बेल्जियमको लुभेनमा चार पार्टीबाट चार नेपाली उम्मेद्वार


प्रकाशित मिति : बैशाख १६, २०७५ आईतबार

पञ्चम अधिकारी

बेल्जियममा मिनी नेपाल भनेर चिनिने लुभेन नगरपालिकामा चार पार्टीबाट चार जना नेपाली उमेदवार हुने भएका छन्।

लुभेनको एक प्रमुख आप्रवासी समुदायका रूपमा नेपाली रहेका छन्। त्यसैले यहाँका प्रमुख राजनीतिक पार्टीहरूले नेपालीलाई समेत मैदानमा उतारेका हुन्।

लुभेन नगरपालिकामा लामो समयदेखि चुनाव जित्दै आएको सोसलिस्ट पार्टी (SPA) ले सूर्य ढकाललाई उमेदवार बनाएको छ भने अर्का राष्ट्रिय पार्टीहरू CD&V ले रश्मी निरौला र ग्रीन पार्टीले बलीराम झालाई उमेद्वार बनाउने निर्णय गरेको छ।

त्यसैगरी मुलुकको सबैभन्दा ठूलो तर लुभेनमा सामान्य प्रभाव रहेको अर्को दल NVA ले कृष्ण क्षेत्रीलाई उमेदवार बनाउँदै छ ।

उसो त यी उमेदवारहरू यहाँको स्थानीय राजनीतिमा कुनै पकड बनाएका व्यक्तित्व होइनन् । यहाँ बोलिने डच भाषा फरर्र बोल्ने र बहस गर्न सक्नेसम्म पनि छैनन् । तैपनि चर्चित भइने आशमा चुनावको टिकट स्वीकारेका हुन्।

यही मेसोमा नेपाली अनुहारले नगर परिषदमा प्रतिनिधित्व गर्न सक्ने मौका मिलिहाल्छ की भनेर यहाँको नेपाली समुदायमा तातो बहस चल्न थालेको छ।

आउँदो अक्टोबरमा हुने नगरपालिकाको निर्वाचनका निम्ति अगस्ट १ सम्ममा ठेगाना दर्ता भएकाहरूले मताधिकार पाउँछन्। झण्डै ५० हजार मतदाता रहने लुभेनमा नेपाली मूलका मतदाताहरूको संख्या ५/६ सय रहेको छ। समानुपातिक मतदानका आधारमा नगर परिषदमा ४५ जनाको प्रतिनिधित्व हुनेगर्छ।

समानुपातिक मतदान प्रणालीका कारण नेपालीहरूको यो भोट एकत्र हुन सके कुनै राष्ट्रिय पार्टीबाट उमेदवार बनेको एक व्यक्ति निर्वाचित हुनसक्छ । तर यदी यो भोट समानुपातिक रूपमै बाँडिएमा अर्थहिन हुनसक्छ।

अहिले नेपालीहरू चारथरि पार्टीबाट उठेकाले दोस्रो सम्भावना ज्यादा देखिन्छ। फलतः एक नेपाली उमेदवार अर्को नेपाली उमेदवारलाई हराउन मात्र उपयोग हुने सम्भावना देखिएको छ ।

यहाँको स्थानीय निकायमा मतदान गर्दा दुई किसिमबाट आफ्नो छनोट अभिव्यक्त गर्न सकिन्छ । एक, नीतिगत झुकावले पार्टीलाई छान्न पाइन्छ, जुन भोटको वजन पार्टीमा त्यस उमेदवारको क्रमानुसार बाँडिन्छ।

दोस्रो, खास उमेदवारलाई व्यक्तिगत रूपमा पनि भोट दिन पाइन्छ । तसर्थ, स्थानीय रूपमा पकड भएको पार्टीबाट उठेको उमेदवारले केही सय व्यक्तिगत भोट ल्याउन सके चुनाव जित्ने सम्भावना रहन्छ । लुभेनमा सोसलिस्ट पार्टीको प्रभाव ज्यादा भएको हुँदा र उसको आप्रवासीमैत्री नीतिका कारणले पनि सोसलिस्ट पार्टीको उमेदवारलाई सबैभन्दा सहज परिस्थिति छ ।

अर्को सबैभन्दा रमाइलो के छ भने अध्यागमनविरोधी नीतिका निम्ति चिनिएको पार्टीबाट समेत नेपालीहरू धमाधम उमेदवार बनिरहेका छन्।

बेल्जियमको सबैभन्दा ठूलो सत्तारूढ पार्टी NVA अध्यागमनमा कडाई अपनाउने मान्यता बोकेको पार्टी हो। त्यसैकारण यस पार्टीमा विदेशी मूलका मान्छेहरूको खासै आकर्षण छैन। तर, अध्यागमनमैत्री नीति बोकेका पार्टीहरूमा विदेशी मूलका मान्छेहरूको भोट एक ठप्पा नहोस् भनेर समानुपातिक लिस्टमा केही विदेशी अनुहार राख्ने चुनावी चाल NVA ले चालेको पाइन्छ। यही चालमा फँस्ने सजिला आप्रवासी बनेका छन्- नेपालीहरू ।

अध्यागमन भनेको हरेक नेपालीको जीवनसँग जोडिएको सवाल हो । यहाँ थुप्रै नेपालीहरू कानूनी लडाईं लडिरहेका छन्, आवासीय भिसाका निम्ति। कानूनी रूपमा स्थायी बसोबास अनुमति-पत्र पाएका वा यतैको नागरिकता स्वीकार गरेका सबै नेपालीको नियमित जीवनमा अध्यागमन नीतिले असर गर्छ। किनकी यहाँको नागरिक भैसकेका नेपालीलाई पनि आफ्ना नातागोतालाई भिजिट भिसामा बोलाउनेदेखि अभिभावकहरूलाई ल्याउने सवाल अध्यागमन कानूनसँगै जोडिएको छ । तर अध्यागमनविरोधी नीति बोकेको पार्टी भए पनि व्यक्तिगत पहुँच हुने लोभमा केही नेपालीहरू त्यस्तो पार्टीबाट प्रयोग भइरहेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com