‘नेयमार बिना कारण आलोचना भइरहेका छन्’


प्रकाशित मिति : श्रावण ३, २०७५ बिहीबार

ब्राजिलियन तथा पीएसजीका स्टार खेलाडी नेयमार बिना कारण आलोचित भइरहेको ब्राजिलका पूर्वस्टार प्लेमेकर काका बताएका छन् । साथै उनले फिफा विश्वकप २०१८ मा ब्राजिलको हारमा नेयमारलाई मात्र दोष दिन नहुने बताएका छन् ।

विश्वकपका बेला विपक्षी खेलाडीहरुको चुनौतिको सामना गर्दै कथित प्ले एक्टिङ गरेको भन्दै पीएसजीका स्टार फरवार्ड नेयमारको सामाजिक सञ्जालमा पनि आलोचना भएको थियो । यद्यपी अहिले आएर पूर्वरियल मड्रिड र एसी मिलानका प्लेमेकर काका नेयमारको बचाउमा उत्रिएका हुन् ।
‘मानिसहरु नेयमारलाई बेकारमा निशाना बनाईरहेका छन् ।’ ओमनीस्पोर्टसँग कुराकानीका क्रममा काकाले भने, ‘हारपछि कुनै एक खेलाडीलाई खोजेर दोष दिनु मलाई मन पर्दैन र यस्ता कुरासँग मलाई मतलब पनि हुँदैन । विश्वकपमा ब्राजिल हार्यो तर त्यसको जिम्मेवार नेयमार होईनन् ।’

‘ब्राजिल क्वार्टरफाइनलबाट बाहिरिएको हो । नेयमारलाई लिएर मानिसहरुको प्रतिक्रिया असन्तुलित छ । जब उसले राम्रो गर्छ तब उ निकै ठूलो हुन्छ, र उसले राम्रो नगरे पनि उ निकै ठूलौ नै हुन्छ ।’ उनले थपे, ‘२६ वर्षको यो केटालाई सबै कुरा सहनुपरेको छ । साथै उसलाई यो सब कुरा व्यवस्थापन पनि गर्नुपरेको छ । मलाई लाग्छ उनी ठिक छन् ।’

‘जति मानिसहरुले नेयमारको आलोचना गरेका छन्, उनीहरु नेयमारभन्दा ठूलो छन् र परिपक्व छन् । यो उमेरमा यी सब कुराहरु झेल्नु कठिन हुन्छ । म नेयमारको समर्थक हुँ । एउटा आम खेल व्यक्तित्वका रुपमा उनी उत्कृष्ट खेलाडी हुन् ।’

चर्चित फुटबल साईट गोलका अनुसार काकाले बेल्जियमविरुद्धको खेलमा नेयमारले जे जस्तो प्रदर्शन गरे, त्यस्तो प्रशंसा उनले नपाएको दावी गरेका छन् । उनले अगाडी भनेका छन्, ‘नेयमार निर्णायक थिए । उनले राम्रो पास दिए तर गोल गर्न सकेनन् । तर पनि खेलका बारेमा सोंचे । उसले हरसम्भव प्रयास गर्यो । कयौंपटक उसले आफ्नो टिममेटलाई गोलको नजिक पनि लग्यो तर पनि ब्राजिल हार्न पुग्यो ।’

रसिया विश्वकपमा ब्राजिलका लागि नेयमारले दुई गोल गरेतापनि ब्राजिलका पूर्वस्टारद्वय रोनाल्डो र काफुले नेयमारको चर्को आलोचना गरेका थिए । रसिया विश्वकपअघि ब्राजिललाई उपाधिको दावेदार मानिएको थियो । तर, क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित भएपछि ब्राजिल विश्वकपबाट बाहिरिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com