११ मंसिर २०८३, शुक्रबार| Friday, November 27, 2026
नेपाल

तीन महिनापछि पनि पोषण र स्वास्थ्य निगरानीको पहुँचबाहिर बाढीपीडित गर्भवती र सुत्केरीहरू

बाढीबाट ज्यान जोगाएका गर्भवती र सुत्केरी महिलाहरू तीन महिना बितिसक्दा पनि सुरक्षित आवास, पर्याप्त पोषण र नियमित स्वास्थ्य निगरानीको अभावसँग जुधिरहेका छन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

बाढीबाट ज्यान जोगाएका गर्भवती तथा सुत्केरी आमाहरू विपद्पछि पनि सुरक्षित आवास, पर्याप्त पोषण र नियमित स्वास्थ्य निगरानीको अभावसँग जुधिरहेका छन्। फाइल तस्बिर : महिला पुनर्वास केन्द्र (ओरेक)

मनै सिरिङ्ग गराउने गरी उर्लिएको बाढीले जमिन थर्काउँदै बस्तीतिर सोझिँदा सिर्जना नगरकोटीको कोखमा सात महिनाको गर्भ हुर्किरहेको थियो। शरीर भारी थियो, पाइला चाल्न सहज थिएन। तर, ज्यान जोगाउने र कोखको शिशुलाई सुरक्षित राख्ने छटपटीले उनलाई दौडिन बाध्य बनायो।

बाढीबाट मुस्किलले २० मिटर जति टाढा पुगेकी मात्र के थिइन्, भाग्ने क्रममा उनी भुइँमा पछारिइन्। सात महिनाको गर्भवती शरीर लिएर लड्दाको त्यो क्षण कति पीडादायी र त्रासद थियो होला! उनको मनमा एउटै डर थियो—बाँचिन्छ कि बाँचिँदैन? कोखको बच्चालाई केही हुने त होइन?

दिमागले सोच्नै नसक्ने त्यो सन्त्रासबीच ज्यान जोगाउने एउटै सहारा बन्यो, नजिकैको गुम्बा रहेको अग्लो डाँडा। त्यही डाँडाले बाढीको भेल छेकिदिएकै कारण आज उनी सास फेरिरहेकी छन्।

तर, बाढीको भेल थामिए पनि सिर्जनाको मनको छटपटी र अनिश्चितता लामो समयसम्म थामिएन। विपद्को त्यो कहालीलाग्दो घडीमा विद्युत् सेवा अवरुद्ध थियो। चारैतिर भागदौड र अस्तव्यस्तता थियो। लडेपछि कोखभित्रको शिशुको अवस्था के छ भन्ने थाहा पाउनसमेत उनले तीन दिन कुर्नुपर्‍यो। अस्पतालमा बिजुली नहुँदा अल्ट्रासाउन्ड मेसिन चलाउन सकिएको थिएन। तीन दिनसम्म कोखको सन्तान सुरक्षित छ कि छैन भन्ने अनिश्चितता बोकेर बस्नु गर्भवती आमाका लागि कति ठूलो मानसिक पीडा थियो होला! चिकित्सकले अत्यधिक आत्तिएकाले त्यस्तो महसुस भएको र लडाइका कारण शिशुलाई कुनै असर नपरेको बताएपछि मात्र उनले केही राहतको सास फेरिन्।

सात महिनाकी गर्भवती हुँदा बाढीबाट ज्यान जोगाएकी सिर्जना नगरकोटी। बाढीका बेला लडेर घाइते भएकी उनले गर्भमा रहेको शिशुको अवस्थाबारे तीन दिनसम्म थाहा पाउन सकिनन्।

त्यसपछि उनले करिब २० दिन होल्डिङ सेन्टरमा बिताइन्। त्यहाँबाट केही लत्ताकपडा र सामान्य सहयोगबाहेक उनले अरू केही पाइनन्। लडेको करिब १० दिनपछि उनलाई एक्कासि रक्तस्राव भयो। आत्तिँदै अस्पताल पुगेकी उनलाई चिकित्सकले अत्यधिक तनाव र डरका कारण यस्तो समस्या देखिएको बताए। संयोगवश, त्यसपछि थप जटिलता आएन। अहिले भर्खरै जन्मेको शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

बाढीले उनको शरीर र मन मात्र थकाएन, वर्षौँको पसिना र सपना पनि एकै झट्कामा बगाइदियो। सिर्जना र उनका श्रीमान्ले निकै दुःख गरेर जम्मा गरेको पुँजीबाट दुईवटा व्यवसाय सञ्चालन गरिरहेका थिए—बुटिक र मासु पसल। करिब १५ वटा पसलमार्फत उनीहरूले ४० देखि ५० लाख रुपैयाँ लगानी गरेका थिए। त्यो लगानी केवल पैसा थिएन, उनीहरूको परिवारको भविष्य, भरोसा र सर्वस्व थियो। बाढीले सबै बगाइदिएपछि सुरुका दिनमा उनी पीडा र तनावले थिचिइन्। आज पनि त्यो दिन सम्झँदा मन भारी हुने र आँखा रसाउने गरेको उनले सुनाइन्।

बाढी आएको करिब तीन महिना बितिसकेको छ। विपद्पछिको पहिलो एक महिनासम्म राति सुत्दा पनि बाढी आएर आफूलाई बगाएजस्तो सपना देख्थिन्। अहिले भने त्यस्ता त्रासद सपना कम हुँदै गएका छन्। उनी मनलाई जेनतेन सम्हाल्दै सामान्य दैनिकीमा फर्कने प्रयास गरिरहेकी छन्।

तर, पीडा र अभावको अर्को पाटो अझै उस्तै छ। भाडाको जग्गामा व्यवसाय गरेर गुजारा चलाउँदै आएका उनीहरूलाई राज्य वा कुनै निकायबाट ठोस राहत र क्षतिपूर्ति मिलेको छैन। “पूर्ण क्षति र घर क्षति भएकाले मात्रै राहत पाउँछन् भन्ने सुनेकी छु,” उनले निराशा व्यक्त गरिन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

गर्भावस्था र सुत्केरी अवस्थामा राज्यबाट पाउनुपर्ने पोषणयुक्त खानेकुरा, खाद्यान्न वा शिशुका लागि आवश्यक लत्ताकपडासमेत उनले पाएकी छैनन्। केही समयअघि एउटा संस्थाले उनको नाम टिपेर लगे पनि अहिलेसम्म सहयोग नपुगेको उनले बताइन्।

बाढीको भेल त बगेर गयो, तर त्यसले छोडेका घाउ, गुमेको ४० देखि ५० लाख रुपैयाँको लगानी, भाडाको जग्गामा उभिएको अनिश्चित भविष्य र गर्भावस्थामा भोगेको मानसिक आघात सिर्जना नगरकोटी शिवभक्तिका लागि अझै ताजा छन्। जीवन र मृत्युको दोसाँधबाट फर्किएकी उनी अहिले पनि भरोसा, संरक्षण र न्यायोचित सहयोगको प्रतीक्षामा छिन्।

उकालोको दौड र गहिरो मानसिक आघात

यस्तै पीडादायी अनुभव छ, गोसाइँकुण्ड गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत निजामती कर्मचारी सम्झना न्यौपानेको पनि। भदौ १० गते बाढी आउँदा उनी आठ महिनाकी गर्भवती थिइन्। ढिलो गरी खाना खाने क्रममा एक्कासि मानिसहरू रोएको र कराएको आवाज सुनेपछि झ्यालबाट बाहिर हेर्दा सुनामी आएजसरी कालो मुस्लो उर्लिएर आइरहेको उनले देखिन्।

आठ महिनाको गर्भावस्था र अचानक उत्पन्न भएको त्रासका कारण उनलाई जुरुक्क उठ्नसमेत सकस पर्‍यो।

“भाग्नुपर्छ भन्ने त थाहा थियो, तर दिमागले कामै गरेन। खुट्टा चाल्न खोज्छु, चाल्नै सकिनँ,” उनले त्यो भयावह क्षण सम्झिइन्।

त्यही बेला एक सहकर्मीले उनलाई तानेर बाहिर निकाले। त्यसपछि दुई जना सहकर्मीसहित सबै जना छ्याम्बुङस्थित विद्यालयभन्दा माथिको उकालो डाँडातिर भागे। खोल्सो र उकालो बाटोमा गर्भवती शरीर लिएर कसरी उक्लिइन् भन्ने उनलाई अहिले पनि राम्ररी याद छैन।

उनी बस्ने कोठा बजारभन्दा केही माथि भए पनि तलका घर र पसलहरू बाढीले बगाएको थियो। तल्लो तलामा रहेको उनको कोठाको झ्यालबाट लेदो पसेको दृश्य सहकर्मीहरूले पछि भिडियोमार्फत देखाएका थिए।

बाढीको दिनको भयावह अनुभव सम्झँदा सम्झना न्यौपानेलाई अहिले पनि डर लाग्छ। आठ महिनाकी गर्भवती हुँदा ज्यान जोगाउन उकालो भागेकी उनले एक महिनाअघि शिशुलाई जन्म दिइन्।

बाढीमा सहकर्मी र उनीहरूका परिवारका सदस्य गुमाउनुपरेको पीडाले उनलाई गहिरो मानसिक आघात पुर्‍यायो।

“सुरुका १०–१५ दिन त निद्रै लागेन। अहिले पनि सपना देख्दा भागिरहेको देख्छु। खोला देख्दा तर्सिने बानी परेको छ,” उनले बताइन्।

बाढीपछि उद्धार, हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण र स्वास्थ्य परीक्षणमा राज्यले सहयोग गरे पनि अहिले सुत्केरी अवस्थामा पोषणलगायत थप सहयोग नपाएको उनको गुनासो छ। एक महिनाअघि शिशुलाई जन्म दिएकी सम्झना अहिले दाङस्थित घरपरिवार र आफन्तको साथमा छिन्। उनी क्रमशः सामान्य अवस्थामा फर्कने प्रयास गरिरहेकी छन्।

“बच्चाकै लागि भए पनि म ठीक हुनुपर्छ भन्ने लागेको छ,” उनले भनिन्।

तर, बाढीको घटनाले उनको मानसिक अवस्थामा अझै असर गरिरहेको छ। आफन्तहरूसँग भेट हुँदा पनि बाढीको कुरा बारम्बार उठ्ने र त्यसले आफू बसेको ठाउँसमेत सुरक्षित नरहेको जस्तो महसुस गराउने उनले बताइन्। भूकम्प आएर घरले थिच्ने हो कि भन्ने डरसमेत लाग्ने गरेको छ।

“यो सबै बाढीपछिको प्रभाव हो। बिस्तारै बिर्सने कोसिस गरिरहेकी छु, तर सहज भएको छैन,” उनले भनिन्।

नौ महिनाको गर्भ र शिशु नचल्दाको छटपटी

रसुवाको बाढी प्रभावित क्षेत्रकी सानो कान्छी तामाङको पीडा पनि उस्तै छ। बाढी आउँदा उनी नौ महिनाकी गर्भवती थिइन्। सुत्केरी हुने अन्तिम समय चलिरहेको थियो।

बिहान खाना बनाउने तयारी गर्दै घरभित्रै रहेका बेला तल चौरतिर ठूलो आवाज आयो र बाढी पस्यो। बजारभन्दा केही माथि घर भए पनि तल रहेका श्रीमान्लाई फोन गर्दा सम्पर्क हुन सकेन।

“फोन नलागेपछि अब उहाँ हुनुहुन्न कि जस्तो लाग्यो। आत्तिँदै रुँदै बसेँ,” उनले त्यो क्षण सम्झिइन्।

त्यही बेला भान्जाले उनको हात समातेर उकालो बाटो हुँदै माथिको विद्यालयतिर लगे। नौ महिनाको गर्भवती शरीर लिएर कसरी उक्लिइन् भन्ने उनलाई अहिले पनि राम्ररी याद छैन। करिब १० मिनेट दौडिएपछि एम्बुलेन्सको सहायताले उनलाई विद्यालयसम्म पुर्‍याइयो।

विद्यालय पुगेको करिब एकदेखि डेढ घण्टापछि मात्र श्रीमान् सकुशल रहेको खबर पाएपछि उनी केही ढुक्क भइन्। तर, भाग्ने क्रममा भएको अत्यधिक दौडधुपका कारण दुईदेखि तीन घण्टासम्म कोखको शिशु नचलेपछि उनी झनै आत्तिइन्। पछि नेपाली सेनाको हेलिकप्टरबाट धुन्चे पुर्‍याएर स्वास्थ्य परीक्षण गर्दा शिशुको धड्कन सामान्य रहेको जानकारी पाएपछि मात्र उनले राहतको सास फेरिन्।

बाढीमा आफन्त गुमाउनुपरेको पीडा र अस्थायी आश्रयस्थलको भिडभाडबाट टाढा रहन उनी काठमाडौँस्थित भाइको कोठामा बसिन्। अहिले भने नुवाकोटस्थित माइतीघरमा छिन्।

“पहिला त हप्तामा एकचोटि जस्तो बाढी र आफन्तहरूको सम्झना आउँथ्यो। एक्लै हुँदा यस्तो नसोचेको घटना कसरी भयो भन्ने कुरा मनमा खेलिरहन्थ्यो,” उनले बताइन्।

पहिलो सन्तानका रूपमा शिशुलाई सामान्य प्रसूति प्रक्रियाबाट जन्म दिएपछि र स्याहारसुसारमा व्यस्त हुन थालेपछि भने मन केही भुल्दै गएको उनको भनाइ छ। अहिले अवस्था सामान्य बन्दै गएको छ।

बाढी प्रभावित क्षेत्रमा विस्थापितहरूलाई राखिएको एक आश्रयस्थलमा शिशुलाई स्तनपान गराउँदै एक आमा । फाइल तस्बिर : महिला पुनर्वास केन्द्र (ओरेक)

तर, घटनाको सम्झनाले अझै छोडेको छैन।

“एक्लै हुँदा यस्तो कसरी भयो, साँच्चै नै भएको हो र जस्तो लाग्छ। सँगै रहेका धेरै साथी र आफन्तहरू अहिले पनि छेउमै आएर बोलाएजस्तो लाग्छ। बिर्सन सजिलो त नहुने रहेछ,” उनले भनिन्।

सरकारले गर्भवती तथा सुत्केरी महिलाका लागि दिने भनिएको १५ हजार रुपैयाँको सुविधा पाए पनि स्वास्थ्य र पोषणका विषयमा राज्यबाट नियमित सोधपुछ वा अनुगमन नभएको उनको गुनासो छ। काठमाडौँमा रहँदा गुम्बाबाट प्राप्त राहत सामग्री उनका श्रीमान्ले ल्याइदिने गरेका थिए। तर, माइतीघर आएपछि थप सहयोग पाएकी छैनन्।

“केही समयमा आउला कि भनेर कुरिरहेकी छु,” उनले भनिन्।

जस्तापाताको आश्रयमा चिसोसँग संघर्ष

२४ वर्षीया सबिना तामाङ सात महिनाकी गर्भवती छिन्। यस विपद्मा उनले आफ्ना श्रीमान्, आमा, बुबा र काकालाई गुमाएकी छन्। अहिले उनी जस्तापाताले बनेको अस्थायी आश्रयस्थलमा बसिरहेकी छन्। परिवारका चार सदस्य गुमाएको पीडामाथि थपिएको छ, जाडोको चिसो र सुरक्षित बासस्थानको अभाव।

उनले अस्थायी आश्रयस्थलमा चिसो दिनप्रतिदिन असह्य हुँदै गएको बताइन्। “यहाँ चिसो सहनै नसकिने गरी बढ्दै गएको छ,” उनले भनिन्।

जस्तापाताको छानामुनि बस्दा रातको तुषारोले चिसो झन् बढाउने गरेको उनको अनुभव छ। “जाडोको तुषारोले जस्तापातालाई झन् चिसो बनाउँछ। मसँग जाने ठाउँ पनि कतै छैन,” उनले भनिन्।

सात महिनाको गर्भ बोकेर श्रीमान् र परिवारका सदस्य गुमाएकी सबिनाका लागि अहिलेको चुनौती शारीरिक चिसो मात्र होइन, प्रियजन गुमाउँदाको पीडा र सुरक्षित आश्रयको अभाव पनि हो। गर्भावस्थामा आवश्यक पोषण, न्यानो बासस्थान र नियमित स्वास्थ्य निगरानीको पहुँच नहुँदा उनीजस्ता महिलाको जोखिम थप बढ्न प्रसूति विशेषज्ञहरुको भनाई छ।

बाढीबाट ज्यान जोगाएका गर्भवती तथा सुत्केरी महिलाका लागि विपद् सकिएको छैन। उनीहरूका लागि सुरक्षित बासस्थान, पोषण र स्वास्थ्य सेवाको अभाव अझै अर्को संघर्ष बनेको छ।

पोषण कार्यक्रमको दाबी र पहुँचको प्रश्न

बाढीबाट प्रत्यक्ष प्रभावित गर्भवती तथा सुत्केरी महिलाहरूले राज्यबाट पोषणयुक्त खानेकुरा र नियमित स्वास्थ्य निगरानी नपाएको गुनासो गरिरहेका छन्। तर, स्वास्थ्य मन्त्रालयका स्वास्थ्य तथा पोषणसम्बन्धी अधिकारीहरूले भने प्रभावित १५ वटा पालिकामा अन्तर्राष्ट्रिय दातृ निकायसँगको समन्वयमा व्यापक पोषण कार्यक्रम सञ्चालन भइरहेको दाबी गरेका छन्।

अधिकारीहरूका अनुसार बाढी गएलगत्तै प्रभावित १५ पालिकामा पोषण परीक्षण शिविर सञ्चालन गरी पाँच हजारभन्दा बढी बालबालिकाको स्वास्थ्य जाँच गरिएको थियो। उक्त परीक्षणका क्रममा १३ जना बालबालिकामा गम्भीर शीघ्र कुपोषण (एसएएम) देखिएको थियो। कुपोषित तथा मध्यम शीघ्र कुपोषण (एमएएम) भएका बालबालिकाको उपचारका लागि राष्ट्रिय प्रोटोकलअनुसार विशेष पोषणयुक्त खाद्य सामग्री आरयुटीएफ (रेडी टु युज थेराप्युटिक फुड) र आरयुएसएफ (रेडी टु युज सप्लिमेन्टरी फुड) वितरण गरिएको उनीहरूको भनाइ छ।

अधिकारीहरूका अनुसार गर्भवती, सुत्केरी, विपद्का क्रममा गर्भपतन भएका महिला तथा पाँच वर्षमुनिका बालबालिका भएका परिवारलाई लक्षित गरी युनिसेफ, हेलेन केलर इन्टरनेसनल, केयर नेपाल र विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा विशेष सहायता प्याकेज उपलब्ध गराइएको छ।

“वडा र पालिकासँगको समन्वयमा परिवारका सदस्य सङ्ख्या हेरेर चामल, दाल, आवश्यक खाद्यान्न र फलफूलसहितको खाद्य सामग्रीको प्याकेज उपलब्ध गराएका छौँ,” एक स्वास्थ्य अधिकारीले भने। “महिनाभरिका लागि हरियो तरकारी प्याकेजमा दिन सम्भव नहुने भएकाले ताजा तरकारी र पोसिलो खानेकुरा किन्न प्रतिपरिवार नगद सहयोगसमेत दिइएको छ।”

स्वास्थ्य निकायले बाढी प्रतिकार्यका लागि छमहिने कार्ययोजना लागू गरेको जनाएको छ। जसअन्तर्गत सुरुका तीन महिना खाद्यान्न प्याकेज र त्यसपछिका तीन महिना नगद सहयोग उपलब्ध गराउने योजना छ। यसका साथै सबै प्रभावित पालिकामा नेपाल सरकारका तर्फबाट घरभाडा व्यवस्थापनका लागि समेत बजेट विनियोजन भइसकेको अधिकारीहरूले बताएका छन्।

विपद्को एक महिनापछि पोषणको दीर्घकालीन असर देखिन सक्ने भएकाले समुदायस्तरमै पुनः परीक्षण गरी कुपोषित बालबालिकाको खोजी र नियमित अनुगमन भइरहेको पनि उनीहरूको दाबी छ।

“पोषणमा समस्या नआओस् भनेर स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र थप परिचालित कर्मचारीलाई तालिम दिएर घरदैलो अभियान, आमा समूहको बैठक तथा स्तनपान निरन्तरतासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” ती अधिकारीले बताए।

तर, सरकारी निकाय र साझेदार संस्थाहरूले १५ पालिकामा पाँच हजार बालबालिकाको स्वास्थ्य परीक्षण, छमहिने कार्ययोजना, खाद्यान्न प्याकेज र नगद हस्तान्तरणजस्ता कार्यक्रम सञ्चालन भइरहेको दाबी गरे पनि प्रभावित आमाहरूको अनुभवले ती कार्यक्रमको वास्तविक पहुँचमाथि प्रश्न उठाएको छ।

अस्पताल उपचार, होल्डिङ सेन्टर र क्षतिको तथ्याङ्क

बाढीपछि स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा २१ हजार ३९१ जनालाई सेवा प्रदान गरिएको थियो। रसुवा, धादिङ, काठमाडौँ र नुवाकोटमा सञ्चालित अधिकतम ३८ वटा होल्डिङ सेन्टरमा रहेका जोखिमपूर्ण समूहका व्यक्तिहरूमध्ये २७ जना गर्भवती, ७८ जना स्तनपान गराइरहेका आमा, चार जना सुत्केरी, दुई वर्षमुनिका ५० बालबालिका, पाँच वर्षमुनिका १५६ बालबालिका, ६० वर्षमाथिका २०३ ज्येष्ठ नागरिक र अपाङ्गता भएका २७ जना थिए।

यसैगरी, किटनी माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा ४९ बालबालिका, नौ शिक्षक, एक विद्यालय कर्मचारी र पाँच कर्मचारी गरी कुल ६४ जना रहेका थिए।

तर, सरकारसँग उद्धार गरी होल्डिङ सेन्टरमा राखेका गर्भवती तथा सुत्केरी महिलाहरूको पछिल्लो अवस्थाबारे स्पष्ट विवरण उपलब्ध छैन। उनीहरू अहिले कहाँ र कस्तो अवस्थामा बसिरहेका छन्, पोषण तथा स्वास्थ्य सेवाको व्यवस्था पर्याप्त छ कि छैन भन्ने विषयमा समेत अन्योल देखिन्छ।

बाढीले सार्वजनिक स्वास्थ्य सेवाका संरचना र जनशक्तिमा समेत असर पारेको छ। उपलब्ध तथ्याङ्कअनुसार चारवटा स्वास्थ्य संस्था पूर्ण रूपमा नष्ट भएका छन् भने तीनवटा आंशिक रूपमा प्रभावित भएका छन्। यसैगरी, दुईवटा खोप केन्द्र, एउटा पोषण केन्द्र र दुईवटा भण्डारण कक्षमा क्षति पुगेको छ।

प्रभावित स्वास्थ्य जनशक्तिमा १२ जना स्वास्थ्यकर्मी, एक जना मनोसामाजिक परामर्शदाता र आठ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। आपत्कालीन सेवाका लागि ३४ वटा आपत्कालीन चिकित्सा टोलीका १४९ जनशक्ति तथा ३३ वटा फरेन्सिक टोलीका ५३ जनशक्ति परिचालन गरिएको थियो।

गर्भवती महिलाको तथ्याङ्क हेर्दा विदुरका विभिन्न स्वास्थ्य केन्द्र तथा इकाइमा २१७ जना गर्भवती दर्ता भएका छन्। तीमध्ये १७ जनाले काठमाडौँमा प्रसूति गराएका छन्।

रसुवाका विभिन्न पालिकामा १३४ जना गर्भवती रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ। तीमध्ये उत्तरगयामा १९, गोसाइँकुण्डमा ६, आमाछोदिङ्मोमा २९, नौकुण्डमा ४६ र कालिकामा ३४ जना छन्।

प्रसूति अवस्थामा शारीरिक र मानसिक जोखिम

बाढीपहिरोजस्ता प्राकृतिक विपद्को असर सामान्य नागरिकको तुलनामा गर्भवती, सुत्केरी महिला, नवजात शिशु तथा साना बालबालिकामा बढी पर्ने स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. कृष्ण खनालले बताएका छन्। विशेषगरी भोटेकोशी र रसुवा क्षेत्रमा आएको बाढीपहिरोपछि आमा र शिशुको स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन दुवै प्रकारका गम्भीर असर देखिन सक्ने उनको विश्लेषण छ।

डा. खनालका अनुसार विपद्को भागदौड र त्रासपूर्ण अवस्थामा गर्भवती महिलाको गर्भ खेर जाने, समय नपुग्दै प्रसव व्यथा लाग्ने तथा समयअगावै शिशु जन्मिने जोखिम उच्च हुन्छ। भाग्ने क्रममा लड्दा वा चोटपटक लाग्दा पाठेघरबाट साल समयअगावै छुट्टिने, अत्यधिक रक्तस्राव हुने र समयमै अस्पताल पुग्न नसक्दा बाटोमै जटिलता उत्पन्न हुने सम्भावना रहन्छ।

विपद्पछि केही समय बित्दै जाँदा पोषणको कमी र संक्रमणका कारण थप जोखिम उत्पन्न हुने डा. खनाल बताउँछन्। पौष्टिक आहारको अभावमा गर्भवती तथा सुत्केरी महिलामा रक्तअल्पता (एनिमिया) हुन सक्छ। गर्भभित्रै शिशुको वृद्धि तथा विकास प्रभावित हुने समस्या (आईयूजीआर) पनि देखिन सक्छ।


प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कृष्ण खनाल। बाढीपहिरोजस्ता विपद्का बेला गर्भवती र सुत्केरी महिलामा गर्भपतन, समयअगावै प्रसूति, रक्तस्राव, संक्रमण तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने उनी बताउँछन्। उनका अनुसार यस्ता महिलालाई नियमित स्वास्थ्य परीक्षण, पोषण र मनोसामाजिक परामर्शको आवश्यकता हुन्छ।

यसका साथै बाढीपहिरोपछि दूषित पानी, असुरक्षित खाना र सरसफाइको कमीले झाडापखाला, टाइफाइड, निमोनिया, मलेरिया तथा डेङ्गुजस्ता संक्रमण फैलिन सक्छन्। यस्ता संक्रमणले आमा तथा शिशुको स्वास्थ्य अवस्था बिगार्नुका साथै मृत्युदरसमेत बढाउन सक्ने उनी बताउँछन्।

मानसिक स्वास्थ्यका दृष्टिले पनि विपद्को असर गम्भीर हुन सक्ने उनको भनाइ छ। गर्भवती तथा सुत्केरी महिलामा पहिलेदेखि नै हुन सक्ने प्रसवोत्तर मानसिक स्वास्थ्य समस्याको जोखिम विपद्ले थप बढाउन सक्छ। घटनापछि लामो समयसम्म त्रास, डर, अनिद्रा, खान मन नलाग्ने र एउटै घटनाबारे बारम्बार सोचिरहने समस्या देखिएमा त्यसलाई पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) अर्थात् आघातपछिको तनाव विकारका रूपमा लिन सकिने उनी बताउँछन्।

डा. खनालका अनुसार प्रसवोत्तर डिप्रेसनभन्दा पनि प्रसवोत्तर साइकोसिस अझ गम्भीर अवस्था हो। यस्तो अवस्थामा आमालाई आफूमा समस्या भएको थाहा नहुन सक्छ। शिशु वा आफन्तलाई नचिन्ने, उनीहरूप्रति वास्ता नगर्ने वा कहिलेकाहीँ आफूलाई अथवा शिशुलाई हानि पुर्‍याउने जोखिमसमेत हुन सक्छ। गम्भीर अवस्थामा आत्महत्याको जोखिम पनि रहन्छ।

तत्काल उद्धारदेखि दीर्घकालीन व्यवस्थापनसम्म

विपद्पछिको असर न्यूनीकरण गर्न तत्काल उद्धार गरी प्रभावितलाई सुरक्षित स्थानमा सार्ने, सुरक्षित खानपान, लत्ताकपडा र बासस्थानको व्यवस्था गर्ने तथा संक्रमण रोकथामका उपाय अपनाउनुपर्ने डा. खनाल बताउँछन्। स्वास्थ्य संस्थामा नियमित परीक्षण र सुरक्षित प्रसूतिको व्यवस्था गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ छ।

आधारभूत आवश्यकता पूरा नगरी केवल परामर्श दिएर मात्र प्रभावकारी नतिजा प्राप्त नहुने उनको तर्क छ। त्यसैले पहिले गाँस, बास र सरसफाइको सुनिश्चितता गर्दै सँगसँगै मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने उनले बताए।

सुरुका कठिन दिनमा दैनिक वा तीन–तीन दिनमा र त्यसपछि साप्ताहिक तथा मासिक रूपमा नियमित परामर्श र स्वास्थ्य अनुगमन गर्नुपर्ने उनको सुझाव छ। कुनै सुत्केरी महिला अत्यधिक तनाव वा साइकोसिसको अवस्थामा पुगेर खान र सुत्न छाड्ने, आफूलाई सम्हाल्न नसक्ने वा आत्महत्याको सोच राख्ने अवस्थामा पुगेमा मनोचिकित्सकको सहयोग आवश्यक हुन्छ। त्यस्तो अवस्थामा चिकित्सकको निगरानीमा औषधि उपचार गरेर अवस्था सुधार भएपछि क्रमशः उपचार घटाउँदै लैजान सकिने उनले बताए।

शिशुमा पर्न सक्ने दीर्घकालीन असरबारे डा. खनालले समयमै उद्धार, पोषण र उपचार पाएमा शारीरिक वृद्धि तथा विकासमा ठूलो समस्या नआउने स्पष्ट पारे। तर, समयमै उपचार र स्याहार नपाएमा, चिसोबाट जोगाउन नसकेमा वा समयमा स्तनपान गराउन नसकेमा शिशुको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पर्न सक्छ।

घटना बुझ्न सक्ने उमेरका बालबालिकामा बाढी, क्षति वा आफन्त गुमाएको दृश्यले त्रास र पीटीएसडीको असर देखिन सक्छ। तर, एकदेखि दुई वर्षमुनिका शिशुलाई घटनाको स्पष्ट स्मरण नरहने भएकाले उनीहरूको आधारभूत आवश्यकता पूरा गरिएमा विकासमा ठूलो समस्या नआउने डा. खनालको निष्कर्ष छ।

लेखक दिपेन्द्र ढुंगाना

दिपेन्द्र ढुंगाना मल्टिमिडिया पत्रकार हुन्। नेपालका राष्ट्रिय मिडियामा १० वर्षभन्दा बढी काम गरेका ढुंगानाले विशेषगरी नेपाली अध्यागमन, पर्यटन, सामाजिक मुद्दा, ग्रामीण जनजीवन र राजनीतिक आन्दोलनबारे रिपोर्टिङ गर्दै आएका छन्। सन् २०२५ मा काठमाडौँमा प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा गोली लागेर उनी गम्भीर घाइते भएका थिए।

यस लेखकका थप समाचार →