पाकिस्तानलाई दिइने ३० करोड डलर अमेरिकी सहयोग रद्द
प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार
लडाकु समूहहरूविरुद्ध कदम चाल्न इस्लामाबाद विफल भएको भन्दै अमेरिकी सेनाले पाकिस्तानलाई दिने ३० करोड डलर सहयोग रद्द गर्ने निर्णय गरेको जनाएको छ।
यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाबाट अर्बौँ डलर पाएर धोका दिइरहेको पाकिस्तानमाथि आरोप लगाएका थिए।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल कोन फोक्नरले पाकिस्तानलाई दिने गरिएको रकम अब अरू ‘महत्त्वपूर्ण प्राथमिकतामा’ खर्च गर्नमा अमेरिकी सेना केन्द्रित हुने बताएका छन्।
पछिल्लो कदम गत ज्यानुअरीमा सहयोग निलम्बन गर्ने एउटा बृहत् घोषणाको पाटो हो। त्यसलाई अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्ने हुन्छ।
दबाब
अमेरिकी विदेश मन्त्रालयले आफ्नो भूमिमा सञ्चालनमा रहेका हक्कानी सञ्जाल र अफ्गान तालिबानसहितका आतङ्कवादी सञ्जालहरूविरुद्ध कदम चाल्न असफल भइरहेको भन्दै पाकिस्तानको आलोचना गर्दै आएको छ।
शनिवार जारी गरिएको एउटा विज्ञप्तिमा पेन्टागनका प्रवक्ता फोक्नरले भनेका छन्, “सबै आतङ्कवादी समूहहरूलाई अन्धाधुन्ध निशाना बनाउनका निम्ति पाकिस्तानमाथि दबाब सिर्जना गर्न हामी जारी राख्छौँ।”
उनले उक्त विषयलाई सम्बोधन गर्ने दिशामा ‘निर्णायक कदमहरू चाल्न पाकिस्तानको कमजोरी देखिएकोले’ यसअघि नै निलम्बन गर्ने घोषणा गरिसकिएको ३० करोड डलर सहयोग अब अन्यत्र खर्च गरिने बताए।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पाकिस्तानको भ्रमण गर्नुभन्दा केही दिन अगाडि पछिल्लो घोषणा आएको छ।
कटौती
गत ज्यानुअरीमा अमेरिकी सरकारले पाकिस्तानलाई दिने गरिएको लगभग सबै सुरक्षा सहयोग कटौती गरिने घोषणा गरेको थियो।
अमेरिका र अरूले पनि पाकिस्तानले लडाकु सञ्जालहरूलाई आश्रय दिएको र सीमापारिबाट अफ्गानिस्तानमा आक्रमण गर्न दिएको आरोप लगाउने गरेका छन्।
सो आरोपलाई पाकिस्तानले अस्वीकार गर्दै आएको छ।
यसअघि छुट्टै विषयमा, शुक्रवार अमेरिकाले प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसंघको सहायतासम्बन्धी निकाय युनाइटेड नेशन्स रिलिएफ एण्ड वर्क्स एजेन्सीलाई दिने सबै सहायता बन्द गर्न लागेको घोषणा गरेको थियो।






