दोस्रो विश्वयुद्धमा हराएको यो पर्स ७७ वर्षपछि भेटियो


प्रकाशित मिति : भाद्र ७, २०७५ बिहीबार

आफ्नो हराएको कुनै चिज भेटिँदा खुसी अवश्य लाग्दछ । हराएको चिज चाहे भेटिने खालको नहोस् तर भेटिने आशा लागिरहन्छ । यस्तोमा यदि भेटिने आशै मारेको कुनै विशेष चिज फ्याट्ट भेटियो भने कत्तिको खुसी मिल्ला ? अमेरिकाको जर्जियामा बस्ने रोय रोट्स नामका वृद्धको हकमा यस्तै भएको छ । उनले ७७ वर्षअघि हराएको एउटा पर्स हालै फेला पारेका छन् । पर्समा होइन, ऊबेला पर्ससँग हराएका महत्वपूर्ण कागजात पनि उनले जस्ताको जस्तै फेला पारे । रोय अहिले १ सय वर्षका भए । तर जुन दिन उनको उक्त पर्स हराएको थियो, त्यो दिनका हरेक घटना उनको मनमा ताजै छन् ।

पर्स हराउने दिनको घटना सम्झिँदै उनी भन्छन्, ‘म इलेक्ट्रिकल इन्स्पेक्टर थिएँ र मेरो काम हवाइजहाजको जाँच गर्नु थियो । त्यसदिन म क्यालिफोर्नियामा थिएँ । दोश्रो विश्वयुद्ध छेँडिसकेको थियो । हामी सबै एउटा हवाईजहाजमा सवार थियौँ । त्यतिबेलै मलाई थाहा भयो कि मेरो पर्स हराएछ । मैले हवाइजहाजमा रहेका हरेक व्यक्तिसँग मेरो पर्सका बारेमा सोधीखोजी गरेँ तर भेटिएन ।’ फक्स फाइभ टिभीको रिपोर्ट अनुसार रोय रोट्सको गोजीबाट खसेको उक्त पर्सलाई एडगर वारेन बर्ड्सले फेला पारेछन् । बर्ड्स बेलायतको डर्बिसायरस्थित रोयल एयरफोर्समा कार्यरत थिए ।

रोेट्सको पर्समा उनको सवारी चालक अनुमतिपत्र पनि थियो । त्यसमा रोट्सको नाम तथा ठेगाना लेखिएको थियो र सोही ठेगानामा बर्ड्सले भेट्टाएको पर्स पठाइदिन सक्दथे । तर उनले यसो गरेनन् । उनले त्यो पर्सलाई त्यसभित्र रहेका सबै सामानसँगै आफुसँग सुरक्षित राखे । आफैले मात्र राखेनन् घरमा ल्याएर आफ्ना छोरानाति पुस्तासम्मै त्यो पर्स सुरक्षित रह्यो । वारेनले उक्त पर्स आफ्नो छोरालाई दिए र छोराले आफ्नी छोरीलाई । अन्ततः वारेनकी नातिनीले जतन गरी राखेको उक्त पर्स त्यसका मालिक रोट्सलाई फिर्ता गरिन् । आखिर वारेनले किन भेट्टाएको पर्स फिर्ता गरेनन् र सँगै घरमा ल्याएर पुस्तौँसम्म सुरक्षित राखे भन्ने कुराको राज भने अब कहिल्यै खुल्नेछैन । किनकी वारेनको मृत्यु भैसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com