२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

अक्टोबरमा अमेरिकाबाट सात नेपाली डिपोर्ट

फोटो: आइस

अमेरिकाबाट डिपोर्ट भएर अक्टोबरमा सात जना नेपाली स्वदेश फर्किएका छन्। फर्काइएका सबै पुरुष रहेको अध्यागमन विभागको पछिल्लो तथ्याङ्कले देखाएको छ।

अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका वा अध्यागमनसम्बन्धी नियम उल्लङ्घन गरेका नेपाली नागरिकलाई निष्कासन गरी स्वदेश फर्काउने क्रम जारी छ। यद्यपि, पछिल्ला महिनाहरूमा डिपोर्ट हुने नेपालीको संख्यामा उल्लेख्य कमी आएको देखिन्छ।

यसअघि अगस्तमा ८ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएका थिए भने सेप्टेम्बरको तथ्यांक प्राप्त भएको छैन। जुलाईमा अमेरिकाबाट पाँच जना नेपाली डिपोर्ट भएका थिए, जसमा चार पुरुष र एक महिला थिए। जुनमा भने सात पुरुष र दुई महिलासहित नौ जना नेपालीलाई स्वदेश फर्काइएको थियो।

सन् २०२६ को सुरुवाती महिनाहरूमा अमेरिकी अध्यागमन प्रशासनले चार्टर्ड उडानमार्फत ठूलो संख्यामा नेपालीलाई स्वदेश फर्काएको थियो। जनवरीमा १०१ जना नेपाली डिपोर्ट भएका थिए, जसमध्ये एकै उडानमा ८० जना थिए। फेब्रुअरीमा यो संख्या बढेर १३० पुगेको थियो, जुन यस वर्षको अहिलेसम्मकै उच्च संख्या हो। मार्चमा थप ४३ जना नेपालीलाई स्वदेश फर्काइएको थियो।

मे र जुनपछि चार्टर्ड उडानहरू रोकिएका वा प्रभावित भएका कारण पछिल्ला महिनाहरूमा नियमित व्यावसायिक उडानमार्फत थोरै संख्यामा नेपालीहरू फर्काइँदै आएका छन्।

शरणार्थी दाबी अस्वीकृत भएकाहरू पनि निष्कासनमा

अमेरिकी अध्यागमन प्रशासनले शरणार्थीका रूपमा बस्न गरिएको दाबी अस्वीकृत भएका, भिसाको अवधि समाप्त भएपछि पनि अमेरिकामा बसिरहेका तथा सीमा क्षेत्रबाट अनुमति बिना प्रवेश गरेका विदेशी नागरिकलाई निष्कासन गर्ने प्रक्रिया तीव्र बनाएको छ।

दलालहरूलाई ५० लाखदेखि ९० लाख रुपैयाँसम्म बुझाएर जोखिमपूर्ण र अवैध बाटो हुँदै अमेरिका पुगेका कतिपय नेपालीको शरणार्थी दाबी अस्वीकृत भएपछि उनीहरू डिपोर्टमा पर्ने गरेका छन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

डिपोर्ट गरी काठमाडौँ ल्याइएका नेपाली नागरिकलाई अध्यागमनसम्बन्धी प्रक्रिया पूरा गरेपछि मानव बेचबिखनको जोखिमबारे बुझ्न तथा उनीहरूलाई अमेरिका पठाउने दलाल र सञ्जालमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउने गरिएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।