पूर्वराष्ट्रपतिद्वारा आत्मसमर्पण


प्रकाशित मिति : चैत्र २५, २०७४ आईतबार

भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका ब्रजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले १२ वर्षे कैद सजाय काट्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

स्टील उद्योगका कर्मचारी युनियनको भवनमा शरण लिँदै लुलाले आत्मसमर्पण गर्नुपर्ने म्याद गुजारेसँगै दुई दिनदेखिको अन्योलपछि पछिल्लो विवरण बाहिर आएको हो।

७२ वर्षीय लुला आफ्नो गृहनगरस्थित कर्मचारी युनियनको कार्यालयबाट बाहिर निस्केका थिए र प्रहरीले उनलाई कारमा लगेका थिए।

यसअघि कैयौँ समर्थकहरूले उनी चढेको कारको बाटो छेकेका थिए।

उम्मेदवार
लुलाले पक्राउ आदेशको पालना गर्ने बताएका थिए। तर उनले आफू निर्दोष भएको जोड दिँदै आएका छन्।

ब्रजिलको ग्लोबोन्यूजको भिडिओ फूटेजमा साउँ बेर्नार्डू डो क्याम्पो शहरस्थित कर्मचारी युनियन भएको भवनबाहिर लुला र उनका अङ्गरक्षकलाई भीडबाट निकाल्दै गरेको देखिन्छ।

 

उनलाई अब दक्षिणी शहर कूरिटीबास्थित एउटा जेलमा लगिनेछ।

लुला आउँदो अक्टोबरमा हुने राष्ट्रपतीय चुनावका एक महत्त्वपूर्ण उम्मेदवार थिए।

तर उनको कैद सजायसँगै चुनावी दौड व्यापक खुल्ला भएको छ।

नायक
धातुसम्बन्धी पूर्वकामदार र कर्मचारी युनियनका नेता रहिसकेका लुला ल्याटिन अमेरिकामा वामपन्थीहरूका निम्ति एक नायक हुन्।

‘अपरेशन कार वाश’ नामले परिचित भ्रष्टाचारविरूद्धको एउटा अनुसन्धानपछि उनीमाथि आरोपहरू लगाइएको थियो।

उक्त अनुसन्धानले कैयौँ पार्टीका उच्च राजनीतिज्ञहरूको संलग्नता देखाएको छ।

पूर्वराष्ट्रपति लुलाले राष्ट्रपतीय चुनावमा उठ्न नदिने षड्यन्त्र अनुरूप आफूलाई दोषी ठहर गरिएको बताउने गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com