भारतमा रेलले बसलाई ठक्कर दिँदा १३ विद्यार्थीको मृत्यु


प्रकाशित मिति : बैशाख १४, २०७५ शुक्रबार

भारतमा एउटा रेलले विद्यार्थी सवार बसलाई ठक्कर दिँदा कम्तीमा १३ विद्यार्थीको मृत्यु भएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट ३ सय २३ किलोमिटर टाढा कुशीनगर जिल्लाको बेहपूर्व भन्ने ठाउँमा बिहीबार भएको सो दुर्घटनामा कम्तीमा सातजना घाइते भएका छन् ।

युपीको थावे–कम्पतागन्ज सडकखण्डमा गुडेको रेलले बसलाई ठक्कर दिएको थियो । ठक्कर दिएको रेल सिवानबाट गोरखपुरतर्फ जाँदै थियो ।

बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएपछि दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

‘बिहीबार बिहान तीव्र गतिमा आएको स्वचालित रेलले एउटा विद्यालय बसलाई ठक्कर दिँदा बसमा चढेकामध्ये कम्तीमा ११ बालबालिकाको मृत्यु हुनुका साथै सातजना गम्भीर घाइते भएका छन्,’ वरिष्ठ प्रहरी अधिकृत आनन्द कुमारले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घाइते विद्यार्थीलाई तत्काल अस्पताल पु-याइएको र केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनामा परेका बालबालिका अधिकांश दश वर्षमुनिका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले घटनामा पीडित बालबालिकाहरूलाई राहत रकम दिने घोषणा गरेका छन् । घटनाका बारेमा छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको अधिकारीहरूले जनाएका छन् । यसअघि हिमाञ्चल प्रदेशमा विद्यालय बस दुर्घटना हुँदा २७ बालबालिकासहित ३० जनाको मृत्यु भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com