सिरियामा अमेरिकाले फेरि आक्रमण गरे जे पनि हुन सक्छ-पुटिन


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

सिरिया मामिलामा रुस र अमेरिकाबीच चलिरहेको वाकयुद्ध रोकिने छाँटकाट देखिनेवाला छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अमेरिकालाई चेतावनी दिँदै फेरि सिरियामा कुनै सैन्य आक्रमण भए त्यसको प्रतिक्रिया जे पनि हुन सक्ने बताएका छन् ।

डुमामा गराइएको रासायनिक आक्रमणपछि शनिबार अमेरिकी नेतृत्वमा सिरियाका तीन ठाउँमा बमबारी भएको थियो ।

रुसले यो आक्रमणको विरोधमा आधिकारिक बयान जारी गरिसकेको थियो । अब राष्ट्रपति पुटिन आफैले सिरियामा कुनै सैन्य कारवाही नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्लादिमिर पुटिनले यदि संयुक्त राष्ट्र संघको चार्टरको उल्लंघन भएमा त्यसले विश्वमा भयावह अवस्था सिर्जित हुन सक्ने बताउनुभएको छ ।’

साथै रुसी राष्ट्रपति कार्यालयले यही विषयमा रुसी राष्ट्रपति पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच टेलिफोन वार्ता भएको बताएको छ । दुवैले सिरियामा भएको आक्रमपछि सिरियाको राजनीतिक संकट समाधानका लागि भैरहेको प्रयासमा नोक्सान भएको बताएका छन् ।

सिरियाको दमास्कस र होम्समा भएको सैन्य कारवाहीपछि अमेरिकाले राष्ट्रपति बशर अल असदमाथि दबाब बनाउने प्रयास गरिरहेको छ ।

आइतबार संयु क्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरियाली सरकारसँग सम्बन्ध कायम भएका रुसी कम्पनीलाई आर्थिक प्रतिबन्ध लगाउने बताएका थिए ।

प्रतिबन्धका लागि रुस तयार
सिरियामा भएको आक्रमणपछि संयुक्त राष्ट्र संघमा निन्दा प्रस्ताव पास गर्न असमर्थ रहेको रुसले अमेरिकाको आक्रमणलाई निरन्तर विरोध गर्दै आएको छ ।

सीबीएस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै निकी हेलीले सोमबार सिरियाको कथित रासायनिक आक्रमणलाई सघाइरहेका सिरियाली कम्पनीमाथि प्रतिबन्ध लगाउने बताएका छन् । साथै रुसी संसदको माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशक एवगेनी सेरेब्रेनिकोवले रुस जस्तोसुकै प्रतिबन्धका लागि तयार भएको बताएका छन् ।

सरकारी समाचार संस्था आरआईएले सेरेब्रेनिकोवलाई उद्धृत गर्दै भनेको छ, ‘प्रतिबन्धले हामीलाई कठिन अवस्थामा पक्कै धकेल्छ, तर हामीलाई भन्दा यसले अमेरिका र यूरोपलाई बढी क्षति पुग्नेछ ।’

अप्रिल ७ मा डुमा भएको भनिएको रासायनिक आक्रमणपछि शनिबार अमेरिका, फ्रान्स र ब्रिटेनले साझा सैन्य कारवाही गर्दै सिरियाका विभिन्न ठाउँमा एक सयभन्दा बढी मिसाइल आक्रमण गरेको थियो । अमेरिकाले आक्रमण गरेका ती ठाउँहरुमा सिरियाली सरकारले रासायनिक हतियार बनाउँदै आएको आरोप लगाउँदै आएको छ ।

नयाँ शीत युद्ध
अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले सिरियामा पश्चिमा राष्ट्रको आक्रमणपछि रुस र अमेरिकाको सम्बन्ध अब अन्तर्राष्ट्रिय सम्बन्धको स्तरमा कायम हुने बताएका छन् ।

पछिल्लो हप्तादेखि संयुक्त राष्ट्र सुरक्षा परिषद सिरियाका समर्थक तथा आलोचक देशका अखडा बनेको छ । शुक्रबार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले सिरियाको लडाईँ विश्व सुरक्षा तथा शान्तिका लागि चुनौतीपूर्ण भएको बताएका छन् । महासचिव गुट्रेसले बढ्दो शीत युद्धका कारण दशकौँ पहिले देखिएको समाधानको विकल्प पनि अब नरहेको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com