नाइजेरियामा बोको हरामद्वारा एक हजार बालबालिकाको अपहरण


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

नाइजेरियामा लडाकू समूह बोको हरामद्वारा अहिलेसम्म एक हजार बालबालिकालाई अपहरण गरिसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले शुक्रबार दिएको जानकारीअनुसार सन् २०१३ देखि अहिलेसम्म उत्तरपूर्वी नाइजेरियाबाट ती बालबालिका अपहरित भएका हुन् ।

लडाकूहरुले बालबालिकालाई हानी हुनेगरी विद्यालयमा पटकपटक आक्रमण गर्ने गरेको पनि युनिसेफले जनाएको छ ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा द्वन्द्व शुरु भएको झण्डै नौ वर्षको अवधिमा १४ सयभन्दा बढी विद्यालयमा आक्रमणकारीले क्षति पु¥याएका छन् ।

यो अवधिमा बोको हरामको आक्रमणमा परेर दुई हजार २९४ जना शिक्षक मारिएका युनिसेफले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

युनिसेफले थप जानकारी दिँदै भनेको छ, “धेरै विद्यालयमा अझै पनि फेरी पढाई शुरु हुनसकेका छैनन, विद्यालय अत्याधिक क्षति भएको र सुरक्षाको प्रत्याभूति अझै नभएकाले विद्यालय फेरी खुल्न नसकेका हुन् ।”

सन् २०१४ मा चिबोक भन्ने ठाउँको एउटा विद्यालयबाट २७६ जना बालिका अपहरण गरिएपछि विश्वको ध्यान त्यसतर्फ गएको थियो । यो दुःखद् घटना भएको चार वर्षसम्ममा एक सय बालिका मात्रै घर फर्केका युनिसेफले जनाएको छ ।

सबैभन्दा पछिल्लो घटनाअनुसार डाम्चीमा रहेको एउटा विद्यालयमा भएको आक्रमणमा परी कम्तीमा पाँच बालिका मारिएका छन् । यो पछिल्लो घटनाले त्यस क्षेत्रमा अहिलेसम्म पनि असुरक्षा र आतंक जारी छ भन्ने पुष्टि भएको अधिकारकर्मीले बताएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com