अष्ट्रेलियाबाट पनि रुसी कूटनीतिज्ञ निकाला


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

ब्रिटेनमा पूर्वरुसी गुप्तचरमाथि स्नायु प्रणालीमा असर पार्ने विषालु पदार्थको प्रयोग गरी हमला गरिएको प्रतिक्रियास्वरूप रुसी कूटनीतिज्ञहरूलाई देशनिकाला गर्ने मुलुकहरूमा पछिल्लो पटक अष्ट्रेलिया थपिएको छ।

अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले दोस्रो विश्वयुद्धपछि युरोपमा पहिलो पटक रासायनिक अस्त्रको प्रयोगबाट ‘स्तब्ध पार्ने प्रकृतिको हमला’ गरिएकोले दुईजना रुसी कूटनीतिज्ञलाई निकाला गर्ने आदेश दिइएको बताएका छन्।

यसअघि संयुक्त राज्य अमेरिका, क्यानाडा र युरोपका अरू मुलुकहरूले संयोजित प्रतिक्रियास्वरूप जासुसी गरेको आरोपमा सयभन्दा बढी रुसी कूटनीतिज्ञहरूलाई देशनिकालाको आदेश दिएका थिए।

सोभियतकालीन युगको दुर्लभ विषालु पदार्थको प्रयोगबाट हमला गरिएका पूर्वरुसी जासुस सेर्गेइ स्क्रीपाल र उनकी छोरी गम्भीर बिरामी रहेको ब्रिटेनले जनाएको छ।

प्रतिवाद
रुसले आफूविरूद्ध चालिएका पछिल्ला कदमहरूको प्रतिवाद गर्ने बताएको छ।

मार्च ४ मा दक्षिणी इंग्ल्याण्डको सोल्जबरीमा पूर्वगुप्तचर स्कीपाल र उनकी छोरीमाथि रुसले रासायनिक हमला गरेको हुन सक्ने सम्भावना बढी भएकोमा गत हप्ता इयुका नेताहरू एकमत भएका थिए।

युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले इयुको साझा कदम अन्तर्गत थप देशनिकाला जस्ता कारबाही अझै हुन सक्ने बताएका छन्।

रुसले उक्त हमलामा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आएको छ।

अस्पतालमा उपचाररत स्क्रीपाल र उनकी छोरी युलियाको अवस्था गम्भीर छ।

‘अपव्याख्या’
रुसी विदेश मन्त्रालयकी एकजना प्रवक्ता मरिया जाखा-रोभाले ‘ऐक्यबद्धताको अपव्याख्या’ गर्दै ब्रिटेनको साथ दिएको भन्दै इयूको निन्दा गरेकी छन्।

वाशिङटनस्थित रुसी दूतावासबाट ४८ जना कूटनीतिज्ञ निष्काशनमा परेका छन् भने अन्य न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा कार्यरत कूटनीतिज्ञ परेका छन्।

सियाटलस्थित रुसी महावाणिज्य दूतावासको कार्यालय पनि बन्द गर्न अमेरिकाले आदेश दिएको छ।

यसैगरी यूक्रेनले १३ जना रुसी कूटनीतिज्ञलाई देशनिकाला गरेको छ।

यसअघि सोमबार लाट्भिया, इस्टोनिया, पोल्याण्ड लगायतका युरोपेली मुलुकले रुसी राजदूतहरूलाई आ-आफ्ना विदेश मन्त्रालयमा बोलाएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com