अमेरिका: आप्रवासीका मुद्दा छिन्न न्यायाधीशलाई दबाब


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

अमेरिकाको न्याय मन्त्रालयले आप्रवासनसम्बन्धी मुद्दा हेर्ने न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइलाई गति दिन दबाब दिन लागेको अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्।

“सन्तोषजनक” कार्यसम्पादन मूल्याङ्कनका लागि न्यायाधीशहरूलाई अब वर्षमा कम्तीमा ७०० मुद्दा हेर्न दबाब दिन लागिएको बताइएको छ।

यसअघि कतिपय न्यायाधीशले करिब ६०० मुद्दा हेरेका थिए भने कतिपयले १००० सम्म मुद्दा हेरेको सञ्चारमाध्यमले जनाएका छन्।

तर आलोचकहरूका अनुसार नयाँ योजनाले मुद्दाहरू छिटो सक्ने क्रम बढ्न सक्छ र त्यसका कारण कानुनी प्रक्रिया प्रभावित हुन सक्छ।

चाप

करिब छ लाख मानिसहरूले विभिन्न अमेरिकी अदालतहरूबाट आफ्ना आप्रवासनसम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षा गरिरहेको अनुमान गरिएको छ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले आप्रवासनसम्बन्धी मुद्दाको चाप घटाउनका लागि नयाँ नीति ल्याउने तयारी गरिरहेका छन्।

आइतवार राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन कंग्रेस सदस्यहरूलाई आप्रवासन विरोधी “कडा” कानुन पारित गर्न आग्रह गरेका थिए।

उनी वैध कागजात नभएका आप्रवासीहरूको विपक्षमा उभिने गरेका छ्न्।

BBC Nepali

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com