क्यालिफोर्नियामा ४५ दिने अध्यागमन अभियान: सान डिएगोमा थुप्रै आप्रवासी नियन्त्रणमा


प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार

तस्वीर : आइस

सान डिएगो काउन्टीभरिका समुदायका सदस्य तथा स्थानीय अधिकारीहरूले अध्यागमन कार्यान्वयन गतिविधिमा वृद्धि भएको प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। सिटी हाइट्स, एल काहोन, स्प्रिङ भ्याली, सान मार्कोस र एस्कोन्डिडो लगायतका क्षेत्रहरूमा धेरै व्यक्तिहरू पक्राउ परेको विवरण प्राप्त भएको छ।

अमेरिकी आइसले क्यालिफोर्नियामा “अपरेसन सेफ क्यालिफोर्निया” नामक ४५ दिने अभियान चलाइरहेका बेला यो कारबाही तीव्र पारिएको हो। आइस नेतृत्वले टोलीलाई आपराधिक पृष्ठभूमि भए/नभएका सबै कागजातविहीन आप्रवासीहरू भेटिएमा पक्राउ गर्न निर्देशन दिएको छ।

यस विषयमा अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एक वक्तव्य जारी गर्दै भनेको छ,सञ्चालनको सुरक्षा र हाम्रा अधिकारीहरूको सुरक्षाका लागि, आइसले कानून कार्यान्वयनका गतिविधिहरूबारे पूर्वजानकारी दिने वा छलफल गर्ने गर्दैन। होमल्यान्ड सेक्युरिटीले देशभरि दिनहुँ राष्ट्रका कानूनहरू कार्यान्वयन गर्दै आएको छ।

सान डिएगो काउन्टीभरि समुदाय स्तरमा अनुगमन गर्ने संस्था ‘युनियन डेल बारियो’  का सदस्यहरूले पछिल्ला दिनहरूमा धेरै गिरफ्तारीहरू अभिलेखबद्ध गरिएको बताएका छन्।

युनियन डेल बारियोकी सदस्य एड्रियाना हासोका अनुसार, बुधबार मात्रै करिब डेढ घण्टाको अवधिमा ६ जना पक्राउ परेको उनीहरूले तथ्याङ्क राखेका छन्। यी पक्राउहरू एल काहोन, नर्थ पार्क, स्प्रिङ भ्याली, सान मार्कोस र सिटी हाइट्स क्षेत्रमा भएका हुन्।

हासोले भनिन्, “हामीले पूरै काउन्टीभरि आइसको उपस्थिति र सक्रियता निकै बढेको देखेका छौँ।” उनले मङ्गलवार र बुधबारदेखि कार्यान्वयन टोली र तिनीहरूका गाडीहरूको सङ्ख्या बढेको स्पष्ट पारिन्।

युनियन डेल बारियोले ओसियनसाइडदेखि चुला भिस्टासम्म समुदाय स्तरमा पहरा दिने काम गर्दछ। स्थानीय बासिन्दाहरूले आफ्ना टोलमा अध्यागमन कारबाही भए/नभएको पुष्टि गर्न सहयोग माग्दा यस संस्थाका सदस्यहरूले मद्दत गर्ने गर्दछन्। उनीहरूले आफ्नै आँखाले देखेका दृश्यहरू रेकर्ड गर्ने तथा केही अवस्थामा गिरफ्तारको लाइभस्ट्रिम पनि गर्ने गर्छन्।

हासोका अनुसार स्थानीय बासिन्दाहरूबाट आउने फोन तथा म्यासेजको सङ्ख्या ह्वात्तै बढेको छ। उनले भनिन्, “हाम्रो काउन्टीमा समुदायबाट यति धेरै सूचना र सम्पर्क आएको मैले पहिले कहिल्यै देखेकी थिएन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबिच, अध्यागमन वकिल एडम पेन्याले अध्यागमन अधिकारीहरूसँग जम्काभेट हुँदा कागजातविहीन आप्रवासीहरू हिरासतमा पर्ने र देश निकाला हुन सक्ने जोखिम उच्च रहने बताएका छन्। पेन्याले सङ्घीय एजेन्टहरूले रोकेमा आफ्ना संवैधानिक अधिकारहरूबारे सचेत रहन सल्लाह दिएका छन्।

पेन्याले भने, “तपाईँले आफ्नो पाँचौँ संशोधनको संवैधानिक अधिकार प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरा जान्नुहोस्। वकिलको उपस्थिति बिना सङ्घीय एजेन्टसँग नबोल्ने र उनीहरूका प्रश्नको उत्तर नदिने अधिकार तपाईँसँग छ।”

यस्तै, अदालतका न्यायाधीशले हस्ताक्षर गरेको न्यायिक वारेन्ट बिना सङ्घीय एजेन्टहरू अनुमतिविना कसैको घरभित्र छिर्न नपाउने पेन्याले स्पष्ट पारेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com