अर्थ विषयका विश्लेषक ल्यारी राष्ट्रपति ट्रम्पका सल्लाहकार


प्रकाशित मिति : चैत्र १, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

आर्थिक विश्लेषक मानिएका ‘टेलिभिजन पर्सनालिटी’ ल्यारी राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा नियुक्त हुने निश्चित भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका छन् ।

सत्तरी वर्षीय ल्यारी ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका नयाँ निर्देशकका रुपमा रहने जनाइएको छ । उहाँले हालका आर्थिक सल्लाहकार ग्यारी कोहनलाई प्रतिस्थापन गर्नुहुने भएको हो ।

उहाँले सन् १९६९ मा रोचेस्टर विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको थियो । पछि उहाँले फेडरल रिजर्भ बैंक अफ न्युयोर्कमा काम गर्नुभएको थियो ।

उहाँले व्यवस्थापन र अर्थतन्त्रसम्बन्धी काम गर्दै आउनुभएको छ । उहाँले यसअघि पनि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनमा बसेर काम गरेको अनुभव रहेको छ ।

उहाँ पछिल्लो समयमा स्वतन्त्र व्यापार नीति, खुला बजार तथा न्युन करसम्बन्धी विषयमा वकालतकर्ता र यस विषयका जानकारका रुपमा रहनुभएको छ ।

उहाँले टेलिभिजनमा पनि यस्तै कार्यक्रमहरुमा आफ्नो मतराख्दै र कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ ।
आफूलाई आपूर्ति पक्षको अर्थतन्त्रको जानकार र त्यस विषयको वकालतकर्ताको रुपमा परिचित गराउँदै आउनुभएका ल्यारीलाई उक्त पदमा बसेर कामगर्न राष्ट्रपति ट्रम्पले नै पस्ताव गर्नुभएको थियो ।

उहाँले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अभियानमा वर्तमान राष्ट्रपति ट्रम्पको पक्षमा वकालत गर्दै कर कटौतीसम्बन्धी कार्यक्रमको पक्षमा सघाउनुभएको थियो ।

यसअघिका आर्थिक सल्लाहकार कोहनलेजस्तै उहाँले पनि हालैमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील र अल्मुनियममा लगाउदै आएको करको विक्षमा मत राख्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट हटाइ उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) का प्रमुख माइक पोम्पेओलाई नियुक्त गर्नुभएको थियो ।

त्यसैगरी गतहप्तामात्र पनि राष्ट्रपति ट्रम्पले आफ्ना सञ्चार संयोजक र सहयोगीलाई पनि फेरबदल गर्नुभएको थियो ।
उहाँको ह्वाइट हाउसमा आफ्ना सहयोगी तथा सल्लाहकारहरुलाई हटाउने र नियुक्तगर्ने अभियानको पछिल्लो शृंखलाकारुपमा ल्यारी आउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com