अष्ट्रेलियामा आयोजित विज्ञ सम्मेलनका कार्यपत्र काठमाडौंमा प्रस्तुत गरिने


प्रकाशित मिति : आश्विन ६, २०७५ शनिबार

गैर आवासीय नेपाली संघ ओसेनिया क्षेत्रको आयोजनामा सिड्नीमा आयोजित प्रथम ओसेनिया विज्ञ सम्मेलनलाई भव्य र सफल बनाउन सहयोग पुर्याउने सबैमा आयोजक एनआरएनए ओसेनिया क्षेत्रले आभार व्यक्त गरेको छ । आयोजकका तर्फबाट संयोजक धर्मराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै सबैप्रति सधन्यवाद आभार व्यक्त गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ–

‘गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रको आयोजनामा सिडनीमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्ण ब्यक्तित्वहरुलाई मनैदेखि धन्यवाद टक्रयाउन चाहन्छु । कार्यक्रममा सहयोग गर्ने प्रायोजक , कार्यपत्र प्रस्तुत गरिदिने विज्ञज्यू अनि न्यूजिल्यान्ड र बिभिन्न राज्यवाट निम्तो स्वीकारेर पाल्नुहुने अतिथिज्यूहरु यस सफलताको मुख्य कारक हो भन्ने मलाई लागेको छ ।

पहिलो पटक यति ठूलो कार्यक्रम आयोजना गर्दै गर्दा जानेर वा नजानेर केहि कमीकमजोरीहरु भए होलान् । त्यसका लागि पनि आयोजकको तर्फवाट क्षमा माग्न चाहन्छु । आगामी दिनमा एनआरएन ओसेनिया क्षेत्रको कार्यक्रमलाई सफल बनाउन यहाँहरुको यस्तै सहयोग र सदभावको अपेक्षा राखेको छु ।

एनआरएन ओसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका विज्ञहरूलाई समेटेर उनीहरूले सिकेको सीप र ज्ञानलाई नेपालसम्म पुर्याउने प्रयास स्वरूप पहिलो पटक अष्ट्रेलियाको सिड्नीमा एक दिने विज्ञ सम्मेलनको आयोजना गरेको हो ।’

अष्ट्रेलिया र न्युजिल्यान्ड जस्तो विकसित मुलुकमा महत्त्वपूर्ण भूमिकामा रहेका नेपाली विज्ञहरूलाई एकैथलोमा भेला पारेर यहाँ सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ? भन्ने सोचका साथ गत सेप्टेम्वर १५ मा आयोजना गरिएको कार्यक्रममा केही महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत भएका थिए ।

कार्यक्रममा विशेषगरी कृषि तथा खाद्य सुरक्षा , स्वास्थ र शिक्षा तथा पूर्वाधार विकासमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा राजु अधिकारी,डा. सिताराम घिमिरे,न्यूजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराई , भुपेन्द्र केसी, डा .डिल्ली बन्जाडे डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस्तै सोही कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पाले यस्ता कार्यक्रमहरू देशका लागि निकै महत्त्वपूर्ण रहने बताउँदै मुलुकको विकासका लागि आर्थिक व्यवस्थापनसँगै प्राविधिक शक्तिको पनि आवश्यकता रहेको औंल्याउनुभएको थियो ।

कार्यक्रममा प्रस्तुत गरिएका महत्वपूर्ण कार्यपत्रहरूलाई काठमाडौंमा अक्टोबर १३ र १४ मा आयोजना हुने गैर आवासीय नेपाली संघको विश्व विज्ञ सम्मेलनमा समेटिने आयोजक ओसेनियाका क्षेत्रीय संयोजक अधिकारीले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com