अब सबै अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जालको विवरण बुझाउनुपर्ने


प्रकाशित मिति : चैत्र १७, २०७४ शनिबार

अब अमेरिकी भिसाका लागि आवेदन दिने प्राय सबैका सामाजिक सञ्जालहरु जाँचिने भएको छ । शुक्रबार फेडलर रजिस्टरमा प्रकाशित प्रस्तावित नियम अनुशार गैरआप्रवासी भिसाका लागि आवेदन दिने आवेदकहरुले समेत अबदेखि उनीहरुले विगत ५ बर्षमा प्रयोग गरेका सामाजिक सञ्जालका युजर नेमहरु बुझाउनुपर्नेछ । हरेक बर्ष झण्डै १४ मिलियनले अमेरिकाको गैरआप्रवासी भिसाका लागि आवेदन दिने गरेका छन् ।

गत सेप्टेम्बरमा ट्रम्प प्रशासनले अमेरिकाको आप्रवासी भिसाका आवेदकले आफ्ना सामाजिक सञ्जालका विवरणहरु बुझाउनुपर्ने घोषणा गरेको थियो । त्यसमा अहिले परिमार्जन गर्दै गैरआप्रवासी भिसाका आवदेकले समेत सामाजिक सञ्जालका विवरणहरु बुझाउनुपर्ने नियम बनाउन लागिएको हो । यो नियम तत्काल लागु भएको भने छैन । आगामी मे २९ सम्म फेडरल रजिस्टरमा प्रकाशित यो सुचनामा सार्वजनिक रुपमा प्रतिकृयाको आब्हान गरिएको छ । त्यसपछि सम्भवत यो नियम लागु हुनेछ ।

नयाँ प्रस्तावले २० वटा सामाजिक सञ्जालहरुलाई समेटेको छ, जसमध्ये अधिकांश अमेरिकामा मुख्यालय रहेकाहरु छन् । फेसबुक, फ्लीकर, गुगल प्लस, इस्टाग्राम, लिंक्डइन, माइस्पेस, पिन्ट्रेस्ट, रेडिट, टम्बलर, ट्वीटर, भाइन र युट्युबका युजर नेमहरु आवेदकले बुझाउनुपर्नेछ । त्यस्तै केही सामाजिक सञ्जालहरु चिनिया र रसियन समेत रहेका छन् ।

अमेरिकाले भिसा फ्रि यात्राको अनुमति दिदै आएका ४० वटा देशहरु भने नयाँ नियमबाट प्रभावित हुनेछैनन् । त्यस्तै कुटनीटिक र सरकारी भिसामा अमेरिका आउनेहरुलाई पनि छुट दिइने जनाइएको छ । सामाजिक सञ्जालको विवरणका साथमा भिसा आवेदकलाई विगतका पासपोर्ट नम्बरहरु, फोन नम्बरहरु, इमेल ठेगानाहरु, अन्तर्राष्ट्रिय यात्राका विवरणहरु लगायत मागिने भएको छ । बर्षेनी झण्डै १४ मिलियनले अमेरिकाको गैरआप्रवासी भिसा फर्म डीएस १६० भर्दै आएका छन् । जसका लागि औषतमा ९० मिनेट लाग्ने गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com