प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी कार्यवाहक राजदूतले भनिन् – ‘राहत र पुनर्निर्माणमा सहयोग गर्न तयार छौं’


प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको शिष्टाचार भेटमा उनीहरूबीच भोटेकोशी बाढीपछिको राहत, पुनःस्थापना तथा पुनर्निर्माणलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे । उनले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै यस्ता घटनाको सामना गर्न जलवायु परिवर्तनका असरलाई समेत ध्यान दिनुपर्ने बताए ।

प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।

भेटका क्रममा उनले नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे पनि चर्चा गरे । साथै, नेपालमा अमेरिकी लगानीलाई स्वागत गर्ने बताए ।

यस्तै, कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन् ।

उनले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताइन् । राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको पनि उनले जानकारी गराइन् ।

बोल्डिनले हराइरहेका अमेरिकी नागरिकको खोजी कार्यमा नेपाल सरकारले गरेको सहयोगका लागि प्रधानमन्त्री शाहलाई धन्यवाद दिइन् । साथै, आफ्ना प्रियजनको अवस्थाबारे जानकारीको प्रतीक्षा गरिरहेका अमेरिकी तथा नेपाली परिवारलाई आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले विपद् पीडितको पहिचानका लागि नेपाल प्रहरीलाई एफबीआईले गरिरहेको निरन्तर सहयोगबारे पनि चर्चा गरिन् ।

उनले बाढीपछिको राहत तथा पुनर्लाभका प्रयासमा नेपाल सरकारसँग मिलेर काम गर्ने अमेरिकी प्रतिबद्धता दोहोर्‍याइन् । भेटमा विपद्पछिको पुनर्लाभमा सहयोग पुर्‍याउन अमेरिकाले उपलब्ध गराएको ५० लाख अमेरिकी डलरभन्दा बढी मूल्यको जीवनरक्षक स्वास्थ्य, मानवीय तथा फरेन्सिक सहयोगबारे पनि छलफल भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, नेपालको पुनर्लाभ तथा दीर्घकालीन आर्थिक वृद्धिमा सहयोग पुर्‍याउन अमेरिकी र नेपाली व्यवसायका लागि अवसर विस्तार गर्ने तथा आर्थिक र व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने सम्भावनाबारे पनि छलफल भएको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com