आजको खेल अर्जेन्टिना ले जितेमा, मेस्सीका फ्यान निराश हुने बेला भएको छैन,


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

विश्वकपमा गत शनिबार अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग १-१ को बराबरीमा रोकियो ।

बिहीबार राति क्रोएसियासँग ३-० ले हार्न पुग्यो । अर्जेन्टिनाको यो हारसँगै मेस्सीका फ्यानहरु निराश बनेका छन् । किनभने विश्वकप विजेताको दाबेदार अर्जेन्टिना समूह चरणबाटै बाहिरिने पो हो कि भन्ने चिन्ता मेस्सीका फ्यानहरुमा देखिएको छ ।

बिहीबार क्रोएसियासँगको हारपछि अब नकआउट चरणमा जाने अर्जेन्टिनाको सम्भावना कमजोर बनेको छ । अघिल्लो चरण्ण जान उसले आफ्नो खेलमा सुधार गरेर मात्र पुग्दैन अरुको खेलमा पनि भर पर्नुपर्छ । यद्यपि, असम्भव नै भइसकेको छैन । त्यसैले अहिले नै मेस्सीका फ्यानहरुले निराश भइहाल्नुपर्ने अवस्था छैन ।

अहिलेसम्म दुई खेलमा ६ अंक लिएको क्रोएसिया नकआउट चरणमा पुगिसकेको छ । अर्जेन्टिना र आइसल्याण्डको एक/एक अंक छ । समूह डीको पु्छारमा रहेको नाइजेरियाको भने शून्य अंक छ ।

नाइजेरियाले जित्दा अर्जेन्टिनालाई फाइदा !

अर्जेन्टिनाको विश्वकप यात्रा कस्तो हुने भन्ने शुक्रबार (आज) राति पौने ९ बजे हुने आइसल्याण्ड र नाइजेरियाको खेलमा पनि धेरै भर पर्नेछ । यसपछि अर्जेन्टिनाले समूह चरणको आफ्नो अन्तिम खेल नाइजेरियासँगै असार १२ गते राति पौने १२ बजे खेल्नेछ ।

अर्जेन्टिनी फुटबल समर्थकले अहिले सोचिरहेको कुरा हो, आजको खेल आइसल्याण्डले नजितोस्, कि नाइजेरियाले जितोस् कि त बराबरी खेलिदिउन् । त्यसपछि क्रोएसियाले आइसल्याण्डलाई हराइदेओस् । यस्तो हुँदा अर्जेन्टिनाले नाइजेरियालाई हराएमा अघिल्लो चरणमा पुग्न सक्छ ।

आजको खेलमा हालसम्म शून्य अंकमा खुम्चिएको नाइजेरियाले जितेमा अर्जेन्टिनाको आश अलि बलियो बन्ने छ । तर, अर्जेन्टिनासँग बराबरी खेलेर एक अंक जोडेको आइसल्याण्डले खेल जितेमा भने अर्जेन्टिनाको सम्भावना अझै कमजोर हुनेछ ।

किनभने, आज नाइजेरियाले हार्‍यो भने आइसल्याण्डले ३ अंक थप्ने छ र उसको अंक चार पुग्नेछ । आइसल्याण्डले आज ४ अंक जोड्यो भने अर्जेन्टिनाले असार १२ गते नाइजेरियालाई हराए पनि नकआउट चरणमा छनोट हुन नाइजेरियालाई धेरै गोल अन्तरले हराउनुपर्नेछ । किनकि, नाइजेरिया र आइसल्याण्डको ४/४ अंक भएमा जसको गोल संख्या बढी हुन्छ, उही छानिनेछ । यस्तो अवस्थामा पनि समूह चरणको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई हराएमा मात्र अर्जेन्टिनाको अन्तिम १६ को बाटो खुल्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com