दुई कोरियाको शिखर बैठक तोकिएलगत्तै अमेरिकाले दियो यस्तो प्रतिक्रिया


प्रकाशित मिति : चैत्र १६, २०७४ शुक्रबार

उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ ।  यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले यस विषयमा जानकारी दिएका हुन् । उनले बिहीबार उक्त मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा भने– दुई कोरियाबीचको आसन्न सम्मेलनका कारण अमेरिकासँगको आगामी बैठक पनि थप सहज हुनेछ ।

उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस बैठकको कार्यक्रम सार्वजनिक गरेका हुन् ।  नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भएका छन् । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने भनिएको छ । सो बैठकअघि अमेरिकी विदेश मन्त्रालयको यो भनाई आएको हो ।

प्रवक्ता हाइदरले भने– हामीले उत्तर कोरियासँग विश्वासका आधारमा वार्तागर्ने तयारी गरिरहेका छौँ र हाम्रो विश्वासअनुरुप उत्तर कोरियापनि आओस भन्ने हामी चाहन्छौँ ।  उनले यस वार्ताकै विषयमा उत्तर र दक्षिण कोरियासँग कैयौँ पटकसम्म फोनमा कुराकानी पनि भएका जानकारी सो अवसरमा दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै गत बुधबार मात्र पनि ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुदै गएको जानकारी दिएका छन् ।

किमका लागि यो ठूलो अवसर – राष्ट्रपति ट्रम्प 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमका लागि यो राम्रो अवसर भएको स्पष्ट गरे । किमले कोरियाली प्रायद्वीमा अब मानवीयताका आधारमा सोच्नुपर्ने पनि बताए ।  उनले भनेका छन्– ‘उत्तर कोरियाका लागि यो राम्रो अवसर हो, अब यसलाई कसरी सदुपयोग गर्ने र कोरियाली प्रायद्वीपको विषयमा अब विश्व समुदायसँग कसरी अघिबढ्ने भन्ने बारेमा नेता किमले नै बुझ्नुपर्दछ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनले हालै गरेको चीन भ्रमणले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको काममा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको बताएका हुन् ।  हालैमात्र अकस्मात चीनको भ्रमणमा पुगेका नेता किमले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति जनाएको चीनको भनाई आएको छ ।  उक्त चीन भ्रमणको दक्षिण कोरियाले पनि समर्थन गरेको छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले सो भ्रमण कोरियाली प्रयद्वीपमा शान्ति प्रक्रियाको लागि फलदायी हुने बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com