न्युयोर्कमा ट्रेनको ठक्करबाट दुई २४ वर्षीयको मृत्यु, युवक नेपाली मूलका नभएको पुष्टी
प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार
न्युयोर्कको म्यानहटनस्थित सबवे स्टेसनमा आइतबार बिहान रेलको ट्र्याकमा पुगेका दुई २४ वर्षीय युवायुवतीको तीव्र गतिमा आएको रेलको ठक्करबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा न्युजर्सीको डेटनकी २४ वर्षीया मलाइका चित्रे र सेरेभिलका २४ वर्षीय नवम कौल रहेका छन्। उनीहरू दुबैजना भारतीय मूलका भएको पुष्टी भएको छ। कौल नेपाली मूलका अमेरिकी भएको भन्दै विवरणहरु सार्वजनिक भएतापनि परिवार निकट श्रोतले उनी नेपाली मूलका नभएको पुष्टी गरेको हो ।
“उनीहरु नेपालीमूलका होइनन्। उनीहरुको सबै परिवार भारतीय मूलको हो । उनीहरु भारतको दिल्लीबाट अमेरिकामा आएका हुन् । अहिले पनि उनीहरुको दिल्लीमा नै घर रहेको छ। नेपाली मूलका भन्दै आएका सबै विवरणहरु गलत हुन्” परिवार निकट श्रोतले खसोखासलाई जानकारी दिएको छ। उनको भोलि न्युजर्सीमा नै अन्तिम संस्कारको तयारी भइरहेको पनि परिवार निकट श्रोतले जानकारी दिएको छ।
“यो घटनाबाट हामी निकै स्तब्ध भएका छौं। कौलका परिवारका सदस्यहरु र साथीहरु हामीसबै स्तब्ध भएका छौं । परिवारका सदस्यहरुलाई प्रहरीले घटनाको भिडियो पनि देखाएको थियो । तर सामाजिक सञ्जाल र कतिपय मिडियामा भने घटनाबारे विभिन्न गलत विवरणहरु आएका छन्,” परिवार निकट श्रोतले भन्यो।
दुवैले न्युजर्सीस्थित रटगर्स विश्वविद्यालयमा अध्ययन गरेका थिए। घटना लोअर म्यानहटनस्थित स्प्रिङ स्ट्रिट सबवे स्टेसनमा आइतबार बिहान करिब ३ बजेर १४ मिनेटमा भएको हो। उनीहरू डाउनटाउनतर्फ जाँदै गरेको नम्बर ४ को रेलको ट्र्याकमा पुगेका थिए।
रेल चालकले ट्र्याकमा दुई जना देखेपछि आपत्कालीन ब्रेक लगाएका थिए। तर रेल समयमै रोक्न नसक्दा दुवैलाई ठक्कर लागेको थियो। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक विवरणअनुसार कौल पहिले ट्र्याकमा खसेको हुन सक्ने र त्यसपछि चित्रे उनलाई सहयोग गर्न ट्र्याकमा ओर्लिएको हुन सक्ने बताइएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाअघि खिचिएको भनिएको एउटा भिडियोमा रेल आउनुअघि एक जनाले अर्कोलाई ट्र्याकबाट तानेर सुरक्षित स्थानतर्फ लैजान खोजेको देखिएको छ। चित्रेले रेल आउनुभन्दा केही समयअघि कौललाई आफूतर्फ तान्ने प्रयास गरेकी थिइन्।
तर उनीहरू सुरुमा कसरी ट्र्याकमा पुगे भन्ने कुरा प्रहरीले अहिलेसम्म निश्चित रूपमा सार्वजनिक गरेको छैन। परिवार निकट श्रोतले भने भिडियो हेर्दा उनी दुर्घटनावश ट्रयाकमा खसेको देखिएको बताएको छ।
दुवैको शव रेलका तेस्रो र चौथो डब्बामुनिबाट निकालिएको थियो। घटनाका बेला रेलमा करिब १०० यात्रु रहेको बताइएको छ। दुर्घटनापछि उनीहरूको शव रेलबाट निकालेर प्लेटफर्ममा ल्याइएको थियो।
स्प्रिङ स्ट्रिट स्टेसनमा रेल प्रवेश गर्ने क्रममा चालकले चित्रे र कौललाई ट्र्याकमा देखेका थिए। त्यसपछि उनले तत्काल आपत्कालीन ब्रेक लगाए पनि रेल दुवैलाई ठक्कर दिनुअघि पूर्ण रूपमा रोकिएन। रेल रोकिँदा त्यसका १० मध्ये चारवटा डब्बा स्टेसनभित्र प्रवेश गरिसकेका थिए।
चित्रेले मे २०२४ मा रटगर्स–न्यु ब्रन्सविकस्थित स्कुल अफ आर्ट्स एन्ड साइन्सेजबाट विज्ञानमा स्नातक उपाधि हासिल गरेकी थिइन्। उनको व्यावसायिक विवरणअनुसार उनी अकाडिया फार्मास्युटिकल्समा अपरेसन स्पेसलिस्टका रूपमा कार्यरत थिइन्।
कौलले सन् २०२० देखि २०२४ सम्म रटगर्स बिजनेस स्कुलमा अध्ययन गरेका थिए। उनको व्यावसायिक विवरणअनुसार उनी ब्लुमबर्गमा वित्तीय डेटा विश्लेषकका रूपमा कार्यरत थिए।





