‘फाइजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा, दशैं अगाडि नै १८ बर्षमुनिकालाई दिन सुरु गरिने’


प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार

दशैं अगाडि नै नेपाल सरकारले १८ बर्षभन्दा मुनीका किशोर किशोरीहरुले लगाउन मिल्ने कोरोनाबिरुद्धको खोप ल्याउने तयारी गरिरहेको सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् । दशैं अगाडि एकलाख डोज खोप ल्याइने र फाइजर खोप ल्याउने प्रकृया अन्तिम चरणमा पुगेको उनले बताए ।

चितवनमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले दशैँ अघि १८ बर्षभन्दा कम उमेरकाहरुले लगाउन मिल्ने एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि स्वीकृत कोरोनाबिरुद्धको मोडेर्ना र फाइजर खोप ल्याउने तयारी मन्त्रालयले गरिरहेको उनले बताए ।

उनले भने -‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले ६० लाख फाइजर खोप खरिद गरिएको र त्यो छिट्टै आयने बताइरहँदा उक्त खोपको भण्डारण पूर्वाधार नेपालमा उपलब्ध छैन। सरकारले यस अगाडि माइनस ७० डिग्री सेल्सीअसमा भण्डारण गरिने कोभिड-१९ विरुद्धको फाइजर खोप केन्द्र र प्रदेशहरूमा भण्डारण गर्न मिल्नेगरी संरचनाहरू निर्माण गर्ने प्रक्रिया अघि बढाएको बताएको थियो ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुखले खोप भण्डारणको क्षमता विस्तारको कामलाई अघि बढाइएको र सन् २०२२ को प्रारम्भमा फाइजर खोप राख्न मिल्ने किसिमको चिस्यानसहितको भण्डारण क्षमता जडान भइसक्ने बताएका थिए ।

नेपालले विश्व ब्याङ्क र गाभीमार्फत् ४० लाख मात्रा मोडेर्ना खोप खरिदका लागि पनि सम्झौता गरेको छ। माइनस ५० देखि माइनस १५ डिग्री सेल्सीअसबीचको फ्रिजरमा भण्डारण गरिने उक्त खोप २ देखि ८ डिग्री सेल्सीअस तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटरमा एक महिनासम्म राख्न सकिने बताइएको छ।

४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै

यस अगाडि १२ देखि १८ वर्षको उमेर समूहका बालबालिकालाई लक्षित गरिएका खोप चाँडोमा आगामी पुसको अन्तिमसम्ममा आइपुग्ने सरकारी अधिकारीहरुले बताएका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ४० लाख मोडेर्ना र थप फाइजरका खोपहरू केही महिनाभित्रै नेपालमा भित्रने बताइरहेका छन्। सरकारले कोभ्याक्स सुविधा अन्तर्गत मोडेर्ना र फाइजरका खोप खरिद् सम्बन्धी सम्झौता गरेको छ ।

उक्त उमेर समूहका व्यक्तिहरूलाई खोप दिन कार्य योजना बनाइएको र त्यसअनुसार खोप खरिदको प्रक्रिया अगाडि बढाइएको सरकारी भनाई छ । नेपालमा अहिलेसम्म १८ वर्ष भन्दा बढीको उमेर समूहलाई तीन प्रकारका कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध गराइदै आएको छ।

नेपालमा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाइदै

आष्ट्राजेनेका (कोभिशिल्ड) , भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोपहरु नेपालमा वितरण गरिएका छन् । जसमध्ये सबैभन्दा धेरै भेरोसेल वितरण गरिएको छ ।

पुस मसान्तसम्म बालबालिकाहरुलाई लगाउन मिल्ने त्यस्ता खोपहरू ल्याउने योजना रहेको र अहिले १८ वर्ष भन्दा बढी उमेर समूहका व्यक्तिलाई नै सकेसम्म चाँडो र धेरै भन्दा धेरै खोप उपलब्ध गराउने हिसाबले केन्द्रित भएर काम गरिरहेको सरकारी अधिकारीको भनाई छ ।

मोडेर्ना खोपको खरिदका लागि नेपाललाई ७ अर्ब ९४ करोड रुपियाँ भन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको विश्व ब्याङ्कले गएको अगस्टमा मोडेर्ना खोप सन् २०२२ को मार्चमा आइपुग्ने अपेक्षा गरिएको बताएको थियो। उक्त खोप १२ देखि १७ वर्षको उमेर समूहका लागि पनि प्रभावकारी र सुरक्षित रहेको छ ।

तीनजिल्लामा लक्षित प्राय सबैले पाए खोप

नेपालका तीन जिल्लामा कोरोना भाइरसविरुद्धको खोप पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए ।

मुस्ताङमा १८ बर्षमाथिका प्राय सबै झण्डै १० हजारजनालाई कोरोनाबिरुद्धको खोप लगाइएको छ । साढे ६ हजार भन्दा धेरैलाई जोन्सन एण्ड जोन्सन खोप दिइएको छ भने दोश्रोमा झण्डै साढे २ हजारलाई कोभिशिल्ड खोप दिइएको छ । भेरोसेल खोप पाउनेहरु झण्डै ३ सय रहेका छन् ।

झण्डै १३ हजार जनसङ्ख्या रहेको मुस्ताङ जिल्लामा १८ वर्षभन्दा माथिका झण्डै १० हजार सर्वसाधारण रहेको सरकारी रेकर्ड छ । मुस्ताङमा बिहानदेखि साँझसम्म सबै बस्तीमा पुगेर योग्य सबैलाई खोप दिइएको हो । जिल्लामा नभएका केही व्यक्ति भने छुटेको हुनसक्ने जनाइएको छ ।

त्यस्तै मनाङमा पनि १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइसकिएको छ । मनाङको कुल जनसङ्ख्या झण्डै ६ हजार २०० सय रहेकोमा खोप लगाउन योग्य १८ बर्षमाथिकाहरु झण्डै साढे ४ हजार रहेको अनुमान गरिएको छ । तीमध्ये प्राय सबैलाई खोप दिइएको छ । केही भने जिल्लाबाहिर भएका कारण छुटेका छन् ।

देशभर १८ प्रतिशतभन्दा बढीलाई खोपको पूर्णमात्रा

रुकुममा पनि १८ वर्षभन्दा माथिका प्राय सबैलाई कोरोनाबिरुद्धको खोपको पूर्णमात्रा लगाइसकिएको सरकारी भनाई छ । काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाइसकेका छन् । तर मुलुकभरको अवस्था हेर्दा भने करिब १८ प्रतिशत जनसङ्ख्याले मात्र खोपको पूर्णमात्रा लगाएका छन् ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

सरकारले यही असोज मसान्तसम्ममा कुल योग्य जनसंख्याको ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ ।

अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।

खोप अभियान जारी

सरकारले अहिले मुलुकभर खोप अभियान जारी राखेको छ । १० वटा हिमाली जिल्लाहरुम १८ बर्षमाथिका सबैलाई दिनेगरी कोरोनाबिरुद्धको खोप अभियान चलाइएको छ । जसमा सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, दार्चुला, बाजुरा र रसुवा रहेका छन् ।

बागमती प्रदेशका चितवन र काभ्रेमा ३५ वर्षभन्दा माथिका नागरिकलाई दिनेगरी कोरोनाबिरुद्धको खोप अभियान चलाइएको छ । दुवै जिल्लामा १८ वर्षमाथिका विद्यार्थीलाई पनि खोप दिइदैछ । काठमाडौं, ललितपुर, भक्तपुरसँगै रामेछाप, मकवानपुर, सर्लाही र अछाममा ४० वर्ष माथिका नागरिकलाई पनि कोरोनाविरूद्धको खोप दिने काम भइरहेको छ । खोप लगाउन छुटेका १८ बर्षमाथिका विद्यार्थीलाई पनि दिइएको छ ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

अन्य  जिल्लामा जिल्लामा ४५ वर्षभन्दा माथिका नागरिकलाई पनि खोप लगाइन अभियान चलिरहेको छ । यससँगै विद्यार्थीले पनि खोप लगाउन पाउनेछन् ।

यसअगाडि छुटेका अग्रपंक्तिमा खटिनेहरु, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई समेत खोप दिइएको छ । कोभिशिल्ड वा आष्ट्राजेनेकाको पहिलोमात्रा लगाएकाहरुलाई दोश्रोमात्रा भेरोसेल नलगाउन सचेत गराइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com