खर्बुजा खाँदा अष्ट्रेलियामा ३ जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

फागुन २०, न्यु साउथ वेल्स– अष्ट्रेलियामा खर्बुजा खाँदा ३ जनाको मृत्यु भएको छ। खर्बुजामा रहेको लिस्टेरिया नामक ब्याक्टेरियाको संक्रमणबाट ती मानिसको मृत्यु भएको जनाइएको छ।

न्यु साउथ वेल्समा रहेको एक खर्बुजा कृषि फार्ममा उत्पादन भएका खर्बुजा खाँदा अन्य १५ जना वृद्धसमेत बिरामी परेका छन्। मृत्यु हुनेमा न्यु साउथ वेल्सका २ जना तथा बाँकी एक जना भिक्टोरियाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

खर्बुजा खाँदा मानिसको मृत्यु हुन थालेपछि अष्ट्रेलियामा वृद्ध, गर्भवती तथा बालबालिकालाई चिरा पारेर बेच्न राखिएका खर्बुजा नखान सचेत गराइएको छ। यसअघि मृत्यु हुने तथा बिरामी पर्ने सबैले खर्बुजा खाएको पुष्टि भएको छ।

अशक्त हुनेहरुका लागि गत बिहिबारभन्दा अगाडि खरिद गरिएका खर्बुजा नखान न्यु साउथ वेल्सको स्वास्थ्य विभाग अन्तर्गत सरुवा रोग हेर्ने शाखाका प्रमुख बिक्की सेर्फडले आग्रह गरे।

न्यु साउथ वेल्सको ग्रिफिथ शहरमा रहेको खर्बुजा फार्म हाउस नजिकै प्रदूणको मात्रा अत्याधिक रहेकोले सो जिवाणु फैलिन सहयोग पुगेको बताइएको छ।

सो घटनापछि अष्ट्रेलियाका सुपरमार्केट तथा फलफुल बिक्री केन्द्रमा राखिएका खर्बुजालाई नष्ट गरिएको छ।

लिस्टेरीओसिस के हो ?

लिस्टेरियाबाट हुने खराबीलाई ‘लिस्टेरीओसिस’ नाम दिइएको छ। यो जीवाणु प्रदूषित र कुहिएका खाद्यान्न तथा जनावरसँगको सम्पर्कमा रहँदा सर्ने गर्दछ।

चिकित्सकहरुका अनुसार शुद्धीकरण नगरिएका दुग्धजन्य पदार्थहरुको सेवन गर्दा पनि रोग छिटो सर्ने गरेको छ। प्याकिङ गरिएका तयारी खाना तथा स्यान्डविचमा समेत लिस्टेरिया ब्याक्टेरिया फेला पारिएको छ।

सो रोग लागेपछि बिरामीलाई ज्वरो आउने, बान्ता तथा पखाला लाग्ने तथा म्यानेनजाइटिस, इन्फ्लुयन्जा र फ्लुको जस्तै लक्षण देखिने गरेको छ। तर कतिपयमा भने यी लक्षण देखिएको छैन।

विशेष गरि अशक्त, वृद्ध तथा बालबालिकाहरुमा भने यस्ता लक्षण देखिने गरेको चिकित्सकले बताएका छन्।
-स्वास्थ्य खबरपत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com