सेनेगलविरुद्ध जापानलाई उचाईको चिन्ता आज राति पौने ९ बजे


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

रुस विश्वकपको पहिलो खेलमा जापान कोलम्बियालाई पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्रलाई पराजित गर्ने पहिलो एसियाली राष्ट्र बनेको थियो। अन्तिम १६ को लक्ष्यसहित आज राति पौने ९ बजे सेनेगलविरुद्ध दोस्रो खेलमा उत्रने जापान विपक्षी खेलाडीको शारिरिक बनावटबाट शतर्क रहनुपर्ने अवस्था छ।

दुबै टोली सुरुवाती खेल जित्दै बलियो आत्मबलको साथ आज मैदान उत्रनेछन्। जापानले पहिलो खेलमा कोलम्बियालाई २–१ अन्तरले पराजित गरेको थियो भने त्यतिनै अन्तरले पोल्यान्डलाई सेनेगललाई पराजित गरेको थियो।

सेनेगलको टोलीमा स्टार खेलाडी हुन् लिभरपुलका फरवार्ड साडियो माने। उनी प्रिमियर लिगमा सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडी समेत हुन्। २०१५ मा उनले साउथहप्टनबाट खेल्दै वेस्टन भिल्लाविरुद्ध १ सय ७६ सेकेन्डमा तीन गोल गरेका थिए।

जापानका प्रशिक्षक आकिरा निसिनो भने मानेसँगै सेनेगलको टोलीपनि उत्तिकै शशक्त भएको बताउँछन्। ‘मानेलाई रोक्न सम्भव होला, तर उनी अरु खेलाडीबाट प्रेरित छन्,’ उनले भने, ‘उनलाई अन्य खेलाडीहरुको साथ दिए त्यो हाम्रालागि खतराको विषय हुनेछ। उनीहरुको केनेक्टिभिटी तोड्नमा हाम्रो ध्यान हुनेछ।’

सेनेगलका खेलाडीहरु शारिरिक कदमा अग्ला र बलिया हुन्छन्। यता, जापनिज खेलाडीहरु भने होचा कद हुन्छन्। उनीहरुको गती, शारिरिक बनावट र एकजुट भएर खेल्ने गुणले आफूहरुलाई अप्ठारो पार्नसक्ने भएकाले त्यसलाई बुझ्दै आफूहरुले योजना बनाएको उनी बताउँछन्।

‘सेनेगलविरुद्ध खेल्नुअघि मैले खेलाडीहरुले पाँच सेन्टिमिटर उचाई र पाँच किलोग्राम तौल बढाउन भनेको थिए,’ ठट्टा गर्दै प्रशिक्षक आकिराले भने, ‘यदि शारिरिक टकराब भयो भने हामीलाई घाटा हुन सक्छ तर उनीहरु र हामीले खेल्ने एउटै बल हो। हामी दिमागको प्रयोग गर्दै चतुर्याई र रणनीतिका साथ उनीहरुविरुद्ध खेल्नेछौं।’

यसअघि जापान र सेनेगल तीनपटक भिडेका छन्। जसमा सेनेगलले २ पटक जापानलाई हराएको छ भने १ पटक बराबरी खेलेको छ। अन्तिम पटक यी दुईबीच २००३ मा भेट भएको थियो। जसमा सेनेगल १–० ले विजयी भएको थियो।

जापानले पनि २००२ पछि विश्वकपमा भने लगातार दुई खेलमा जित हात पार्न सकेको छैन्। दक्षिण कोरियाविरुद्ध सयुंक्त रुपमा आयोजना गरेको उक्त विश्वकपको समूहचरणमा जापानले रसिया र ट्युनिसियालाई लगातार पराजित गरेको थियो।

२००२ मा क्वार्टरफाइनलमा पुगेको सेनेगल त्यसयता भने बल्ल यस विश्वकपमा छनोट भएको हो। तर, उत्तर अफ्रिकी देश सेनेगलको प्रशिक्षकत्व आलिउ सिसले सम्हालेपछि यस देशले पछिल्ला ११ मध्ये १ खेलमा मात्रै पराजय भोगेको छ।

‘कम्तिमा २००२ को पुस्ताले झै हामी यसपटक गर्ने सोच बनाएका छौं,’ आलिउले भने, ‘त्यो हाम्रो सुन्दर पुस्ता थियो। अहिलेको पनि उस्तै छ। जितमा भने हामीले त्यस पुस्तालाई उछिन्नुपर्छ।’

पहिलो खेल जितिसकेकाले अहिले खेलाडीहरुको मनोबल उच्च रहेको उनले बताए। आफ्ना खेलाडीहरु लामो समयदेखि राष्ट्रिय टोली र ठूला क्लबबाट खेलिरहेकाले उनीहरुले नयाँ इतिहास खेल्ने विश्वास उनले व्यक्त गरे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com