पोर्चुगल र स्पेनको आज भाग्य–परीक्षा राती पौने १२ बजे


प्रकाशित मिति : असार ११, २०७५ सोमबार

युरो च्याम्पियन पोर्चुगल र पूर्व विश्व च्याम्पियन स्पेन विश्वकपको दोस्रो चरण प्रवेशका लागि सोमबार राती पौने १२ बजे भिन्दा–भिन्दै रंगशालामा भिड्दै छन्।

मोरक्कोसँग अघिल्लो खेलमा जित हात पारेको र स्पेनसँग बराबरी खेलेको पोर्चुगल एसियाको शक्ति राष्ट्र इरानसँग भिड्दै छ। पोर्चुगल र स्पेन दुवै टिमले खेल बराबरीमा राखे मात्रपनि दोस्रो चरण प्रवेश गर्ने छन्। इरान पनि मोरक्कोलाई १–० ले पराजित गर्दै तीन अंक बटुलेर समूह ‘बी’ मा बलियो स्थितिमा छ। इरानले दोस्रो चरण प्रवेशका लागि पोर्चुगललाई हराउनु पर्नेछ।

अहिले पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोले दुई खेलमा ४ गोल गरेर आफू लयमा रहेको प्रमाणित गरिसकेका छन्। इरानको अगाडि आजको चुनौति भनेको उनी नै हुन्। सन् २००६ मा पोर्चुगलले पछिल्लो पल्ट इरानसँग भिड्दा रोनाल्डोले विश्वकपमा डेब्यु गोल गरेका थिए। त्यतिबेला पोर्चुगल २–० ले विजयी भएको थियो। एक गोल डेकोले गरेका थिए।

इरानले अहिलेसम्म युरोपेली प्रतिद्वन्दीसँग कहिल्यै जितेको छ्रैन्। उसले ७ भिडन्तमध्ये ६ मा पराजय भोगेको छ। यस्तै, विश्वकपको समूह चरणको अन्तिम खेलमा पनि इरानले अन्य प्रतिद्वन्दीसँग जित हात पारेको छ्रैन्। यसअघि उसले अन्तिम खेल ३ पल्ट हारेको छ भने १ खेल मात्र बराबरीमा राखेको थियो।

पोर्चुगल प्रशिक्षक कार्लोस क्युरेजले सन् २०१० मा राष्ट्रिय टोलीको नेतृत्व लिँदा टिमलाई क्वाटरफाइनलसम्म पुर्याएका थिए। आजको खेलमा जाओ मोटिन्हो पोर्चुगलबाट सर्वाधिक खेल खेल्ने तेस्रो खेलाडी बन्ने सम्भावना बलियो छ। उनी रोनाल्डो (१५२) र फिगो (१५०) पछि एक सय १३ खेलमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दैछन्। यसअघि एक सय १२ खेलमा नानीले प्रतिनिधित्व गरेका थिए। अस्वस्थ्यताका कारण उनी केही दिन अभ्यास मैदानमा देखिएका थिएनन्।

आज इरानी टोलीमा ओलम्पियाकोसका डिफेन्डर इशान हाज्साफी पाखुराको समस्याले गर्दा अनुपस्थित हुनेछन्। उनको स्थानमा रुसको अख्मत ग्रोज्नीबाट खेल्ने मिलाद मोहम्मदीले खेल्ने सम्भावना बलियो छ।

पोर्चुगलसँग पहिलो खेल ३–३ को बराबरी खेलेको स्पेनले इरानलाई पराजित गरेको थियो। मोरक्कोसँग उसको यसअघि दुई पल्ट भिडन्त भइसकेको छ र दुवैमा स्पेन विजयी भएको थियो। होम एन्ड अवे सिस्टममा खेलाइएको सन् १९६२ को विश्वकपमा स्पेनले अवे खेलमा १–० र होममा ३–० ले मोरक्कोलाई पराजित गरेको थियो।

स्पेन अन्तर्राष्ट्रिय खेलमा आफ्नो २३ औं अपराजित यात्रालाई आज पनि कायम राख्न चाहन्छ। उसले यसअघि १५ जित र ७ बराबरीसहित २२ खेल पराजय बिना खेलेको छ। पछिल्लो ४ विश्वकपमध्ये तीनमा स्पेन समूहको शीर्ष स्थानमा रहँदै दोस्रो चरण प्रवेश गरेको थियो। गत विश्वकपमा मात्र यो सिलसिलालाई उसले कायम राख्न सकेन।

मोरक्को आफ्नो पाँचौ विश्वकप अभियानमा चार पल्ट पहिलो चरणबाटै बाहिरिएको थियो। सन् १९८६ मा मात्र उ दोस्रो चरण प्रवेश गरेको थियो। मोरक्कोले सन् १९९४ को विश्वकपमा समूहको सवै खेल हारेको थियो। अहिले पनि उसले दुई खेल हारिसकेको छ।

स्पेनी डिफेन्डर नाचो मोनरेल सामान्य चोटबाट तंग्रिएका छन्। मिडफिल्डर कोकेलाई आज लुकास बास्केटको स्थानमा खेलाउने सम्भावना बलियो छ। डिएगो कोस्टा उत्कृष्ट लयमा रहेका कारण मोरक्कोको समस्या उनी बन्ने पक्का छ। उनले पनि २ खेलमा ३ गोल गरिसकेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com