नेपालमा एमसीसीको खर्च लेखापरीक्षणमा दुई आन्तरिक नियन्त्रण कमजोरी र एउटा अनियमितता फेला
स्वतन्त्र लेखापरीक्षणले एमसीए–नेपालको आर्थिक विवरण सही रहेको निष्कर्ष निकाले पनि आन्तरिक नियन्त्रण प्रणालीमा दुई महत्त्वपूर्ण कमजोरी र सम्झौताका सर्त पालना नभएको एउटा घटना औँल्याएको छ।
नेपालको एमसीसी कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य जारी छ। निर्माण सम्पन्न भएपछि यो सबस्टेसन नेपाल–भारत ४०० केभी बुटवल–गोरखपुर प्रसारण लाइनको अन्तिम विन्दु बन्नेछ। तस्बिर: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत सञ्चालित कार्यक्रमका लागि खर्च गरिएको करिब ३ करोड ५७ लाख डलरको स्वतन्त्र लेखापरीक्षणले आर्थिक विवरणलाई समग्रमा सही र निष्पक्ष रूपमा प्रस्तुत गरिएको निष्कर्ष निकालेको छ। तर, लेखापरीक्षकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा दुईवटा महत्त्वपूर्ण कमजोरी र सम्झौताका सर्त उल्लंघन भएको एउटा घटना पहिचान गरेका छन्।
अमेरिकी सरकारको निरीक्षक जनरल कार्यालय (यूएसएआईडी ओआईजी) ले यसै साता सार्वजनिक गरेको समीक्षा प्रतिवेदनअनुसार, नेपालस्थित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए–नेपाल) ले व्यवस्थापन गरेको एमसीसीको रकमको लेखापरीक्षण आर्थिक वर्ष २०२५ अप्रिल १ देखि २०२६ मार्च ३१ सम्मको अवधिका लागि गरिएको थियो। यूएसएआईडीको निरीक्षक जनरल कार्यालयले नोभेम्बर २४ मा उक्त प्रतिवेदन सार्वजनिक गरेको हो।
एमसीए–नेपालले नियुक्त गरेको स्वतन्त्र लेखापरीक्षण संस्था एस.ए.आर. एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सले कुल ३ करोड ५६ लाख ७९ हजार १ डलर बराबरको खर्च परीक्षण गरेको थियो। लेखापरीक्षकहरूले कार्यक्रमको आम्दानी, भएको खर्च, शोधभर्ना गरिएको रकम, सम्पत्ति तथा एमसीसीको खरिदसम्बन्धी प्राविधिक सहयोगको विवरण सम्बन्धित सम्झौताअनुसार सही र निष्पक्ष रूपमा प्रस्तुत गरिएको निष्कर्ष निकालेका छन्।
लेखापरीक्षणमा आन्तरिक नियन्त्रण प्रणालीमा कुनै गम्भीर कमजोरी (म्याटेरियल विकनेस) र कानुन, नियम वा सम्झौताका सर्तको गम्भीर उल्लंघन नभेटिएपनि आन्तरिक नियन्त्रण प्रणालीमा दुईवटा महत्त्वपूर्ण कमजोरी र सम्झौतासम्बन्धी सर्त पालना नभएको एउटा घटना भने औँल्याइएको छ।
यी निष्कर्षका आधारमा अमेरिकी सरकारको निरीक्षक जनरल कार्यालयले कुनै औपचारिक सिफारिस गरेको छैन। तर, एमसीसीका “प्रमुख जोखिम अधिकारी”लाई एमसीए–नेपालले ती कमजोरी र गैरअनुपालनका विषय सम्बोधन गरिसकेको छ वा छैन भन्ने यकिन गर्न सुझाव दिएको छ।
यसअघिका लेखापरीक्षण सिफारिसहरूको कार्यान्वयनबारे एस.ए.आर. एसोसिएट्सले तीनवटा सिफारिसमा सुधार भएको, एउटा कार्यान्वयनको प्रक्रियामा रहेको र दुईवटामा सुधार नभएको जनाएको छ। लेखापरीक्षण संस्थाले लागत साझेदारीसम्बन्धी अनुसूचीमा कुनै महत्त्वपूर्ण संशोधन आवश्यक रहेको जानकारी आफूलाई नभएको पनि उल्लेख गरेको छ। यसका अतिरिक्त, संस्थाले व्यवस्थापनसम्बन्धी छुट्टै पत्रसमेत जारी गरेको छ।
प्रतिवेदनमा एस.ए.आर. एसोसिएट्सले आफ्नो लेखापरीक्षण अमेरिकी सरकारको लेखापरीक्षण मापदण्डअनुसार गरेको दाबी गरेको उल्लेख छ। तर, उक्त संस्थाको निरन्तर व्यावसायिक शिक्षा कार्यक्रम ती मापदण्डका सबै आवश्यकता पूरा गर्ने खालको नरहेको र स्वतन्त्र बाह्य संस्थाबाट गुणस्तर नियन्त्रणसम्बन्धी समीक्षा पनि नगरिएको अमेरिकी निरीक्षक जनरल कार्यालयले जनाएको छ।
प्रतिवेदनको प्रारम्भिक समीक्षा गर्दा निरीक्षक जनरल कार्यालयले भविष्यमा तयार गरिने लेखापरीक्षण प्रतिवेदनमा सम्बोधन गर्नुपर्ने एउटा विषय पहिचान गरेको थियो। उक्त विषयलाई एमसीसीका लागि तयार गरिएको छुट्टै ज्ञापनपत्रमा समावेश गरिएको छ।
यद्यपि, लेखापरीक्षणको विस्तृत पूर्ण प्रतिवेदन सार्वजनिक गरिएको छैन। निरीक्षक जनरल कार्यालयका अनुसार, स्वतन्त्र लेखापरीक्षण संस्थाले तयार गरेका प्रतिवेदनमा व्यापार गोपनीयता ऐन र सूचनाको स्वतन्त्रतासम्बन्धी कानुनको एक्सेम्प्सन फोरअन्तर्गत सार्वजनिक गर्न नमिल्ने व्यावसायिक वा वित्तीय विवरण हुन सक्ने भएकाले यस्ता प्रतिवेदन नियमित रूपमा तत्काल सम्बन्धित पक्षबाहेक अन्यलाई वितरण गरिँदैन।
नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौता सन् २०२३ मा कार्यान्वयनमा आएको थियो। करिब ७४ करोड ७० लाख डलरको यो परियोजनामा अमेरिकाले ५५ करोड डलर र नेपालले १९ करोड ७० लाख डलर लगानी गर्ने व्यवस्था छ। परियोजनाको मुख्य उद्देश्य विद्युत् प्रसारण पूर्वाधार निर्माण र सडक सुधार गर्नु हो।





