‘पृथ्वीको नर्क’ र तमासे विश्व


प्रकाशित मिति : फाल्गुन १९, २०७४ शनिबार

सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए ।

चार दशक लामो समय लिबियामा शासन गरेका लिबियाका राष्ट्रपति माउमर गद्दाफीलाई लिबियाली विद्रोहीले नै आफ्नै भूमिमा नियन्त्रणमा लिई हत्या गरेका थिए । मध्यपूर्वी राष्ट्रमध्ये सबैभन्दा लामो समय शासन गरेका र तानाशाही प्रवृत्तिका शासक गद्दाफीको हत्यापछि सिरियाली नागरिक उत्साहित भएका हुन् ।

अरव वसन्त नाम दिइएको मध्यपूर्वी राष्ट्रहरुको आन्दोलन सन् २०१० को अन्त्यतिरिबाट सुरु भएको हो । उक्त आन्दोलन ट्युनिशियाबाट सुरु भयो र लिबिया हँुदै सिरियासम्म फैलियो । लिबियामा अमेरिकी सेनाको प्रवेश भयो र गद्दाफी विरुद्धको विद्रोही समूहलाई सघायो । गद्दाफीले शासन छोडे र लुके । अन्ततः अमेरिकी सेनाको सहयोगमा आफ्नै देशका विद्रोहीले उनीविरुद्धको आन्दोलनकै क्रममा गद्दाफीलाई खोजीखोजी मारे ।

गद्दाफी शासन अन्त्यले आफ्नो देशमा पनि सकारात्मक प्रभाव पार्ने अनुमान सिरियालीले गरेका थिए । त्यसैले उनीहरूले लिबियामाजस्तै नागरिक स्वतन्त्रताको पालो अब सिरियाको भनेर नाराबाजी गरे र एक किसिमको विजय जुलुस नै गरे । लिबियाबाट सुरु भएको तानाशाही शासनको अन्त्य र प्रजातन्त्रको उदयको अभियानले मध्यपूर्वी अरु देशमा पनि प्रत्यक्ष रुपमा प्रभाव पार्ने अनुमान सिरियाली नागरिकको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस समयमा सिरियाली नागरिक मात्र नभई विश्वका सञ्चारमाध्यमले पनि यो अड्कल गरेका थिए । गद्दाफीको हत्या भएको भोलिपल्ट अक्टोबर २१ मा विश्वका अखबारका प्रमुख समाचारमा यसपछिको पालो सिरियाको भन्ने अड्कलबाजी पनि लगाइएको थियो । त्यस्तै मध्यपूर्वको आन्दोलनलाई अरव वसन्तको उपमादिने कतिपय पश्चिमा राजनीतिक विश्लेषकले पनि सिरिया र लिबियाका राजनितिक दमनका प्रकृति एकै खालको भएकोले अबको पालो सिरियाली राष्ट्रपति बसर अल असद भनेर पनि अनुमान गरेका थिए ।

ती सिरियाली अवोध नागरिकले खुसीयाली मनाएको आज छ वर्ष भइसकेको छ । यसबीचमा सिरियामा धेरै पानी बगेको छ, पानीमात्र होइन कि त्यहाँका खोलामा सिरियालीको रगत नै बगेको छ । त्यसैगरी ती पश्चिमा विश्लेषकहरुको अड्कलबाजीको छ वर्षपछि पनि सिरियामा वसन्तको बहार हुन सकेको छैन । यहाँका नागरिकले प्रजातन्त्रको फल चाख्न पाउनु त कता हो कता शान्तिसँग आफ्नै थातथलोमा बस्नसमेत पाएका छैनन् । यसबीचमा यहाँका घटीमा पनि साढे चार लाख नागरिकले ज्यान नै गुमाएका छन् । अरु लाखौँलाख घाइते छन् भने दशौँ हजार घरबाट लखेटिएर विदेशमा शरणार्थी भएर बाँच्नु परेको छ ।

यतिखेर सिरियामा लाग्छ मानव उत्पत्तिपछिकै सबैभन्दा क्रुर हिंसा जारी छ । सिरियाको गुटा नगरमा रुसी सहयोगको सिरियाली सैनिकले दिनहुँजसो हवाई कारबाही गरिरहेको छ । यसबाट हप्तादिनमै झण्डै ६०० नागरिकको ज्यान गएको छ । त्यसमा पनि १०० जनाभन्दा बढी बालबालिका मारिएका छन् । हप्तादिनमै १०० जनाभन्दा बढी बालबालिका मारिनेगरी भएको त्यस हिंसाका लागि सिरिया सरकार नै जिम्मेवार छ । ती बालबालिकाको हत्याको शृंखला सामाजिम सञ्जालमा राखिएको छ र ती दृश्यले यतिखेर संसारकै मन रुवाइरहेको छ ।

यसै कारबाहीको टिप्पणीगर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले त यसलाई पृथ्वीको नर्कको संज्ञा दिनुभएको छ । उहाँले सिरियामा हिंसा रोक्न आग्रह गर्दै गतहप्ता भन्नुभएको थियो— यो पृथ्वीकै सबैभन्दा ठूलो नर्क हो, यस्तो क्रुरता नरोक्नुको अर्काे कुनै विकल्म कसैसँग पनि छैन र हुनुपनि हुँदैन । गतहप्ता रुसको विरोध भएपनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले त्यहाँ कम्तीमा ३० दिनका लागि युद्धविराम गर्न प्रस्ताव पारित पनि गरेको थियो । तर त्यसको पालना हुन सकिरहेको छैन ।

नवदार्शनिक नामक एक अन्तरराष्ट्रिय अभियानका संस्थापक बर्नार्ड हेन्री लेभी भन्नुहुन्छ, अफगानिस्तानको कुन्दुजमा मेडिसाँ साँ फ्रँतियर्स अस्पतालमा अमेरिकाले गल्ती गरी भएको बम आक्रमणबाट विश्व केही वर्षअघि निकै त्रस्त भएको थियो । अमेरिकी नियन्त्रित क्षेप्यास्त्रको बदलामा क्रेमलिनले निरन्तररूपमा अनियन्त्रित बम उपयोग गरी हवाई आक्रमण गर्दै गयो भने सिरियामा कतिवटा कुन्दुज उत्पन्न हुनुहुन भन्न गाह्रो छ । यो रुसी रणनीतिको एउटा उदाहरण मात्र हो तर यसले रुसी राष्ट्रपति पुटिनले आफ्नो पछिल्लो विदेशमा आक्रमणको योजनालाई कसरी कार्यान्वयन गर्नुहुनेछ भन्ने देखाउँछ ।

बर्नाडको दाबी छ, रुसी सैनिक कारबाही हालसम्म सिरियाको हवाई क्षेत्रमा रुसको नियन्त्रणका लागि र उसको स्वार्थको सुरक्षाका लागि तथा इस्लामिक स्टेटलाई पराजित गर्ने उसको प्रयासलाई बलियो बनाउनका लागि भएको छ भन्ने भ्रममा हामी पर्नुहुन्न ।

रुसी हवाई आक्रमण बिगतमा पनि इडलिब, होम्स तथा हामास्थित नगरमा लक्षित थियो । रुसी आक्रमणको प्राथमिक उद्देश्य राष्ट्रपति असदको शासनसँग युद्ध गरिरहेका प्रजातान्त्रिक प्रतिपक्षसहितका सबै प्रतिपक्षीलाई कमजोर बनाउनु रहेको छ ।

टर्कीले सिरियामा आफ्ना सेनाले अमेरिकाद्वारा आपूर्ति गरिएका एफ्–१६ प्रयोग गर्दै सिरियाली राष्ट्रपति बसर अल असद विरुद्धको आक्रमणलाई तेज पारिरहेको अवस्थामा रसियाले भने सिरियाली राष्ट्रपति असदलाई सघाउँदै आएको अवस्था छ । यतिखेर सिरिया विश्वका शक्ति राष्ट्रहरुको युद्धको खेलमैदान बन्न पुगेको छ । सिरियाको गुटामा यहाँका स्थानीय विद्रोही रहेको भन्दै रुसी सहयोगको सिरियाली सेनाले हानिरहेको छ भने अमेरिकाले त्यहाँ विद्रोही नभएर असदका विपक्षी समूहहरु मात्र रहेको बताउदै आएको छ । अमेरिकी यो धारणामा टर्कीको पनि सहयोग रहेको छ । तर हमला रोकिएको छैन । बम र बारुदको शिकार सर्वसाधारण नागरिक र बालबालिका परेका छन् ।

यसरी हेर्दा लाग्छ यो सात वर्ष पुरानो समस्याको समाधानको भरपर्दाे विकल्प अहिले पनि देखिएको छैन । राष्ट्रसंघको आग्रह मात्र आउँछ र त्यो पनि सबै शब्दमा मात्र सीमित छ । अघिल्ला केही वर्षहरुमा वार्ताको अगुवाई गरेका देखिएका अमेरिकी र रुसी नाटक पनि पछिल्लो समयमा बन्द अवस्थामा छन् । सँगै आन्दोलन सुरु भएका मध्यपूर्वी अरु राष्ट्रहरुमा उहिल्यै प्रजातन्त्र आइसक्यो तर सिरियामा भने एकजना व्यक्तिले सत्ता त्याग्न नसक्दाको परिणामले रगतको खोलो बगाइरहँदा पनि जिम्मेवारी लिने कोही भएन । यसरी अवोध नानीबाबुहरु बम र बन्दुकको शिकार भइरहँदा पनि विश्व सहयोगी भन्दा उल्टो रमिते बनिरहेको छ । अहिलेकै अवस्था जारी रहने हो भने यो नरशंहारले अझै कतिलाई शिकार खेल्ने हो भन्ने कुराको कुनै सुनिश्चितता छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com