अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनियाँ समर्थन


प्रकाशित मिति : जेष्ठ १०, २०७५ बिहीबार

चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ ।

यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक सबै सहयोग हुने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

अमेरिकाको वासिङ्टनमा अमेरिकी विदेशमन्त्री माइक पेम्पेओसँगको द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनका क्रममा विदेशमन्त्री वाङले सो धारणा राख्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ अमेरिका पुग्नुभएको छ । उहाँले बुधबार आफ्ना अमेरिकी समकक्षीयसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले उक्त वार्ताको सफलताका लागि चीनले जे गर्नुपर्छ त्यो गर्नेछ भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन महिनाको १२ तारिखमा सिंगापुरमा शिखर बैठक र वार्ता हुने भनिएको छ ।

तर उक्त मितिमा हुने भनिएको सो शिखर बैठक सोही दिनमा नहुन पनि सक्ने आशङ्का मङ्गलबार मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको थियो ।

उहाँले मङ्गलबार संवाददाताहरूसँग सो प्रतिक्रिया दिएको एक दिनपछि बुधबार भने चिनियाँ विदेशमन्त्रीको यो प्रतिक्रिया आएको छ ।

तर अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त बैठक निर्धारित मितिमा हुनेमा आशङ्का व्यक्त गरेपनि वर्ता भने हुने बताउनुभएको छ । उहाँले उत्तर कोरियाले केही शर्तहरू पूरा गर्नुपर्ने अवस्था रहेकोले उक्त शिखर बैठक निर्धारित समयमा नबस्न पनि सक्ने बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको सो प्रतिक्रियाको जवाफमा चिनियाँ विदेशमन्त्री वाङले भन्नुभएको छ– उक्त बैठक निर्धारित समयमै बसोस र दुई देशकाबीचमा हुन लागेको यस शिखर बैठक सफल पनि होस् भन्ने चीनको चाहना छ ।

उक्त पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङले भन्नुभयो– हामीलाई विश्वास छ कि अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम नै यस समस्याको समाधानका लागि सक्षम हुनुहुन्छ र आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि के गर्नुपर्छ भन्ने बारेमा पनि उहाँहरुले आफैले गर्न सक्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले त्यस विषयमा गर्ने निर्णय नै विश्वका लागि एउटा राम्रो र शुभ समाचार हुने अपेक्षा पनि चीनले राखेको सो अवसरमा विदेशमन्त्री ले बताउनुभएको थियो ।

तर प्योङयाङले भने संयुक्त राज्य अमेरिकाले एकपक्षीय रुपमा उत्तर कोरियालाई मात्र निःशस्त्रीकरणमा जोड दिने गरेको आरोप लगाएको छ ।

सोही कारण तथा केही दिनयता देखि दक्षिण कोरियाको राजधानी सोलमा जारी रहेको अमेरिका र सोलको संयुक्त सैन्य अभ्यासका कारण उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्तामा नबस्ने चेतावनी दिएको थियो ।

तर राष्ट्रपति ट्रम्पले भने आफूले उत्तर कोरियाली नेता किमलाई शान्तिका क्षेत्रमा गम्भीर रहेको पाएको भन्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उहाँ इच्छुक रहेको पनि बताउनुभएको थियो ।

उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका अतिरिक्त चिनियाँ विदेशमन्त्री पनि अमेरिका पुग्नुभएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन र राष्ट्रपति ट्रम्पबीचको यस बैठकले अमेरिका र उत्तर कोरियाको बीचमा हुन लागेको उक्त जुन बैठकको लागि विविध विषयहरू तयगर्ने पनि ठानिएको समाचारमा जनाइएको छ ।

अमेरिकी भनाइप्रति कोरियाको आपत्ति

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ ।

उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाउनुभएको हो । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उहाँको भनाई छ ।

उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको, दक्षिण कोरियासँग बृहत शान्ति सम्झौता गरेको तर अमेरिकाले आफ्नो सदासयतालाई कमजोरीका रुपमा लिएको बताउनुभयो ।

दक्षिण कोरियाद्वारा वार्ताको अर्काे मिति तोक्ने तयारी

त्यसैगरी प्राप्त एक अर्काे समाचारमा जनाइएअनुसार दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ताका लागि अर्काे मिति तोक्न लागेको बताइएको छ ।

दक्षिण कोरिया र उत्तरका बीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलमा दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै यस सैन्य अभ्यास नरोक्दासम्म अर्काे बैठक नबसिने भन्दै उत्तर कोरियाले सो अडान लिएको थियो ।

तर पनि वार्ताबाट पछि नहट्न दक्षिण कोरियाको जोड रहेको छ । दक्षिण कोरियाले अर्काे वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com