सन् १९९१ यताकै उच्च बिन्दुमा अमेरिकाको दादुरा सङ्क्रमण: ४५ राज्यमा फैलियो प्रकोप
Photo: CDC/Unsplash
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२६ मा अमेरिकामा दादुरा सङ्क्रमितको सङ्ख्या ५,१८२ पुगेको छ। यो सन् १९९१ यताकै उच्च सङ्ख्या हो।
शुक्रबार सार्वजनिक सिडिसीको प्रतिवेदनअनुसार ४५ राज्य र वासिङ्टन डिसी गरी कुल ५,१६४ जना अमेरिकी नागरिक तथा अन्य १८ जना अन्तर्राष्ट्रिय यात्रुहरूमा दादुरा सङ्क्रमण पुष्टि भएको छ।
अत्यधिक संक्रामक विषाणुका रूपमा लिइने दादुरालाई सन् २००० मा अमेरिकाबाट पूर्ण रूपमा उन्मूलन गरिएको घोषणा गरिएको थियो। तर, पछिल्ला वर्षहरूमा खोप लगाउने दरमा आएको गिरावटका कारण धेरै बालबालिका तथा वयस्कहरू जोखिममा परेका छन्, जसले गर्दा अमेरिकाका विभिन्न राज्यहरूमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ।
सङ्क्रमण बढेसँगै मृत्यु हुनेको सङ्ख्या पनि थपिएको छ। सोमबार न्युयोर्कको लुइस काउन्टीमा एक बालकको दादुराका कारण मृत्यु भएको पुष्टि भयो, जुन राज्यमा विगत ३० वर्षयताकै पहिलो घटना हो। त्यसैगरी, बुधबार पेन्सिल्भेनियामा यस वर्ष दादुराका कारण छैटौँ व्यक्तिको मृत्यु भएको पुष्टि भयो भने बिहीबार राज्यका अधिकारीहरूले विस्कन्सिनमा एक शिशुको दादुराका कारण मृत्यु भएको घोषणा गरे।
जोन हप्किन्स युनिभर्सिटीको म्यापिङ ट्र्याकरअनुसार शुक्रबारसम्म अमेरिकामा दादुरा सङ्क्रमितको सङ्ख्या ५,४०० पुगिसकेको छ। युनिभर्सिटीले विभिन्न राज्य र काउन्टीका स्वास्थ्य विभागहरूबाट सोझै तथ्याङ्क सङ्कलन गर्ने भएकाले यसको तथ्याङ्क सिडिसीको प्रतिवेदनभन्दा अगाडि देखिएको छ।




