इरान युद्धको खर्च ३८ अर्ब डलर नाघ्यो: अमेरिकी बजेट र सैन्य क्षमतामा गम्भीर असर
प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार
फाइल फोटो : एएफपी/रासस
इरानविरुद्ध जारी छ महिना लामो युद्धमा अमेरिकाको खर्च ३८ अर्ब अमेरिकी डलर पुगेको छ। कंग्रेसको गैर-पक्षीय संसदीय बजेट कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो खर्च प्रतिमहिना थप ३ अर्ब डलरका दरले बढ्ने अनुमान गरिएको छ।
ट्रम्प प्रशासन युद्ध अन्त्य गर्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मोज’ जलमार्ग पुनः खोल्ने उपायहरूको खोजीमा छ।प्रतिवेदन अनुसार, अगस्ट १ सम्मको खर्च गणना गर्दा यो युद्धका कारण सन् २०२७ को पहिलो तीन महिनामा अमेरिकाको मुद्रास्फीति ०.५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
बजेट कार्यालयका अनुसार खर्चको ठूलो हिस्सा गोलाबारुद र क्षेप्यास्त्रको तीव्र खपतबाट भएको हो। अमेरिकी भण्डारलाई पहिलेकै अवस्थामा फर्काउन कम्तीमा पाँच वर्ष लाग्न सक्ने अनुमान गरिएको छ।
सीबीओले क्षेप्यास्त्र प्रहार रोक्ने इन्टरसेप्टर जस्ता महत्वपूर्ण अस्त्रको अभावले चीन र ताइवानबीच हुन सक्ने सम्भावित द्वन्द्व जस्ता अन्य अन्तर्राष्ट्रिय सङ्कटमा अमेरिकाको प्रतिक्रिया दिने क्षमतालाई कमजोर बनाउन सक्ने चेतावनी दिएको छ।
रक्षा मन्त्री पिट हेगसेथले जुलाईको एक संसदीय सुनुवाइमा अस्त्र भण्डार पुनःपूर्तिको लागि करिब ९० अर्ब डलरको आपत्कालीन बजेट माग गर्दै भनेका थिए, “यो रकम नपाएमा हामीले गम्भीर अभावको सामना गर्नुपर्नेछ।”
ह्वाइट हाउस र पेन्टागनको दाबी ह्वाइट हाउसकी प्रवक्ता आना केलीले अमेरिकी सेनासँग राष्ट्रपति ट्रम्पका रणनीतिक लक्ष्यहरू पूरा गर्न पर्याप्त अस्त्र भण्डार रहेको दाबी गरेकी छन्। पेन्टागनका मुख्य प्रवक्ता सन पार्नेलले पनि गोलाबारुदको अभाव भएको प्रतिवेदनको दाबीलाई खण्डन गर्दै भने, “हामीसँग राष्ट्रपतिको इच्छा अनुसार जुनसुकै समय र स्थानमा प्रहार गर्ने क्षमता छ।”
इरानसँगको युद्धका कारण अमेरिकाले ठूलो मानवीय र भौतिक क्षतिको सामना गरिरहेको छ। यस द्वन्द्वका क्रममा हालसम्म १८ जना अमेरिकी सैन्य कर्मीले ज्यान गुमाइसकेका छन्।
यसका साथै, पेन्टागनको इन्स्पेक्टर जनरलका अनुसार इरानी प्रहारबाट मध्यपूर्वस्थित अमेरिकी सैन्य आधारका सयौँ भवनहरू ध्वस्त भएका छन् भने थुप्रै लडाकु विमान, रिफ्युलिङ विमान तथा ड्रोनहरू नष्ट वा क्षतिग्रस्त बनेका छन्।
यस युद्धले विश्वव्यापी ऊर्जा क्षेत्र र अमेरिकी अर्थतन्त्रमा समेत गम्भीर असर पारेको छ। विश्वको करिब २० प्रतिशत तेल ओसारपसार हुने रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मोज’ बन्द हुनुका साथै क्षेत्रीय ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि विश्वभर इन्धनको मूल्य तीव्र रूपमा बढेको छ।
उता, अगस्ट महिनामा नै अमेरिकाको कुल सार्वजनिक ऋण ४० खर्ब डलर नाघिसकेको अवस्थामा, युद्धको यो अतिरिक्त वित्तीय भारले मुलुकको अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ।
यो प्रतिवेदन हाउस बजेट कमिटीका वरिष्ठ डेमोक्र्याट सदस्य ब्रेन्डेन बायलको अनुरोधमा तयार पारिएको हो। प्रतिवेदन सार्वजनिक भएपछि बायलले टिप्पणी गर्दै, यस युद्धले निर्दोष अमेरिकी नागरिकको ज्यान लिनुका साथै करदाताहरूको अर्बौँ डलर स्वाहा पारेको बताएका छन्।





