अष्ट्रेलिया घुमघाम पनि कमाई पनि अर्थात वर्किङ होलिडे भिसा,शर्तनामाहरु के के छन् ?


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

नेपालमा जाडोको याम शुरु भएको छ । जाडो छल्न विभिन्न मुलुकमा घुम्न जाने नयाँ संस्कृति नेपालीहरुमा पनि बढेको छ । त्यसैले यसपटकको जाडोमा कुन देश जाँदा राम्रो होला भन्ने सोंचमा हुनुहुन्छ भने अष्ट्रेलिया तपाईको लागि उत्तम गन्तव्य बन्न सक्छ । कङ्गारुको देश अष्ट्रेलिया छुट्टै महादेश हो । अहिले यहाँ गर्मी महिना चलिरहेको छ । यसदेखि बाहेक यहाँका आकर्षक पर्यटकीय स्थलहरु र समृद्ध जीवनशैली पर्यटकहरुलाई आकर्षित पार्न पर्याप्त छ ।

अष्ट्रेलियाले दिने वर्किङ होलिडे भिसाले विश्वका धेरै पर्यटकहरुलाई अष्ट्रेलिया रोज्न बाध्य बनाउँछ । अर्थात छुट्टी पनि मनाउन पाइने,साथमा काम पनि गर्न पाइने भएपछि पशुपतिको जात्रा सिद्राको व्यापार भने जस्तै हुन्छ अष्ट्रेलियाको यात्रा । यसले एकातिर घुम्ने रहर पूरा गरिदिन्छ भने अर्कोतिर निश्चित समय काम समेत गर्न पाइने भएकोले आफ्नो खर्च उठाउँन पनि पाइन्छ ।

अष्ट्रेलियन वर्किङ होलिडे भिसा कसले पाउँछन् ?

अष्ट्रेलियन वर्किङ होलिडे भिसा विशेष गरेर युवा उमेरका पर्यटकहरुका लागि हो । त्यसैले यो भिसा १८ वर्ष पुगेका र ३० वर्ष ननाघेका विदेशी पर्यटकहरुलाई प्रदान गरिन्छ । यो भिसामा अष्ट्रेलिया आउनेले निश्चित समय काम गर्न पाउछन् । यस्तो भिसा दुई वर्षसम्म अवधिको हुन्छ । यो भिसामा आउनेले ४ महिना अवधिको कुनै पनि विषयमा अध्ययन वा तालिम समेत लिन पाउँछन् ।

यो भिसाका लागि शर्तनामाहरु के के छन् ?

अष्ट्रेलियामा घुम्न आउनेहरुलाई उनीहरुको यात्राको दौरानमा लाग्ने खर्च जुटाउन सहयोग पुगोस् भन्ने उदेश्यले अष्ट्रेलियन वर्किङ होलिडे भिसाको व्यवस्था गरिएको हो । त्यसैले यो भिसा पाउने काम गर्ने अधिकार पनि पाउँछन् । तर त्यसका लागि केही शर्तहरु भने राखिएका छन् । ती शर्तनामाभित्र रहेर र निश्चित योग्यता पुगेकाहरुले मात्र यस्तो भिसा सुविधा प्राप्त गर्न सक्छन् । काम गर्ने अधिकार भए पनि ६ महिना भन्दा बढी अवधि भने काम गर्न पाइदैन ।

अष्ट्रेलियन वर्किङ होलिडे भिसाको लागि आवश्यक आधारभूत योग्यताहरु यस प्रकार छन्

–यो भिसा प्राप्त गर्न चाहनेको उमेर १८ र ३० वर्षबीचको हुनुपर्नेछ ।
–कम्तीमा नवीकरणका लागि ६ महिना अवधि बाँकी रहेको वैधानिक पासपोर्ट आवश्यक पर्छ ।
–अष्ट्रेलियामा घुम्न आउन लाग्ने खर्च व्यहोर्न सक्ने आर्थिक हैसियत खुल्ने बैंक खाता वा आर्थिक स्रोत देखाउँनुपर्नेछ ।
–चरित्रमा हुनै दाग नलागेको अर्थात कुनै अपराधिक क्रियाकलापमा नलागेको हुनुपर्छ । यसका लागि पूलिस रिपोर्ट संलग्न गर्नुपर्नेछ ।
–कुनै गम्भीर स्वास्थ्य समस्या नभएको व्यक्ति हुनुपर्नेछ ।

यी सबै कागजातहरु खुलाएर अनलाइनबाट नेपालमै बसेर पनि आवेदन दिन सकिन्छ । तपाईको भिसा स्वीकृत भएमा तपाईलाई पूर्व जानकारी समेत आउनेछ । अनलाइनबाट भिसा आवेदन दिन यहाँ क्लिक गरेर फाराम भर्न सकिनेछ । कङ्गारुको देशमा तपाईलाई स्वागत छ ।

–हिमालयन कङ्गारु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com