रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित


प्रकाशित मिति : चैत्र ५, २०७४ सोमबार

चैत ५, मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित
हुनुभएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उहाँका निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।

विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उहाँले पुन रुसको राष्ट्रपतिमा जित हासिल गर्नुभएको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।

उनीहरुकाअनुसार यहाँको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जितको नजिक पुग्नुभएको छ ।

राष्ट्रपतीय चुनावमा यो उहाँको अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्नुहुने भएको बताइएको छ ।

त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उहाँलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।

आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् ।

यो उहाँको चौथो कार्यकाल हो । उहाँले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।

यस पटकको राष्ट्रपति निर्वाचनमा उहाँसहित आठजना उम्मेदवार थिए । तर उहाँपछि मत ल्याउने अर्थात् उहाँका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनिन हुनुहुन्थ्यो ।

पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।

यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् ।

रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उहाँको अस्वभाविक धेरै आएको छ ।

अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको थियो । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।

पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आउनुभएको छ । पछिल्ला सर्वेक्षणहरुले उहाँलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।

यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।

राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उहाँले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।

जनताले मेरो कामको अनुमोदन गरे— राष्ट्रपति पुटिन
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गर्नुभएको छ ।

त्यस सम्बोधनमा उहाँले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताउनुभएको थियो ।

उहाँले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताउनुभयो । उहाँको भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा चीनको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ ।

यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिनुभयो । उहाँले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राख्नुभयो ।

पत्रकारको प्रश्न— फेरि पनि उठ्ने कि रु

त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उहाँलाई फेरि अर्को ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए ।

राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँस्नुभएको मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

यस प्रश्नलाई उहाँले एउटा ठूलो ठट्टा भनेर जवाफ दिनुभएको थियो । उहाँले भन्नुभएको थियो— यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन ।

राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भन्नुभयो— केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छान्नुभएको हो, यसबाहेक अरु केही होइन ।

चिनियाँ राष्ट्रपति चिनफिङको बधाई

यसैबीच चिनियाँ राष्ट्रपति चिनफिङले रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँ रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बन्नुभएको छ । पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपति चिनफिङले पुटिनलाई एक सन्देश पठाई बधाई दिनुभएको समाचारमा जनाइएको छ ।

चिनियाँ समाचार समिति सिन्हकाअनुसार उहाँले पठाउनुभएको बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने उहाँले अपेक्षा गर्नुभएको छ ।

पुटिनको नेतृत्वमा उहाँको आगामी छ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति चिनफिङले बताउनुभएको छ ।
उहाँले भन्नुभयो— यस समयमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि रुस सफल हुने अपेक्षा आफूले गरेको उहाँले सो सन्देशमा जनाउनुभएको छ । (रासस / सिन्ह्वा)

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com