग्रस्त भएका छन्। यसले ९,४३० विद्यार्थी र २१६ शिक्षकलाई असर पारेको थियो। युनिसेफका अनुसार विद्यालय पुनर्निर्माण र अर्ध–स्थायी अस्थायी सिकाइ केन्द्र स्थापनामा सुरक्षित जग्गाको अभाव बाधक बनेको छ। उच्च हिमाली क्षेत्रमा जाडो सहयोग अपुग छ। अपाङ्गता भएका, विस्थापित, आमाबुवा गुमाएका र सरकारी सहयोगमा चलेका होस्टेलमा बस्ने बालबालिकालाई विशेष सहयोग चाहिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका–२०८३’ जारी गर्दै पहिलो चरणमा बाढीमा ज्यान गुमाएका परिवारका २७ जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको छ।

निर्देशिकाअनुसार आमाबुवा गुमाएका बालबालिकाका लागि आवास, भोजन र शिक्षासहितको निःशुल्क आवासीय छात्रवृत्ति उपलब्ध गराइनेछ। घरजग्गा र बासस्थान गुमाएका तर अभिभावक जीवित रहेका बालबालिकाका लागि पूर्ण छात्रवृत्ति, र आम्दानीको स्रोत सुरक्षित रहेका प्रभावित परिवारका बालबालिकाका लागि आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको छ।

बागमती प्रदेश सरकारले बाढीमा आमाबुवा गुमाएका बालबालिकालाई कक्षा १२ सम्म आवाससहित निःशुल्क शिक्षा दिने निर्णय गरेको छ। विस्थापित बालबालिकाका लागि ललितपुरको गोदावरीमा एक वर्षका लागि अस्थायी विद्यालयसमेत सञ्चालन गरिएको छ।

बाढीले रसुवाको बेत्रावतीमा बगाएको स्कुल बस। फोटो: डण्ड गुरुङ

युनिसेफले स्थापना गरेका ५२ वटा अस्थायी सिकाइ केन्द्रले करिब १,८०० बालबालिकालाई शिक्षामा निरन्तरता दिएका छन्। तीमध्ये ३६ वटा (नुवाकोटमा २८ र धादिङमा ८) अझै सञ्चालनमा छन्। १६ वटा विद्यालय सफा र कीटाणुमुक्त गरिएपछि बालबालिका आफ्नै कक्षामा फर्किएकाले बन्द भएका छन्। धादिङ, नुवाकोट र रसुवामा करिब ९,००० बालबालिकाले सिकाइ सामग्री पाएका छन्। विद्यालयमा आधारित मनोवैज्ञानिक प्राथमिक उपचार ८९४ बालबालिकासम्म पुगेको छ र ३६० शिक्षकले यसबारे अभिमुखीकरण पाएका छन्। अर्ध–स्थायी सिकाइ केन्द्र निर्माण जारी छ।

तर विद्यालयमा सहज पुनर्भर्ना र नियमित पठनपाठन अझै चुनौतीपूर्ण छ। बसाइँसराइ, स्थानीय तहको सिफारिस र विभिन्न निकायबाट प्रमाणीकरण गर्नुपर्ने प्रक्रियाले केही बालबालिकाको पढाइ प्रभावित भइरहेको छ।

बालबालिकाको भविष्यका लागि सम्पत्ति संरक्षण

अभिभावक गुमाएका बालबालिकाको भविष्य आर्थिक रूपमा पनि सुरक्षित रहोस् भनेर सरकारले उनीहरूका आमाबुवाको चल तथा अचल सम्पत्तिको अभिलेख राख्ने व्यवस्था अघि सारेको छ।

स्थानीय तहले अभिभावकको नाममा रहेको सम्पत्ति, बाढीले नष्ट गरेको वा बगाएको सम्पत्ति र बाँकी रहेको सम्पत्तिको विवरण संकलन गर्नेछ। यसको उद्देश्य बालबालिका नाबालक रहेको अवस्थामा उनीहरूको पैतृक सम्पत्ति अरूले हडप्न नपाऊन् र उमेर पुगेपछि उनीहरूले कानुनी हक प्राप्त गर्न सकून् भन्ने हो।

तर यी कार्यक्रम कार्यान्वयनका लागि सबैभन्दा पहिले प्रभावित बालबालिकाको वास्तविक अवस्था पहिचान गर्नुपर्ने चुनौती छ।

राष्ट्रिय बालअधिकार परिषद्को प्रारम्भिक विवरणमा २६९ जना बालबालिका अभिभावक गुमाएका वा सम्पर्कविहीन भएको उल्लेख छ। तर रसुवाका स्थानीय तहको विवरण यसभन्दा निकै फरक छ। गोसाइँकुण्ड गाउँपालिकामा मात्रै ४६४ जना बालबालिका प्रभावित भएको विवरण छ, जसमध्ये २४८ जनाले दुवै अभिभावक गुमाएको स्थानीय तहको अभिलेखमा उल्लेख छ।

उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकामा पनि प्रभावित बालबालिकाको विवरण संकलन गरिएको छ। निकायहरूबीच तथ्याङ्कमा एकरूपता नहुँदा वास्तविक सङ्ख्या अझै यकिन हुन सकेको छैन।

सरकारले प्रभावित बालबालिकाको विवरण प्रमाणीकरण गर्न ८० देखि ९० जना जनशक्ति परिचालन गरेको र आगामी एकदेखि डेढ महिनाभित्र तथ्याङ्क संकलन पूरा हुने अपेक्षा गरेको छ।

पुनर्निर्माणको आवश्यकता ठूलो छ। सरकारले नेतृत्व गरेको विपद्पछिको आवश्यकता मूल्याङ्कनले कुल पुनःप्राप्ति र पुनर्निर्माण आवश्यकता ५ बिलियन अमेरिकी डलर अनुमान गरेको छ। युनिसेफले मानवीय प्रतिक्रियाका लागि चाहिने १.७२ करोड डलरमध्ये १.४७ करोड (८५ प्रतिशत) प्राप्त गरेको छ। जाडो सहयोगसहित प्रारम्भिक पुनःप्राप्तिका लागि ४.७ करोड डलर चाहिने उसको अनुमान छ। यसको ३१ प्रतिशत मात्र कोष जुटेको छ।

“मासिक आर्थिक सहायता, छात्रवृत्ति र पारिवारिक संरक्षणले बालबालिकाको तत्कालको आवश्यकता सम्बोधन गर्न सक्छन्। तर उनीहरूले गुमाएका आमाबुवा र आफन्तको स्थान कुनै आर्थिक सहयोगले लिन सक्दैन। उनीहरूलाई सुरक्षित पारिवारिक वातावरण, निरन्तर शिक्षा, मानसिक स्वास्थ्य सेवा र भविष्यप्रतिको भरोसा दिलाउने दीर्घकालीन व्यवस्था आवश्यक छ।” — एक मनोसामाजिक परामर्शदाताले भने।

लेखक दिपेन्द्र ढुंगाना

दिपेन्द्र ढुंगाना मल्टिमिडिया पत्रकार हुन्। नेपालका राष्ट्रिय मिडियामा १० वर्षभन्दा बढी काम गरेका ढुंगानाले विशेषगरी नेपाली अध्यागमन, पर्यटन, सामाजिक मुद्दा, ग्रामीण जनजीवन र राजनीतिक आन्दोलनबारे रिपोर्टिङ गर्दै आएका छन्। सन् २०२५ मा काठमाडौँमा प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा गोली लागेर उनी गम्भीर घाइते भएका थिए।

यस लेखकका थप समाचार →