स्पेनः पाँचजना पृथकतावादी नेता पक्राउ


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

मड्रिडस्थित स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ।

अन्य आठजनासहित ती नेताहरूमाथि स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ।

पाँचजना पृथकतावादी नेताहरू सुनुवाइ पूरा नभइ भाग्न सक्ने जोखिम रहेको अदालतले जनाएको छ।

स्पेनी सर्वोच्च अदालतको आदेशपछि शुक्रवार अबेर राति मध्य बार्सिलोनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

शंका
पछिल्लो गिरफ्तारीले क्षेत्रीय राष्ट्रपतिका रूपमा जोर्डी ट्रुलियोलाई क्याटलन संसद्ले दोस्रो चुनावमार्फत् चयन गर्ने निर्धारित योजनालाई शंकाको घेरामा ल्याइदिएको छ।

स्पेनी अधिकारीहरूले खोजी सूचीमा राखेका दुईजना पृथकतावादी नेताहरू स्वघोषित निर्वासनमा बेल्जियम र स्वीट्जरल्याण्डमा छन्।

बीबीसीका युरोप सम्पादक ड्यानी एबरहार्ड भन्छन्, क्याटलन स्वतन्त्रता अभियानका लागि यो अहिलेसम्मकै सबैभन्दा गम्भीर चुनौती हो।

लगभग समग्र नेतृत्वले एउटा महत्त्वपूर्ण कानूनी लडाइँको सामना गरिरहेको छ।

आक्रोश
अदालतको आदेशले क्याटलन पृथकतावादीहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ र हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन्।

आरोपितमध्येका एक नेता तथा बर्खास्त गरिएका पूर्व क्याटलन सरकार प्रमुख कारलस पुज्डमोनले स्पेनलाई लोकतन्त्रविरोधी र युरोपका लागि लज्जाको विषय भनेका छन्।

उनीविरूद्धको युरोपेली पक्राउ आदेशलाई फेरि सक्रिय तुल्याइएको छ भने स्वघोषित निर्वासनमा रहेका पाँचजनाविरूद्ध पक्राउ आदेश जारी गरिएको छ।

क्याटलन संसद्का सभामुखले पक्राउ गरिएका नेताहरूको समर्थनमा संसद्को बैठकमा वक्तव्य पढिने बताएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com