नारायणगढ र भरतपुरको फुटपाथ हटाइयो


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

भरतपुर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ हटाउन सुरु गरेको छ । नगरपालिकाले नारायणढ र भरतपुर बजार क्षेत्रको फुटपाथ हटाएको हो । फुटपाथबाट व्यवसायी हटेपछि भरतपुर र नारायणगढ बजार क्षेत्र व्यवस्थित देखिएको छ । लामो समयदेखि भरतपुर महानगरपालिकाले फुटपाथबाट व्यवसायीलाई हटाउने पहल अघि बढाएको थियो ।

भरतपुरको मालपोतचोक, हाकिमचोक, चौबीसकोठी, वीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पुलचोक, मिलनरोड, मेनरोडलगायतका बजार क्षेत्रबाट फुटपाथ पसल र ठेलागाडा हटाइएको हो । फुटपाथ हटाएसँगै बजार व्यवस्थित सुन्दर देखिएको छ ।

व्यवसायीलाई नयाँ व्यवस्था
लामो समयदेखि नारायणगढको फुटपाथमा फलफूल बेच्दै आएकी फुटपाथ व्यवसायी संघकी उपाध्यक्ष रूपा धितालले पानी र बिजुलीको व्यवस्था गरी टहरा बनाइदिने हो भने जुत्ता, चप्पल र कपडा बिक्री गर्नेहरूका लागि महानगरले अहिले तोकेको ठाउँ उपयुक्त हुने बताइन् । सहमतिविपरीत कसैले अटेर गरेर सडकमा सामान राखेमा पक्राउ गरी कानुनी कारबाही गर्ने महानगरले जनाएको छ ।

भरतपुर र नारायणगढ क्षेत्रमा रहेका करिब पाँचसय फुटपाथ व्यवसायीलाई महानगरले बालकुमारी कन्या माविको जग्गामा व्यवसाय गर्ने वातावरण मिलाएको छ । पाँच वर्षका लागि मासिक १० हजार रुपैयाँ भाडा तिर्ने गरी ६ कठ्ठा जग्गा लिइएको हो ।

महानगरले फुटपाथ व्यवसायीलाई बालकुमारी कजेजनजिकको ठाउँ तोके पनि उनीहरू ठाउँ राम्रो नभएको भन्दै त्यहाँ जान आनाकानी गरिरहेका छन् । कपडा, जुत्ताचप्पल र अन्य सामान बेच्नेहरू तथा ठेलामा खानेकुरा बेच्नेहरू भरतपुर महानगरपालिकाले फुटपाथ व्यवसायीका लागि छुट्याएको स्थानमा जाने मनस्थितिमा देखिएका छन् । फुटपाथमा फलफूल बेच्दै आएकाहरूले भने त्यस ठाउँमा तत्काल जान नसकिने बताउँदै आएका छन् ।

फुटपाथ खाली गर्न सबै पक्षको सहमति

फुटपाथका पसल हटाउन विगतदेखि नै पहल अघि बढाएको महानगरले एक हप्ताअघि सूचना जारी गरेर सडक खाली गर्न निर्देशन दिएको थियो । जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ, भरतपुर महानगरपालिका, सम्बन्धित वडाका जनप्रतिनिधि, जिल्ला प्रहरी र स्वयं फुटपाथ व्यवसायीसँगको छलफलपछि सडकबाट व्यवसाय हटाउने सहमति भएको थियो ।

अबदेखि पोखरा बसपार्क, पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, केन्द्रीय बस टर्मिनललगायतका क्षेत्रको ५०० मिटर वरिपरि कुनै पनि व्यवसायी सडकमा बस्न नपाइने सहमति भएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com