अमेरिकी दूतावासहरूमा वायु गुणस्तर निगरानी बन्द भएपछि प्रभावित शहरहरूमा प्रदूषण ३० प्रतिशतले बढ्यो


प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार

Photo: Photoholgic/Unsplash

अमेरिकाले विभिन्न देशमा रहेका आफ्ना दूतावासहरूबाट गर्दै आएको वायु गुणस्तर निगरानी कार्यक्रम बन्द गरेपछि ती शहरहरूमा वायु प्रदूषण उल्लेख्य रूपमा बढेको एक अध्ययनले देखाएको छ। ‘प्रोसीडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्स’ पत्रिकामा प्रकाशित अध्ययन अनुसार अमेरिकाले उक्त कार्यक्रम हटाएपछि अध्ययन गरिएका क्षेत्रहरूमा भू-उपग्रहबाट लिइएको तथ्यांक अनुसार प्रदूषण २४ देखि ३३ प्रतिशतसम्म बढेको पाइएको छ।

सन् २००८ मा चीनको बेइजिङस्थित अमेरिकी दूतावासबाट सुरु भएको यो कार्यक्रम पछि विश्वका ८० भन्दा बढी दूतावास तथा नियोगहरूमा विस्तार गरिएको थियो। यसले सर्वसाधारणलाई हावाको गुणस्तरबारे जानकारी दिँदै सम्बन्धित देशका सरकारहरूलाई प्रदूषण नियन्त्रणका लागि दबाब सिर्जना गर्न सहयोग पुर्‍याउँदै आएको थियो।

तर, सन् २०२५ को मार्चमा ट्रम्प प्रशासनले खर्च कटौतीको कारण देखाउँदै यो कार्यक्रम पूर्ण रूपमा बन्द गरिदियो।

कोलम्बिया विश्वविद्यालयकी जलवायु शोधकर्ता जोई यियान झाउ र उनको टोलीले ४६ शहरको वायु प्रदूषणको तथ्यांक विश्लेषण गर्दा निगरानी बन्द भएको तीन देखि चार महिनाभित्रै प्रदूषणमा तीव्र वृद्धि भएको पाएका छन्। विशेष गरी दक्षिणपूर्वी एसियाली शहरहरू जस्तै फिलिपिन्सको मनिला, म्यानमारको याङ्गुन र लाओसको भियन्तियानमा प्रदूषणको मात्रा बढी देखिएको छ।

वातावरण अर्थशास्त्री एरिक जुका अनुसार स्वतन्त्र निकाय वा तेस्रो पक्षबाट हुने निगरानी हटेपछि उद्योगहरूले लागत घटाउन प्रदूषण नियन्त्रणका उपायहरू अपनाउन छाड्ने सम्भावना रहन्छ।

यद्यपि, निगरानी बन्द भएको केही महिनापछि प्रदूषणको दरमा केही कमी आएको पनि अध्ययनले देखाएको छ। स्थानीय तहमा निजी वा सरकारी स्तरबाट नयाँ निगरानी प्रविधिहरू प्रयोगमा आएकाले यस्तो भएको हुन सक्ने शोधकर्ताहरूको अनुमान छ। तर पनि, पारदर्शिता र सर्वसाधारणको पहुँचमा रहने सूचनाले मात्रै प्रदूषण नियन्त्रणमा दीर्घकालीन उत्तरदायित्व कायम गर्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com