इटलीलाई विश्वकप छनोटबाट रोक्ने टीमको आज परीक्षा


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

जर्मनी मेक्सिकोसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया थप दबाबमा परेका छन् । विश्वकपमा उनीहरुको यात्रा सोमबारकै खेलले तय हुनेछ ।

स्वीडेन विश्वकपसम्म आइपुग्ने यात्रा नै सनसनीपूर्ण रहृयो । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै स्वीडेनले विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

यसअघि पनि ११ पटक विश्वकप खेलेको स्वीडेनले पछिल्लोपटक सन् २००६ मा विश्वकप खेलेको थियो ।

स्वीडेनका लागि सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिलसँग पराजित भएपछि सम्झनलायक विश्वकप हुन सकेको छैन ।

स्वीडेन सन् १९३८, १९५० र १९९४ मा सेमिफाइनलमा पराजित भएको थियो । सन् २००२ र २००६ मा भने अन्तिम १६ बाट बाहिरिएको थियो ।
यसपटक अन्तिम १६ सम्म पुग्ने आँकलन गरिए पनि बलियो टोलीबीच स्वीडेनको सम्भावना आँकलन गर्न भने कठीन छ ।

उता सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औं विश्वकप सहभागिता हो । सन् २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

त्यसअघि १९५४, १९८६, १९९०, १९९४ र १९९८ मा समूह चरणबाट बाहिरिएको दक्षिण कोरिया २००६ र २०१४ मा पनि समूह चरणबाटै बाहिरियो । सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो ।

विश्वकपका लागि एसिया छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरी गरेपछि दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

तथ्यांकमा दुई देश

स्वीडेनले अहिलेसम्म विश्वकपमा १६ खेल जितेको छ । १३ खेल बराबरी गरेको छ । १७ खेल हारेको छ । जसमा स्वीडेनले ७४ गोल गरेको छ भने ६९ गोल खाएको छ ।

दक्षिण कोरियाले विश्वकपमा ५ खेल जितेको छ । ९ खेल बराबरी गरेको छ । १७ खेल हारेको छ । जसमा कोरियाले ३१ गोल गरेको छ भने ६७ गोल खाएको छ ।

रसिया विश्वकप छनोटको खेलमा स्वीडेनले ७ खेल जितेको थियो । दुई खेल बराबरी गरेको थियो भने ३ खेल हारेको थियो । जसमा २७ गोल गरेको स्वीडेनले ९ गोल खाएको थियो ।

विश्वकप छनोटका खेलमा कोरियाले ४ खेल जितेको थियो । ३ खेल बराबरी गरेको थियो भने ३ खेल हारेको थियो । जसमा कोरियाले ११ गोल गरेको थियो भने १० गोल खाएको थियो ।

स्वीडेन र दक्षिण कोरियाले अहिलेसम्म चार खेल खेलेका छन् । जसमा दुई खेल स्वीडेनले जितेको छ भने दुई खेल बराबरी भएको छ ।

स्वीडेनले कोरियालाई १७ गोल हानेको छ भने ३ गोल मात्रै खाएको छ । सन् १९४८ को लण्डन ओलम्पिकमा स्वीडेनले दक्षिण कोरियालाई १२-० को फराकिलो अन्तरमा हराएको थियो ।

हेर्न पर्ने खेलाडी

कि सुङ युङ – कोरिया

सन् २००८ देखि कोरियन टिममा रहेका सेन्टर मिडफिल्डर कि सुङ युङले राष्ट्रिय टिमका लागि एक सय खेलमा १० गोल पनि गरेका छन् ।

इंग्लिस क्लब स्वान्से सिटीबाट व्यावसायिक फुटबल खेल्ने उनी कोरियन टिमका मुख्य खेलाडी हुन् । कोरियन टिमका कप्तानसमेत रहेका उनी फुटबलकै कारण कोरियालीमाझ निकै प्रख्यात पनि छन् । उनी डिफेन्स लाइन, बल पास साथै आक्रमणमा पनि उत्कृष्ट तालमेल मिलाउन सक्छन् ।

मार्कस बर्ग – स्वीडेन

रसिया विश्वकप छनोटको खेलमा ८ गोल गरेका उनले स्टार खेलाडी जाल्टन इब्राहिमोभिचको कमि पूरा गरिरहेका छन् ।

३१ वर्षका उनी सन् २००८ देखि स्वीडेनको राष्ट्रिय टिममा छन् । जसमा ५५ खेलमा उनले १८ गोल गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com