अमेरिकी इतिहासकै ठूलो अध्यागमन छापामार कारबाहीविरुद्ध ३०० भन्दा बढी कोरियाली कामदारको प्रशासनिक दाबी
प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार
फोटो: होमल्याण्ड सेक्युरिटी
गत वर्ष अमेरिकाको जर्जियास्थित हुण्डाई इलेक्ट्रिक सवारी साधन निर्माण प्लान्टमा भएको अध्यागमन छापा मारिएका ३०० भन्दा बढी दक्षिण कोरियाली कामदारहरूले अमेरिकी सरकारविरुद्ध कानुनी चुनौती सुरु गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएको अहिलेसम्मकै ठूलो अध्यागमन कारबाहीविरुद्ध परेको यो पहिलो ठूलो कानुनी मुद्दा हो।
संघीय अदालतमा मुद्दा दायर गर्नुअघि पूरा गर्नुपर्ने अनिवार्य प्रक्रियाअन्तर्गत, कामदारहरूका तर्फबाट होमल्यान्ड सेक्युरिटी, आइस, सीबीपी, एफबीआई, जस्टिस डिपार्टमेन्ट र श्रम मन्त्रालयलगायत नौ वटा संघीय निकायहरूमा प्रशासनिक दाबी दर्ता गराउन थालिएको छ। कामदारहरूको तर्फबाट वकालत गरिरहेकी एक कोरियाली-अमेरिकी वकिलले यसै वर्षको अन्त्यसम्ममा सबै कामदारका दाबीहरू दर्ता गरिसक्ने लक्ष्य राखेकी छन्।
४ सेप्टेम्बर २०२५ मा जर्जियाको एलाबेलस्थित हुण्डाई र एलजीको संयुक्त ब्याट्री प्लान्टमा करिब ५०० जना अधिकारीहरूले छापा मारेका थिए। सो कारबाहीका क्रममा ४७५ जना कामदारहरूलाई नियन्त्रणमा लिइएको थियो, जसमध्ये अधिकांश दक्षिण कोरियाली नागरिक थिए। अदालतको वारेन्टअनुसार छापा मार्दा केवल चार जना निश्चित व्यक्तिहरूलाई मात्र लक्ष्य बनाइएको थियो, जसमा नियन्त्रणमा लिइएका कोरियाली कामदारहरूको नाम समावेश थिएन।
नियन्त्रणमा लिइएका कामदारहरूले आफूहरूलाई कुनै स्पष्टीकरण वा दोभाषे बिना गैरकानुनी रूपमा पक्राउ गरिएको, नेलगायत हथकडी लगाइएको र नबुझिने कागजातहरूमा जबर्जस्ती हस्ताक्षर गराइएको आरोप लगाएका छन्। साथै, उनीहरूलाई ओभरक्राउडेड र अमानवीय अवस्थामा राखिएको बताइएको छ।
दाबीपत्रमा गैरकानुनी थुना, मानसिक यातना र जफत गरिएका सामान तथा गुमेको कामको क्षतिपूर्तिको माग गरिएको छ। अमेरिकी सरकारले भने यो कारबाही गैरकानुनी रोजगारीसम्बन्धी अनुसन्धानका क्रममा अदालतको आदेशअनुसार गरिएको दाबी गर्दै आएको छ।





