अमेरिकामा ज्वालामुखीपछि शक्तिशाली भूकम्पको धक्का


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

अमेरिकाको हवाई प्रान्तमा शुक्रबार किलवेआ ज्वालामुखी विष्फोटका कारण नजिकैको मरुभूमी क्षेत्रमा दर्जनौं शक्तिशाली भूकम्प गएका छन् ।

ज्वालामुखी क्षेत्रको दक्षिण पूर्वी भागमा गएको एउटा ६.९ रेक्टर स्केलको भूकम्प अमेरिकाको इतिहासमा सन् १९७५ पछिको सबैभन्दा शक्तिशाली भूकम्प भएको बीबीसीले उल्लेख गरेको छ ।

भूकम्पपछि त्यस क्षेत्रमा बिजुली बन्द भएको र नागरिकहरु आ–आफ्ना घरहरुबाट भागेको भएपनि त्यस क्षेत्रमा सुनामीको पूर्व–सूचना भने दिइएको छैन ।
यसैबीच दर्जनौं ज्वालमुखी फुटेर ३० मिटरसम्म अग्ला लावाका फोहरा छुटेका थिए । आलो लावाले थुप्रै घरहरु डढाएको र सडकमा ढिस्का र खाल्डाहरु बनाएका थिए ।

त्यहाँको नागरिक सुरक्षा विभागले बाँकी रहेका स्थानीयहरुलाई त्यो क्षेत्र छोड्न आग्रह गरेका छन् । हावामा अत्यधिक मात्रामा सल्फर डाइअक्साइड ग्यास मिसिएकोले कोही बिरामी परे उद्दारकर्मीले सहयोग गर्न नसक्ने भएकाले उनीहरुलाई चाँडोभन्दा चाँडो क्षेत्र छोड्न आग्रह गरिएको हो ।

माउण्ट किलवेआ क्षेत्रको ज्वालामुखीबाट शक्तिशाली लावा निस्केको अमेरिकाको भूगर्भ सर्वेक्षण विभाग ‘यूएसजिएस’ ले जनाएको छ । त्यस स्थानमा भूकम्पको धक्का र ज्वालामूमीका कारण लाभाका फोहोराहरु छुटिरहेको यूएसजिएसले जनाएको छ । पछिल्लो घटनामा दुई घर नष्ट भएको हवाइ आइसल्याण्डका मेयर ह्यारी किमलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

घरबाट भाग्दै गर्दा एक स्थानीयले भने, ‘मेरो परिवार सुरक्षित छ, बाँकी सामान त फेरि ल्याउन सकिन्छ, उनले भने, मैले १४ वर्षअघि यहाँ घर किन्दा एकादिन यो अवस्था आउँछ भन्ने थाहा थियो, तर यथार्थ अझै खस्कँदो अवस्थामा छ ।

हावामा अत्यधिक सल्फर डाइ अक्साइड ग्यास फैलिएकोले घर खाली गर्नको लागि स्थानीयहरु त्यो क्षेत्रमा फर्कन नसकेका हवाइका काउण्टीका प्रवक्ता ज्यानेट सिण्डरले जानकारी दिनुभयो ।

दुई घर नष्ट भए पनि मानव क्षति भने हुन पाएको छैन । हवाइका गभर्नर डेभिड इगेले त्यस क्षेत्रबाट मानिसहरुलाई हटाउन सैनिकहरु परिचालन गरिएको बताउनुभयो ।

माउण्ट किलवेआ विश्वमै ज्वालामुखी विष्फोट हुने खतरनाक क्षेत्र रहेको थियो । अधिकारीहरुले त्यस क्षेत्रका बासिन्दालाई ज्वालामुखी विष्फोट हुनुभन्दा पहिले नै पूर्व तयारी अवस्थामा रहन पहिलेदेखि नै चेतावनी दिँदै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com