आगमी तीन या चार हप्तामा उत्तर कोरियासँग वार्ता हुन्छ– राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ ।

मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ ।

यसअघि पनि उहाँले गत महिना मात्र उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रुपमा सफल हुने धारणा सार्वजनिक गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा यता ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समचार यसअघि नै आएको छ । यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसक्नुभएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोन वार्ता गर्नुभएको छ ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको फोनवार्तापछिको पछिल्लो प्रगतिको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसद्वारा पे्रषित एक विज्ञप्तिमा जनाइएको समाचारमा उल्लेख छ ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले गएको शुक्रबार भएको दुई कोरियाली उच्च नेताबीचको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गर्नुभएको छ ।
शनिबार बिहान भएको सो वार्तामा विशेषगरी उत्तर कोरिया र दक्षिण कोरियाबीचको हालै भएको भेटवार्ता र सम्झौताका बारेमा कुराकानी भएको वासिङ्टनबाट प्राप्त भएको एक समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिको कामना

उता चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गर्नुभएको प्राप्त अर्काे एक समाचारमा जनाइएको छ ।

सो समाचारअनुसार यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाँले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाली नेता जापानसँग वार्ता गर्न इच्छुक

यसैगरी उत्तर कोरियाली नेता उन जापानसँग पनि वार्ता गर्न इच्छुक रहनुभएको प्राप्त अर्काे एक समाचारअनुसार जनाइएको छ ।

उत्तर कोरियाली नेता उन जापानसँग पनि कुनै पनि समयमा आफू वार्ता गर्न तयार रहेको कुरा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको वार्ताका क्रममा जनाउनुभएको सो समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति इनसँग गएको शुक्रबार भएको सो वार्ताका क्रममा उत्तर कोरियाली नेता उनले आफू जापानसँगको वार्ताका लागि इच्छुक रहेको र त्यसका लागि उत्तर कोरियाले आन्तरिक तयारी पनि गरेको जानकारी गराउनुभएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ ।

कोरियाली प्रायद्वीपमा खुसियाली

कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्यौलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ ।

पश्चिमालगायतका विश्वका सञ्चारमाध्यमहरुले कोरिया युद्धपछि पहिलो पटक दुई देशका उच्च नेताहरुबीच भएको हालैको यो दुर्लभ भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने तथा कोरियाबीच पनि एकता हुनसक्ने सम्भावना रहेको भन्दै खुसी भएका समाचारहरु सम्प्रेषण गरेका छन् ।

गएको शुक्रबार सम्पन्न भएको दुई कोरियाली उच्च नेताहरूको भेटवार्ताले कोरियाली जनतालाई मात्र नभएर दक्षिण कोरिया, जापान, अमेरिकालगायत विश्व समुदायलाई पनि शान्तिको लागि राहत प्राप्त हुने सङ्केत देखिएको बताइएको छ ।

गतवर्षमात्र अमेरिका र उत्तर कोरियाबीच ठूलो वाकयुद्ध चलेको थियो । त्यसपछि भने उत्तर कोरिया नै नरम बन्दै गएको छ । जसका कारण आजको परिस्थिति बन्न सकेको छ ।

उत्तर कोरियाले गत वर्षको सेप्टेम्बर ३ मा छैठौँं तथा त्यस समयसम्मको सबैभन्दा ठूलो आणविक परीक्षण गरेको थियो । त्यस क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीप हुदै संसारमै ठूलो हलचल ल्याइदिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com