सिरियामा अमेरिकालाई साथ दिन्छौँ– फ्रान्सेली राष्ट्रपति


प्रकाशित मिति : बैशाख ३, २०७५ सोमबार

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा गरिसकेका छौँ तर अन्तर्राष्ट्रिय कानुन अनुसार नै हामीले सिरियामाथि कारबाही गरेका छौँ ।

उहाँले आवश्यक परेमा लामो समयसम्म पनि सिरियामा अमेरिकासँगै रहेर कामगर्ने गरी गत शनिबार संयुक्त रुपमा आक्रमण गरिएको दाबी पनि उहाँले गर्नुभयो ।

राष्ट्रपति म्याक्रोनले उक्त आक्रमण विधिसम्मत नै रहेको जिकिर पनि गर्नुभयो । उहाँको भनाई थियो– सिरियामा गएका सात वर्षमा धेरै नागरिक मारिएका छन् र यहाँको सरकारले नै घातक हतियारहरुको प्रयोग गरिरहेको छ त्यसैले ती हतियार नष्ट गर्नुपर्ने भएकोले सो आक्रमण वैधानिक रहेको उहाँको भनाई थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले विश्व समुदायलाई सिरियाको मानवहत्या रोक्ने काममा सघाउन पनि आग्रह गर्नुभएको छ ।

उहाँले मानवका विरुद्धमा यस्ता रासायनिक र घातक हमलाहरु प्रयोग गरेकोमा सिरियाली सरकार कडा कारबाहीको भागिदार बन्नुपर्छ र यसका लागि विश्व समुदायले पनि सहयोग गर्नुपर्छ भन्नुभयो ।

अमेरिका, रुस र फ्रान्सको हमला भनेको अरु केही नभएर सिरियाली सरकारले भण्डारण गरेको मानव स्वास्थ्यका लागि घातक मानिएका रासायनिक हतियारहरुको नष्ट गर्नु हो भन्दै हवाई आक्रमणहरु पनि ती बाहेक अन्यत्र कतै नगरिएकोले विश्व समुदायले यसलाई राजनीतिक मुद्धा बनाउन उचित नहुने बताउनुभयो ।

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले गएको शनिबार हवाई आक्रमण गरेका थिए । समाचारमा जनाइएअनुसार शनिबार सिरियाको राजधानी सहर दमासकस र यसको वरपरका क्षेत्रमा आक्रमण भएको थियो ।

विशेषगरी सिरियाली राजधानी दमासकसमा भएको यो आक्रमण अमेरिकी नेतृत्वमा शुरु भएको थियो । तर सो आक्रमण शनिबारै अन्त्य भएको घोषणा गरिएको छ ।

तर पनि आवश्यक परेमा यस्तो आक्रमण फेरि पनि गरिने धारणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राख्नुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा हमलाका लागि आफूले अनुमोदन गरेकोले फेरि पनि आवश्यक परेमा फेरि सिरियामाथि कारबाही हुने जानकारी दिनुभएको छ ।

डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकोले सो हतियार रहेको भण्डारणमा हमला भएको छ । सो कारबाहीका लागि बेलायत र फ्रान्सले पनि साथ दिएको थियो ।

आक्रमणको अमेरिकामा विरोध
अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणका विरुद्ध अमेरिकामै सरकारको विरोध भएको छ । यस आक्रमणको अनुमोदन गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गर्दै उक्त कार्यका विरुद्धमा अमेरिकी नागरिकको हस्ताक्षर समेत संकलन गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउस अगाडि जम्मा भएर हजारौँ अमेरिकीले आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले त्यस अवसरमा राष्ट्रपति ट्रम्पको विरुद्धमा नाराबाजी पनि गरेका छन् ।

प्रदर्शनकारीहरूले पहेँलो ब्यानर लिएर सिरियामा आक्रमण गर्ने काम तत्कालै बन्द गर्न भनेका छन् । उनीहरूले युद्धको बाटो छोडेर शान्तिको मार्ग रोज्न आह्वान गरेका छन् ।

उता राष्ट्रपति ट्रम्पले भने सिरियाली सरकारले रासायनिक हतियारको प्रयोग गरेर हजारौँ नागरिक मारेको भन्दै त्यसैको विरुद्धमा आक्रमण लक्षित रहेको स्पष्ट गर्नुभएको छ । (रासस÷एएफपी)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com