किमको हरियो रेल


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

सोमबार राति बेइजिङको केन्द्रीय रेल स्टेशनमा आइपुगेको हरियो रङको रहस्यमयी रेल उत्तर कोरियाली शासक किम जोङ उनको भएको पुष्टी भएको छ।

‘कसैलाई थाहै नदिई’ रेल चढेर आएका उन चीनियाँ समकक्षी सी चिनफिङ र अन्य उच्च अधिकारीलाई भेटेर मंगलबार प्योङयाङ फर्किसकेका छन्।

सन् २०११ मा उत्तर कोरियाली शासक बनेपछि उनले पहिलो पटक विदेश भ्रमण गरेका हुन्। सीसँगको भेटमा उनले कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणका लागि आफू तयार रहेको बताएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

संसारभरिका नेता समय र सुविधाका कारण हवाइजहाज र हेलिकोप्टरमार्फत् यात्रा गरिरहेका बेला किम किन यातायातको पूरानो साधनमा यात्रा गर्छन्? के उनको रेल विशेष छ?

अमेरिकी समाचार पत्र न्यूयोर्क टाइम्सका अनुसार किमको शासनजस्तै रेलको चलन पनि हजुरबुवाबाट बुवा हुँदै उनीसम्म आइपुगेको हो।

उत्तर कोरियामा शासन गर्ने किम तेस्रो पुस्ताका नेता हुन्। सन् १९५० को दशकमा दुई कोरिया छुट्टिएपछि उनका हजुरबुबा किम इल सङ शासक बनेका थिए। उनै सङले रेलबाट विदेश जाने चलन ल्याएका हुन्। सन् १९८४मा सङ रेलमै पूर्वी युरोप गएका थिए।

त्यसलाई उनका छोरा किम जोङ इलले पनि निरन्तरता दिए। इलको सन् २०११ मा रेल यात्राकै क्रममा हृदयघात भएर निधन भएको बताइन्छ।

तेस्रो पुस्ताका उनले पनि आफ्नो पहिलो विदेश भ्रमण रेलबाटै गरेका छन्।

इललाई हवाइजहाज यात्रा मन पर्दैनथ्यो। उनी हवाइ यात्रा गर्न डराउँथे।

सन् २००२ मा उनी तीन हप्ता लामो रूस यात्रामा गएका थिए।

किमले चढ्ने रेलबारे सबै जानकारी खुपिया एजेन्सीका रिपोर्ट, यसमा चढेका मानिसका सम्झना र मिडियामा आएका समाचारमा आधारित हुन्।

रेलबाट इलले झन्डै दर्जन विदेश भ्रमण गरेका थिए तीमध्ये धेरै पटक उनी चीन आएका थिए।

रेलमा संसारका सबैभन्दा महंगा वाइन राखिएको हुन्छ। यहीभित्र बार्बिक्यू पनि गर्न मिल्छ।

बेइजिङ आएको रेलमा २१ डब्बा थिए। ती सबै हरिया रङका थिए।

सबैका झ्यालमा कालो शिशा थियो ताकि बाहिरबाट भित्र को बसेको छ भन्ने कसैले नचिनून्।

सन् २००९ मा दक्षिण कोरियाका सञ्चारमाध्यमले सार्वजनिक गरेको समाचारअनुसार किमको सुरक्षामा ९० डब्बा हुन्थे।

इल कुनै यात्रामा निस्कँदा एकैपटक तीन रेल दौडन्थे। त्यसमध्ये पहिलोमा सुरक्षा दस्ता हुन्थ्यो। जसले अघिल्लो स्टेशनको सुरक्षा चेक जाँच गर्थ्यो। दोस्रो रेलमा इल हुन्थे। तेस्रोमा थप सुरक्षाकर्मी र अन्य सामग्री हुन्थे।

रेलका हरेक डब्बा बुलेट प्रुफ हुन्छन्। सामान्य रेलको तुलना धेरै तौल हुने भएकाले यसको गति कम हुन्छ। यो रेल प्रतिघन्टा ३७ माइल (झन्डै ६० किलोमिटर) सम्म कुद्छ।

यही रेलका लागि उत्तर कोरियामा २० वटा छुट्टै स्टेशन बनाइएको छ।

उत्तर कोरियाली सञ्चारमाध्यमले कहिलेकाहीँ रेलभित्र सवार आफ्ना नेताका तस्बिर पनि सार्वजनिक गर्छ।

सन् २०१५ मा किम जोङ उन एक टेबलमा बसेको तस्बिर सार्वजनिक भएको थियो। रेलको त्यो डिब्बा कन्फ्रेन्स हलजस्तो देखिन्थ्यो।

सन् २०११मा उनका बुवा पनि यस्तै गरी बसेको भिडियो सार्वजनिक भएको थियो।

इल चढेको रेलको अफिसका लागि प्रयोग गरिने डिब्बालाई अहिले टेबल र कम्युटरसहित प्योङयाङस्थित एक संग्रहालयमा राखिएको छ।

सन् २०११ मा इलसँगै यात्रा गरेका रूसी अधिकारी कोन्स्टान्टिन पुलिकोभ्की११ले रेलमा रसियन, कोरियन, चाइनिज, जापानिज र फ्रेन्च खाना पाइने उल्लेख गरेका छन्।

अल्छी लागेमा इललाई मनोरञ्जन दिने महिलाहरू पनि रेलमै हुन्थे। तिनीहरूलाई लेडी कन्डक्टर भनिन्थ्यो।

उनले आफ्ना बुवाजस्तै लेडी कन्डक्टर रेलमा राख्छन् कि राख्दैनन् भन्नेचाहिँ खुलेको छैन।

Setopati
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com